दमक : झापाको दमकमा जारी दमक गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। उसले त्रिभुवन आर्मी क्लबलाई ट्राइब्रेकरमा पराजित गरेको हो। अब मनाङ शुक्रबार उपाधिका लागि नेपाल पुलिससँग भिड्नेछ ।
बुधबारको खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलले पराजित गरेको हो। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि ट्राइब्रेकर खेलाइएको थियो। ट्राइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरेका थिए। आर्मीका भरत खवास, जर्ज प्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरेका थिए। पेनाल्टीमा आर्मीका दीपक गुरुङ गोल गर्न चुकेका थिए।
दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलको ३०औँ मिनेटमा टंक बस्नेतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। तर मनाङका दीपक राईले ४७औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। खेलको १०औँ मिनेटमा आर्मीका कप्तान भरत खवासको क्रस प्रहारलाई मनाङका विदेशी डिफेण्डर फ्लोरेन्टले हेडमार्फत् क्लियर गरेका थिए। मनाङका विमल रानाको क्रस पासलाई सुजल श्रेष्ठले गरेको प्रहार गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो।
५३औँ मिनेटमा आर्मीका गोलकिपर विकेस कुथुको हातबाट फुत्किएको बललाई मनाङका अन्जान विष्टले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो। ६१औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पाएको अवसरलाई पुनः चुकाएका थिए। उनलाई मनाङका डिफेण्डरले बल प्रहार गर्न रोक्दै बल क्लियर गरेका थिए।
खेलमा मनाङका गोल किपर विशाल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे। गोल्ड कपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले छ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ। गोल्ड कप दमक नगरपालिकाले आयोजना गरेको हो। बैशाख १९ देखि सुरु भएको गोल्ड कपमा ए डिभिजनसहित १० टिमको सहभागिता छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।