|

ओखलढुङ्गा : खिजिदेम्वा गाउँपालिका ओखलढुङ्गा जिल्ला सदरमुकामदेखि करिब १६ कोस टाढा उत्तर-पश्चिममा अवस्थित पहाडी धरातलको उच्च भूभागमा अवस्थित गाउँपालिका हो। समुद्री सतहदेखि एक हजार मिटरदेखि तीन हजार ४०० मिटरकोे उचाइमा रहेको यो गाउँपालिकाको पूर्वमा ओखलढुङ्गा जिल्लाकै मोलुङ गाउँपालिका र सोलु जिल्ला, पश्चिमतर्फ रामेछाप जिल्ला पर्छ भने उत्तरमा सोलखुम्बुको लिखुपिके गाउँपालिका र दक्षिणतर्फ ओखलढुङ्गा जिल्लाकै लिखु र मोलुङ गाउँपालिका पर्छ।

१७९.७७ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको यस गाउँपालिकामा २०६८ सालको जनगणनाअनुसार १५ हजार २९१ जनसंख्या रहेका छन् भने तीन हजार ११८ घरपरिवार रहेका छन्। नौवटा वडा रहेको यस गाउँपालिका साविकका रगनी, खिजिचण्डेश्वरी, खिजिफलाटे, खिजिकाती, रावादोलु, भूसिङ्गा र पोकली गाविसको वडा नं.- ९ र पात्ले गाविसको साविक ३, ४, ५ र ६ नं. वडा मिलेर बनेको जिल्लाकै ठूलो क्षेत्रफल भएको गाउँपालिका हो।

जिल्लाको यही गाउँपालिका अध्यक्ष बेदबहादुर रोका आफू आगामी १० वर्षमा गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने लक्ष्य साथ लागि परिरहेका छन्। बुबा अम्बरबहादुर रोका र आमा अमृतमाया रोकाका चार छोराछोरीमध्येका माहिलो सन्तानका रूपमा मिति २०१९ साउन १२ गते जन्मेका उनी शिक्षण पेसासँगै राजनीतिमा होमिएका छन्। 

आफ्नै घर छेउमा रहेका चण्डेश्वरी मावि रगनीबाट प्राथमिक र माध्यमिक शिक्षा लिएका उनी एसएलसी परीक्षापछि प्राइभेटबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनले त्रिचन्द्र कलेजबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा बीए काठमाडौं शिक्षा क्याम्पसबाट बीएड अनि अर्थशास्त्रमा पाटन संयुक्त क्याम्पसबाट एमएसम्मको अध्ययन गरेका छन्। दुःखका साथ अध्ययन र शिक्षण पेसा सँगसँगै गरेका उनी चण्डेश्वरी माविका प्रधानाध्यापकसमेत बनेका थिए। 

२०७४ बैशाख २३ गते शिक्षण पेसाबाट अलग भई स्थानीय तहको निर्वाचनमा अोखलढुङ्गाको खिजिदेम्वा गाउँपालिका नेपाली कांग्रेस पार्टीको तर्फबाट गाउँपालिका अध्यक्षको पदमा निर्वाचित बेदबहादुर रोकासँग थाहाखबरकर्मी मनोज भट्टराईले गरेको कुराकानी प्रस्तुत छ।

तपाईंले गाउँपालिका अध्यक्ष जितेर आएको एक वर्ष बित्यो, यो एक वर्षको अनुभव कस्तो रह्यो?

