दोस्रो प्याकेजको जिम्मा सिने हाइड्रोलाई

|

तनहुँ : तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्यहरूका लागि निर्माण कम्पनीहरूको छनोट गरेको छ।

आयोजनाको नदी फर्काउने, बाँध बाँध्नेलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ। बहुचर्चित मेलम्ची आयोजनाको निर्माण जिम्मा पनि सिएमसीले नै पाएको थियो।

कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ मूल्य अभिवृद्धि करसहित खरिद सम्झौता हुने जनाइएको छ। आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा संचालनलगायतका दोस्रो प्याकेजका काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ।

कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर तथा तीन अर्ब ८३ करोड १४ लाख रुपैयाँ (मूल्य अभिवृद्धि करबाहेक)मा खरिद सम्झौता हुनेछ।

तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ। दुवै कम्पनीले ८ साउनमा पत्र बुझिसकेका छन्।

२०२३ सम्ममा सकिनेछ काम

पत्र बुझेको २८ दिनभित्र कम्पनीहरूले कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउनुपर्ने तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्धसंचालक प्रदीपकुमार थिकेले बताए। ‘खरिद सम्झौता भएको दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ’, उनले भने।

तनहुँ हाइड्रोपावर लिमिटेडले १९ माघ २०७३ मा पहिलो र दोस्रो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनौट भएका कम्पनीहरूलाई बोलपत्र प्रस्ताव पेस गर्न आह्वान गरेको थियो। पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका पाँच कम्पनीहरूमध्ये तीनवटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका तीनवटा कम्पनीहरूमध्ये दुईवटाले बोलपत्र पेस गरेका थिए।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आह्वान गरिएको छ। नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) रहेको छ। यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ। यसका लागि सम्बन्धित दातृ निकायहरू र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.