|

काठमाडौं : सभामुख कृष्णबहादुर महराले सार्वभौमसत्ता प्रयोग गर्ने उच्चतम थलो भएकाले जनताका सबै आवाज संसदभित्र पुर्‍याउनका लागि पूर्वसांसदहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

३०औँ संसद दिवसको अवसरमा शनिबार संघीय संसद भवनमा आयोजित कार्यक्रममा सभामुख महराले संसदभित्र रहेका राजनीतिक दलभन्दा बाहिरका आवाजको सम्बोधनका लागि पूर्वसांसदहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन्।

संसदभन्दा बाहिर अभिव्यक्त भइरहेका आवाजलाई पनि संसदमा प्रवेश गराउन सके सम्पूर्ण जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने थलोको रूपमा संसद चित्रित हुने भन्दै उनले त्यसतर्फ यथेष्ट ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

सभामुख महराले राजनीतिक रूपमा सामन्तवादको अवशेष नरहे पनि सामाजिक र सांस्कृतिक रूपमा अझै कायम रहेको र तिनले नागरिकका अधिकार कुण्ठित गर्न सक्नेतर्फ गम्भीर हुनुपर्ने बताए। उनले आम नागरिकको अधिकार स्थापित गराउनका लागि पूर्वसांसदहरूको सल्लाह सुझाव सधैँ स्वीकार्य हुने बताए।

राज्यसँग छलफल गरेर जनताको हित अनुकुल वातावरण बनाउनका लागि आवश्यक सुझाव दिन पनि उनले पूर्वसांसदहरूलाई आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.