|

काठमाडौं: आगामी आर्थिक वर्षको ०७५/७६ को लागि चार सातापछि अर्थमन्त्री  डा. युवराज खतिवडाले संसदमा बजेट पेस गर्दै छन्। यसका लागि मन्त्रीसहित अर्थका अधिकारीहरू व्यस्त छन्।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि  झण्डै ७९ अर्ब रुपैयाँ घटाएर १२ खर्बको बजेट सिलिङ तोकिएको छ। बजेट घटाएर सिलिङ तोकेको अवस्थामा संघीय सरकारले छिटो प्रतिफल पाउने कामलाई बढी प्राथिमकता र दीर्घकालीन लगानी गर्ने आयोजनालाई काटछाट गर्ने तयारीमा छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले विज्ञ तथा सरोकारवाला व्यक्तिहरूलाई तत्काल प्रतिफल नआउने कार्यक्रमहरूलाई कसरी काटछाट गर्ने भन्ने विषयमा सुझाब दिनको लागिसमेत आह्‍वान गरेका छन्। सानो आकारको बजेटमा धेरै कार्यक्रम अटाउँदा प्रभावकारी नहुने भन्दै अर्थमन्त्री खतिवडा निश्‍चित, तर कार्यन्वयनमुखी कार्यक्रममा बजेट प्राथिमिकीकरण गर्ने तयारीमा छन्।

यसअघि सिर्जना गरिएको दायित्व निकै ठूलो भएको भन्दै त्यसमा पनि काटछाट गरेर अघि बढ्ने संकेत खतिवडाले गरेका छन्। उनका अनुसार लामो समयदेखि बजेट छुट्याइँदै आएका केही आयोजना आगामी वर्षको बजेटमा कम प्राथमिकतामा पर्नेछन्।

उनले छिटो प्रतिफल दिने आयोजनालाई विशेष प्राथमिकतामा राखिने बताए। 'हामीलाई स्रोतको व्यावस्थापन  र पाएको स्रोतको समेत अत्यन्तै उत्पादनमूलक क्षेत्रमा खर्च गर्नुपर्नेछ' खतिवडाले भने, 'हामीले त छिटो प्रतिफल खोज्ने हो।'

उनले सरकारले सिर्जना गरका दायित्व 'भालुको कन्पट' भएको समेत बताएका छन्। कतिपय आयोजना यो पुस्ताले नै प्रतिफल नपाउने किसिमका भएको बताउँदै समाउने कि राख्ने दुविधामा मन्त्रालय रहेको समेत बताएका छन्।

'हामीले सिर्जना गरेका दायित्वहरू छिटो त हैन, जीवनकालमै प्रतिफल नदिने पनि सुरू गरेका छौँ,' खतिवडाले भने, 'समाउने कि राख्ने 'भालुको कन्पट भनिन्छ नि त्यस्ता आयोजना हामीसँग छन्।'

कार्यक्रमबाट पछि हट्नलाई अर्बौं रुपैयाँ खर्च भएको अघि बढाउन कहिले प्रतिफल दिने भन्ने पत्तो नभएको भन्दै उचित निर्णय लिन सकिनुपर्ने खतिवडाको भनाइ छ। उनले करिब आठ खर्बका त्यस्ता आयोजाना भएको कारण कतिको काटछाट नगरी सुखै नरहेको समेत बताएका छन्।

 'खर्च नगरौँ आधा खर्च भएको छ गरौँ खर्च धानेर जाने स्थितिमा ती आयोजना छैनन् त्यस्ता आयोजनामा भएको खर्च झण्डै ७/८ खर्ब भएको निस्कन्छ' खतिवडाले भने। उनले सरोकारवालाई आवश्‍यक सुझाब दिन आग्रह गरेका छन्।

यस्ता हुन् भालुका कन्पट भनिएका आयोजना

अर्थमन्त्री खतिवडाले ठूलो लगानी भइसकेको, तर प्रतिफल आउने कि नआउने वा कहिले प्रतिफल पाइन्छ भन्ने विषयका आयोजनालाई भालुका कन्पट आयोजनाको रूपमा परिभाषित गरेका छन्। खतिवडाले भनेजस्तै सरकारले सञ्‍चालन गरेका राष्ट्रिय गौरवका आयोजना कहिले प्रतिफल दिने र कति खर्चमा सकिने र कहिले सम्पन्न हुने निश्चित छैन।

सिक्टा सिँचाइ आयोजना सात अर्ब लाग्ला भनेर सुरु गरेको ३० अर्ब खर्च गर्दा पनि सकिएको छैन। कहिले टुंगो छैन' एक पूर्वअर्थ सचिवले भने, 'बबई आयोजना पहिले ५/६ हजार हेक्टरमा सिँचाइ पुग्ने गरी अघि बढाए तर ६० हजार हेक्टरमा पर्‍याउँछौँ भन्दा अझै कहिले सकिने हो त्यसको पनि टुंगो छैन

धेरै सिँचाइका आयोजनामा यस्तो समस्या रहेको एक पूर्व अर्थ सचिव बताउँछन्। 'सिक्टा सिँचाइ आयोजना सात अर्ब लाग्ला भनेर सुरु गरेको ३० अर्ब खर्च गर्दा पनि सकिएको छैन। कहिले टुंगो छैन,' एक पूर्वअर्थ सचिवले भने, 'बबई आयोजना पहिले ५/६ हजार हेक्टरमा सिँचाइ पुग्ने गरी अघि बढाए, तर ६० हजार हेक्टरमा पर्‍याउँछौँ भन्दा अझै कहिले सकिने हो त्यसको पनि टुंगो छैन।'

कुलेखानी, बूढीगण्ढकी पश्चिम सेतीलगायतका राष्ट्रिय गौरवका आयोजनाको प्रतिफल केहिलेबाट हुन्छ भन्ने विषयमा पत्तो नभएको उनले बताए।

तर, ती अधिकारी त्यस्ता आयोजनालाई भालुको कन्पट भनेर पन्छिन नहुने बताउँछन्। तत्काल प्रतिफललाई प्राथमिकता दिएर अघि बढ्दा मुर्खता हुने उनले बताए।' बजेटमा तत्कालीन, मध्यमकालीन र दीर्घकालीन सबै योजनालाई सँगै अघि बढाएर लानुपर्छ मेरै कार्यकालमा प्रतिफल दिने आयोजना मात्रै अघि बढाउँछु भन्यो भने हाम्रा विकासका लक्ष्य भेटाउन सकिँदैन,' उनले भने, 'तत्काल मेलम्ची आउँदैन भनेर त्यो समयमा काम अघि नबढाएको भए अहिलेको स्थितिमा कहाँबाट आउथ्यो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.