एक वर्षको अनुभव वास्तवमा सिकाइ र गराइमा नै बित्यो। केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन हुनुपर्नेमा यसको विपरीत भएका कारण केन्द्र र प्रदेश सरकार गठनको पर्खाइमा धेरै समय बित्यो। तत्पश्चात् केन्द्र र प्रदेश सरकारले दिने कानुन र कर्मचारी समायोजन प्रक्रियाको पर्खाइ आजका दिनसम्म पनि पर्खाइमै रहेको अवस्था छ। यसले गर्दा 'धान खाने मुसो चोट पाउने भ्यागुतो' भनेझैँ स्थानीय सेवाग्राहीले पाउनुपर्ने सेवा सुविधा समयमा नपाएको अवगालको मार स्थानीय तहले खेप्नुपरेको छ। तर पनि अधिकार प्रत्यायोजन, कानुन निर्माण र कर्मचारी समायोजन अनि एकात्मक शासन प्रणालीबाट संघीय शासन प्रणालीको रूपान्तरणको यो संक्रमणकालीन अवस्थामा जेजति अधिकार तथा स्रोत र साधन प्राप्त भएको छ केन्द्र र प्रदेश सरकारको नीति निर्देशनमा, त्यसको उपयोग एवं कार्यान्वयन हाम्रो गाउँपालिकामा सन्तोषजनक नै भएको अनुभव गरेको छु।

निश्चय नै स्थानीय सरकारबाट जनताले जेजति आशा गरेका थिए, त्यो पाउन नसकेकै हो। तर पनि जे जति पाउन सकिएको छ, त्यो विगतको एकात्मक शासन प्रणालीको भन्दा निश्चय नै बढी छ। यो वर्ष सुरुको वर्ष केन्द्र र प्रदेश सरकारको चुनाव सरकार गठन अनि ऐन कानुन निर्माण प्रक्रियामा हुने र भएको ढिलाइ सेवाप्रदायक सरकारी कार्यलयहरूको स्थानीय तहमा गरिने स्थानान्तरण र स्थापनामा भएको ढिलाइ एवं अलमल, कर्मचारी समायोजन कार्य हालसम्म पनि हुन नसक्नु यी सबै कारणले गर्दा स्थानीय सरकारबाट जति काम हुन सक्नुपर्थ्यो, त्यति हुन नसकेकै हो। फेरि पनि केही हुँदै नभएको चाहिँ होइन।

यो अवधिमा तपाईंले गरेका मुख्य कामहरू केके हुन्?

मैले मात्र कहाँ हो र! हामीले गरेका काम हुन्। हामी खिजिदेम्वा गाउँपालिकाका प्रतिनिधिले यस अवधिमा स्थानीय सरकार सञ्चालनका लागि निर्माण गर्न सक्ने र हामीलाई तत्काल स्थानीय सरकार सञ्चालन गर्न आवश्यक पर्ने कानुनको निर्माण गर्नुका अतिरिक्त ग्रामीण सडक विस्तार तथा मर्मत गर्ने कार्य गर्दै वडा र गाउँपालिका जोड्ने सडक निर्माण, विभिन्न टोल बस्तीमा तुलनात्मक रूपमा पायक पर्ने गरी सडक पुर्‍याउने कामको सुरवात गाउँपालिकादेखि जिल्ला सदरमुकाम कच्ची सडकले जोड्ने काम गरेका छौँ। कृषिमा परम्परागत कृषि प्रणालीलाई पर्यावरणीय कृषि प्रणाली तथा आधुनिक व्यावसायिक खेतीमा रूपान्तरण गर्ने कार्यअन्तर्गत माटो परीक्षण तथा आधुनिक कृषि यन्त्र उपकरण वितरण र प्रयोगको सुरुवात गर्नेलगायतका विभिन्न कार्य गरिएको छ।

हाम्रो गाउँपालिकाको भूबनोट, हावापानी, उपलब्ध प्राकृतिक स्रोत र साधनलाई आधार मानेर हामीले मूलतः सडक सुविधाको विकास, कृषि क्षेत्रको विकास, पशुपंक्षी पालन, जडिबुटी र वन, पर्यटन क्षेत्रको विकास, जल उपयोग, शिक्षा, स्वास्थ्य र सुशासन, यी नौवटा क्षेत्रको समयोचित विकास गर्ने हाम्रो लक्ष्य रहेको छ।

हिजो चुनावका बेला जनतासँग गरेका प्रतिबद्धता के कति पूरा गर्न सफल हुनुभएको छ?

