|

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्मेलनमा सहभागी हुन आउने राष्ट्रप्रमुख र (भीभीआईपी) हरुको लागि सुरक्षा व्यवस्था कडा पारिएको हो। बिम्स्टेकमा सहभागी रास्ट्रका प्रखुखहरुको बस्ने व्यवस्था होटल सोल्टीमा मिलाइएको छ।

शिखर सम्मेलनमा बिम्स्टेकमा सदस्य राष्ट्रहरूमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखहरूको सहभागिता हुनेछ। सहभागी हुने राष्ट्र–सरकार प्रमुखका पति–पत्नीका लागि नेपाल सरकारले एक जना सम्पर्क अधिकारीको व्यवस्था मिलाएको छ। सम्पर्क अधिकारीको टोलीले आयोजक राष्ट्रसँगको सम्पर्क तथा समन्वयमा सहयोग पुर्‍याउने गृह मन्त्रालयले जनाएको छ।

सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई

सम्मेलनमा सहभागी राष्ट्रप्रमुखदेखि अन्य भीभीआईपीको सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। नेपाली सेनाले सुरक्षा नेतृत्वको जिम्मेवारी लिएको छ। सबै सुरक्षा निकायहरूसँग समन्वय गरेर सुरक्षाको प्रखुख भूमिकामा नेपाली सेनालाई दिएको गृह मन्त्रालयले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीले पनि सम्मेलन स्थल भीभीआइपी आउने जाने रूट, बस्ने होटल र भेटघाट हुने सम्पूर्ण स्थानको पहिलो घेरामा नेपाली सेना रहने बताए। दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभाग रहने छन्। त्यस्तै नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाइ गस्ती  हुने जनाइएको छ।

२० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन

सरकारले सम्मेलनमा सहभागी राष्ट्रप्रमुखहरूको सुरक्षाको लागि चार वटै सुरक्षा निकायका गरी २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू सुरक्षामा खटिएका हुन्। राष्ट्रप्रमुखको सवारीका बेला विमानस्थलको उडान–अवतरण सेवा समेत बन्द हुने गरेको छ। एक भीआईपी आउँदा–जाँदा ४०० भन्दा बढी ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए। बुधबार देखि लागू गरिएको जोर बिजोर प्रणाली समेत कडा पारिएको पन्तले बताए।

विशिष्ट व्यक्तिको आगमन हुने स्थानमा सवारी साधन एक घण्टा अगाडि देखि नै ठप्प पारिने गरेको ट्राफिक महाशाखाले जनाएको छ। त्यसका लागि तीन वटा रुटलाई तयारी अवस्थामा राखिएको छ। जसमा विमानस्थलबाट सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी। दोस्रोमा विमानस्थलबाट गौशाला, रातोपुल, रत्नपार्क हुँदै कालिमाटी र तेस्रोमा विमानस्थलबाट कोटेश्वर, बल्खु हुँदै कालिमाटी जाने रुटलाई तयारी अवस्थामा राखिएको हो।

शिक्षण संस्था दुई दिन बिदा

सम्मेलनका लागि सरकारले उपत्यकाका शिक्षण संस्थामा दुई दिन बिदा दिएको छ। ‘शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले भदौ १४ र १५ गते काठमाडौंका शिक्षण संस्था स्थानीय सरकारमार्फत बन्द गराउन आग्रह गरिएको’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.