|

कालीकोट : राष्ट्रिय भर्ना अभियानलाई सफल बनाउन कालीकोटका जनप्रतिनिधिहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन्। सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि जनप्रतिनिधिहरूले निजी विद्यालयमा पढ्ने छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका हुन् ।

तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सोसल एकेडेमी बोर्डिङ स्कुलमा पढ्ने छोरा समीर शाही र छोरी शिलु शाहीलाई बोर्डिङ स्कुलबाट छुटाएर तिलागुफा नगरपालिका- ३ स्थित सत्यदेव माध्यमिक विद्यालयमा भर्ना गरेका छन्। समीर कक्षा ८ मा र शिलु कक्षा १ मा अध्ययनरत छन्।

सामुदायिक विद्यालयमा शैक्षिक सुधार ल्याउन आफूले निजी विद्यालयमा पढ्ने छोराछोरीलाई गाउँकै सामुदायिक विद्यालयमा पढाउन थालेको प्रमुख शाहीको भनाइ छ। उनले सामुदायिक विद्यालयमा नेता, शिक्षक, सरकारी कर्मचारीका छोराछोरी नपढाउने प्रचलनको अन्त्य गर्नुपर्ने बताए।

‘नेता, शिक्षक र सरकारी कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने भएका कारण शैक्षिक सुधार आउन सकेन’, उनले भने, ‘त्यसको अन्त्य गर्नका लागि मैले शहरका निजी विद्यालयमा पढ्ने छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेको हुँ।’

नगरपालिकाका सबै कर्मचारी, नगर कार्यपालिका पदाधिकारीहरू र शिक्षकका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्यायन गराउने नीति ल्याउन लागेको प्रमुख शाहीले बताए।

त्यस्तै, नरहरिनाथ गाउँपालिका- १ का वडा अध्यक्ष पृथ्वीबहादुर विष्टले पनि निजी विद्यालयमा पढिरहेका आफ्ना दुई छोराछोरीलाई गाउँकै सरकारी विद्यालयमा भर्ना गरेका छन्। नरहरिनाथ गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरूले आफ्नो पायक पर्ने सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने निर्णय गरेपछि गाउँपालिका शिक्षा विभाग प्रमुखसमेत रहेका विष्टले निजी विद्यालयमा पढिरहेका एक छोरा र एक छोरीलाई गाउँकै सरकारी विद्यालयमा भर्ना गरेका हुन्।

गाउँपालिकाका नौवटै वडाहरूमा भर्ना अभियान थालिएको अध्यक्ष विष्टले बताए। ‘भर्ना अभियान निरन्तर संचालन गरिनेछ’, उनले भने, ‘विद्यालयबाहिर रहेका बालबालिका र जनप्रतिनिधिहरूका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्नेछ।’

उनका अनुसार कार्यालय सहायक उदयराम विष्टले पनि निजी विद्यालयमा पढिरहेको छोरालाई गाउँको सरकारी विद्यालयमा भर्ना गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.