|

काठमाडौं : सार्वजनिक खरिद पुनरवलोकन समितिले केही समयअघि परराष्ट्र मन्त्रालयको हवाइ टिकट खरिद सम्झौताअन्तर्गत ९ करोड रुपैयाँको टेण्डर प्रक्रियामा अनियमितता भएको ठहर गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको छ।

समितिका अध्यक्ष शंकरप्रसाद पाण्डे तथा सदस्यहरू लवराज श्रेष्ठ र प्रकाश पौडेलले संयुक्त रूपमा टेण्डर रद्द गर्दै प्रक्रियामा सहभागी परराष्ट्रका पदाधिकारीमाथि समेत कानुनअनुसार कारवाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ। समिति सदस्य श्रेष्ठले गहिरो छानबिनपछि टेण्डरमा अनियमितता भएको पाइएपछि रद्द गरिएको जानकारी दिए।

समितिको निर्णयअनुसार परराष्ट्रले ९ करोडमा दिएको टेण्डर प्रक्रिया रद्द गरेर फेरि नयाँ प्रक्रिया थाल्न लाग्दा सर्वोच्च अदालतले नयाँ प्रक्रिया सुरु गर्न रोकेपछि टेण्डर प्रक्रिया अवरुद्ध भएको छ। टेण्डर पाएको सिलिङ्क ट्राभल्स एन्ड टुर्स प्रालि पुनरवलोकन समितिको निर्णयविरुद्ध सर्वोच्च गएलगत्तै सर्वोच्चले टेण्डर प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश दिएकाले सबै प्रक्रिया रोकिएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव भरतराज पौडेलले समितिको निर्णयअनुसार नयाँ टेण्डर प्रक्रिया अघि बढाउन खोजिए पनि फेरि सर्वोच्चले यथास्थितिमा राख्न अन्तरिम आदेश दिएकाले अवरुद्ध भएको जानकारी दिए। परराष्ट्रले सुरुमा खुला प्रतिस्पर्धाका आधारमा मन्त्रालयका कर्मचारीका लागि विभिन्न देश जान आवश्यक हवाई टिकट खरिद गर्न ९ करोडको टेण्डर आह्वान गरेको थियो। गत पुस २७ मा जारी गरेको आशयपत्रका आधारमा टेण्डरमा सहभागी दुई कम्पनीमध्ये परराष्ट्रले सिलिङ्क ट्राभल्ससँग १० माघमा सम्झौता गरेको थियो।

मन्त्रालयले टेण्डर आह्वान गरेपछि सिलिङक ट्राभल्स र सुरुचि ट्राभल्स एन्ड टुर्स प्रालि दुई कम्पनी मात्र टेण्डरमा सहभागी थिए। समितिले भने परराष्ट्रले टेण्डरमा सामेल सिलिङ्क र सुरुचि ट्राभल्स दुवै कम्पनी टेण्डर पाउन र प्रक्रियामा सहभागी हुनसमेत अयोग्य र प्रभावग्राही नभएको ठहर गरेको छ।

प्रभावग्राही नहुँदा नहुँदै पनि परराष्ट्रका केही अधिकारीले आर्थिक चलखेल गर्दै सिलिङकलाई टेण्डर दिइएको विभिन्न तथ्यले देखाएका छन्। समितिका अनुसार 'इभ्यालुएसन क्राइटेरिया'को १ र २ नम्बर बुँदामा आर्थिक क्षमतासम्बन्धी मापदण्ड पूरा नगरेका दुवै कम्पनी टेण्डर पाउन अयोग्य थिए। समितिको छानबिनमा ९ करोडमा टेण्डर पाएको सिलिङ\क ट्राभल्सले सबै सेक्टरको एकतर्फी तथा दुईतर्फी भाडादर जथाभावी पेस गरेको पाइएको थियो।

सिलिङकले पेस गरेको नक्कली भाडादर परराष्ट्रले स्वीकृत गरी अनियमितता गरेको ठहर समितिले गरेको छ। बोलपत्रमा सिलिङ्कले काठमाडौं–इस्लामाबाद र काठमाडौं–क्वालालम्पुरको दुईतर्फी भाडा १ अमेरिकी डलर राखेको छ। सिलिङ्कले काठमाडौं–आबुधाबीको दुईतर्फी भाडा १५ अमेरिकी डलर, काठमाडौं–बैंककको १३ डलर र काठमाडौं–क्यानबेराको २३ डलर राखेको छ भने एकतर्फी भाडा भने ३ सयदेखि १६ सय डलर राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.