|

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंले देशभर बलात्कारको घटना बढ्दो रूपमा रहेको तथ्यांक सार्वजनिक गरेको छ। देशभर बलात्कारको घटना बढ्दै गएको र उपत्यकामा झनै बढ्दो क्रममा रहेको बताएको छ।

परिसरले जबर्जस्ती करणी अपराध अनुसन्धान र पीडितको सुरक्षाका लागि प्रहरी कर्मचारीलाई तीन महिने अनुशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ।

मंगलबार नेपाल पुलिस क्ववमा एक कार्यक्रम गरेर अब बलात्कार जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न प्रहरी र अन्य संस्थाहरूले सँगै मिलेर अगाडि बढ्नुपर्ने भन्दै तीन महिने अभियान संचालन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए। बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई तुरन्त कारवाही गर्ने र पीडितलाई जति सक्दो चाँडो न्याय दिलाउने उनको भनाइ थियो। 

कार्यक्रममा सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहाल, जिल्ला अदालत काठमाडौंका न्यायाधीश रमेशराज पोखरेललगायतले बलात्कार जस्तो जघन्य अपराधका विरुद्ध सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।

यस्तो छ देशभर बलात्कारको तथ्यांक

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१ यता देशभर तीन हजार २०० जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन्। आर्थिक वर्ष २०७१/०७२ मा देशभर ९८१ जबर्जस्ती करणीका जाहेरी दर्ता भएका छन्। आर्थिक वर्ष २०७२/०७३ मा एक हजार ८९ जाहेरी परेका छन् भने आर्थिक वर्ष २०७३/०७४ मा एक हजार १३० जाहेरी परेका छन्। यस तथ्यांकलाई आधार मान्दा देशभर जबर्जस्ती करणीको वृद्धिदर ८.६ प्रतिशत रहेको देखिन्छ।

उपत्यकाका तीन जिल्लामा यस्तो छ तथ्यांक

काठमाडौं प्रहरी परिसरमा आर्थिक वर्ष २०७१/०७२ मा ९२ जबर्जस्ती करणीका जाहेरी दर्ता भएका छन्। आर्थिक वर्ष २०७२/०७३ मा ९९ जाहेरी परेका छन् भने आर्थिक वर्ष २०७३/०७४ मा ११२ जाहेरी परेका छन्। चालु आर्थिक वर्षको फागुन महिनासम्म ८९ जाहेरी दर्ता भएका छन्।

यसरी नै ललितपुर प्रहरी परिसरमा आर्थिक वर्ष २०७१/०७२ मा २१ जबर्जस्ती करणीका जाहेरी दर्ता भएका छन् भने आर्थिक वर्ष २०७२/०७३ मा १४ जाहेरी परेका छन्। आर्थिक वर्ष २०७३/०७४ मा ३४ जाहेरी दर्ता भएका छन्। चालु आर्थिक वर्षको फागुनसम्म १६ जाहेरी दर्ता भएको परिसरले जानकारी दिएको छ।

भक्तपुर प्रहरी परिसरका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा २८ जबर्जस्ती करणीका जाहेरी परेका छन् भने आर्थिक वर्ष २०७२/०७३ मा २२ जाहेरी दर्ता भएका छन्। आर्थिक वर्ष २०७३/०७४ मा १६ जाहेरी परेका छन् भने चालु आर्थिक वर्ष २०७४/०७५ हालसमस्म सातवटा जबर्जस्ती करणीका जाहेरी परेका छन्।

नेपालभरको तथ्यांक हेर्दा १६ वर्षभन्दा कम उमेरका पीडितको संख्या ठूलो रहे पनि १० वर्षमुनिदेखि ५० वर्षमाथि उमेरका समेत पीडित रहेका देखिन्छ। प्रतिशतमा भने सबैभन्दा बढी पीडितको उमेर १७ वर्षदेखि ३५ वर्ष रहेको प्रहरीको तथ्यांकले देखाएको छ। पीडक भने २० देखि ३० वर्ष उमेर समूहका बढी रहेको पाइएको छ।बलात्कारका धेरैजसो घटना जेठ, असार र साउन महिनामा हुने गरेको पाइएको छ। यसमा अभियुक्त विवाहित बढी र पीडित अविवाहित बढी हुने गरेको देखिएको छ।

यसरी हुन्छन् बलात्कार

१६ वर्ष कम उमेर भएका बालिकालाई ललाइफकाई गर्न सजिलो हुने भएकाले धेरैजसो १६ वर्षमुनिका किशोरीहरू बलात्कृत हुने गरेका छन्। डर, त्रास, धाक, धम्की र प्रलोभनमा समेत पारी बलात्कारका घटना हुने गरेको प्रहरीले जनाएको छ।

 यस्तो छ चुनौती

बलात्कारका घटना रोक्नका लागि ढिलो उजुरी पर्ने हुँदा प्रमाणहरू संकलन गर्न गाह्रो हुने गरेको प्रहरीको भनाइ छ। कतिपय पीडित कानुनी प्रावधानबारे ज्ञान नहुँदा प्रहरीलाइ उजुरी गर्नसमेत नआउने गरेको प्रहरीको भनाइ छ। त्यस्तै, बलात्कारको घटना हेर्ने छुट्टै महिला प्रहरी अधिकृत नभएका र पीडितको स्वास्थ्य परीक्षण गर्दासमेत समस्या हुने गरेको प्रहरीको भनाइ छ।

के छ कानुनी कारवाही प्रक्रिया?

जबर्जस्ती करणी अभियोगमा दोषी ठहर भएमा १० देखि १२ वर्षको कैद सजाय र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने कानुनी व्यवस्था रहेको छ। आफूलाई जन्म दिने आमा वा आफूले जन्माएकी छोरीलाई करणी गरे जन्मकैद हुने व्यवस्था छ। सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुरा–बुहारी, एकै हाँगाको बाजे–नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवर–भाउजूको करणी भएमा चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ।

तीन पुस्तासम्मको हाडनातामा करणी गर्नेलाई तीन वर्षदेखि छ वर्षसम्म कैद र ३० हजारदेखि ६० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। कैद वा थुनामा रहेको कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गर्ने वा करणी गर्न अरू कसैलाई संयोग पारी मिलाइदिई करणी गराए तीन वर्षसम्म कैद हुनेछ। १० वर्षभन्दा कम उमेरका बालबालिकालाई एकान्तमा लगेर यौन दुर्व्यवहारको नियतले निजको अंग छोएमा वा समातेमा, आफ्नो यौन अंग छुन वा समाउन लगाएमा बालयौन दुरूपयोग गरेको ठहरिने र दुई वर्षसम्म कैद हुनेछ। आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गरे पनि तीन वर्षसम्म कैद सजाय हुनेछ।

सरकारी वा निजी कार्यालयमा वा कुनै पेसागत सेवा वा व्यावसायिक कामका लागि सम्पर्कमा आएको व्यक्तिसँग करणी गरे चार वर्षसम्म कैद र ४० हजार रुपैयाँ जरिवाना हुनेछ। कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिमाथि यौन दुर्व्यवहार गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ। कसैले कसैको इच्छाविरुद्ध अप्राकृतिक मैथुन गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.