जहाँसम्म चुनावका बेला जनतासँग गरिएका प्रतिबद्धताभन्दा धेरै काम भइसकेका छन्। चुनावमा त्यस्ता गर्नै नसकिने कुनै प्रतिबद्धता गरिएको थिएन। जे होस्, हामी सफल भएजस्तो लागिरहेको छ। यो अवधिमा स्वास्थ्य क्षेत्रमा स्वास्थकर्मी आवश्यकताअनुसार थप गर्नुका साथै औषधि आपूर्ति नियमित गरिएको छ। स्वास्थ्य संस्थाको पहुँच सहज गराउन आवश्यकता हेरी स्वास्थ्य इकाई स्थापना गरिएको छ भने गाउँपालिकामा एम्बुलेन्स सेवा उपलब्ध गराउन एउटा एम्बुलेन्स खरिद गर्ने कार्य भएको छ। भइरहेको प्रसुति केन्द्रलाई अरू थप सुधार गरिएको छ। गाउँपालिकामा पाँच शैयाको अस्पताल भवन निर्माणको विगतको प्रस्ताव स्वीकृत भएको छ। सञ्चारतर्फ गाउँपालिकामा इन्टरनेट जडान गरिएको छ। अब मौसमअनुकूल हुनासाथ सबै वडामा विस्तार गरिनेछ। एउटा टेलिफोन टावर निर्माण गर्ने कार्य थालनी भइसकेको छ।

विद्युत पावर हाउसको मर्मतसम्भार र काठका पोलहरूको सट्टा फलामे पोलको व्यवस्था गर्ने कार्य गरिएको छ। खानेपानीतर्फ राष्ट्रियस्तरका ठूलठूला खानेपानी आयोजना निर्माण कार्य सुरु भइसकेको छ भने विद्यमान खानेपानी मर्मत तथा खानेपानी आपूर्ति सेवा विस्तार गर्ने कार्य भएको छ। शिक्षा क्षेत्रको विकासका लागि शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्यको पहललगायत विभिन्न क्षेत्रको विकासका लागि, सुधारका लागि गर्नुपर्ने कामको सुरुवात गरिएको छ। साथै गाउँपालिकामा 'क' वर्गको एक बैंक मेघा बैंक नेपाल लिमिटेडको स्थापना भई कार्य प्रारम्भ भएको छ। इलाका प्रशासन कार्यालय सुचारु गराई नागरिकता वितरण गर्ने कार्य भएको छ। एवं रीतले हामीलाई स्थानीय तहमा कानुनद्वारा अधिकार प्रदान गरिदिएसम्मका हाम्रा स्थानीय तहको अधिकार क्षेत्रभित्रका कामहरू गर्नुका साथै प्राप्त स्रोत र साधनको उचित उपयोग गर्ने काम गरिएको छ। यद्यपि, केन्द्र र प्रदेशले स्थानीय तहलाई समयमै दिनुपर्ने निकासको ढिलाइका कारण स्थानीय तहले गर्नुपर्ने काममा कठिनाइ  एवं ढिलाइ हुन गई आशातीत उपलब्धि हासिल हुन सकेको छैन।

जिल्लाकै उच्च क्षेत्र देम्वा पर्यटकीय स्थान र पर्यटन विकासका लागि गाउँपालिकाले बेवास्ता गरेको आरोप छ नि?

पर्यटकको केन्द्रबिन्दु नै देम्वा डाँडो भएको कारण देम्वालाई बेवास्ता गरेको भन्ने कुरा आउँदैन। गत वर्ष राष्ट्रपतिबाट उद्घाटन भएको थोलेदेम्वा महोत्सव यस वर्ष नभएका कारण सबैलाई त्यस्तो लाग्नु स्वाभाविक हो। तर गाउँपालिकाले पर्यटकीय स्थानलाई बेवास्ता भने गरेको छैन। गाउँपालिकामै पर्यटन बोर्ड बनाउने लक्ष्यका साथ अगाडि बढिरहेका छौँ। पर्यटनका लागि गाउँपालिकाले एउटा गुरुयोजना बनएर लाग्नेछ। तत्कालका लागि पनि गाउँपालिकाले पर्यटकीय स्थान देम्वामा ट्रष्ट निर्माण गरिरहेको र देम्वा पर्यटन विकासका लागि बजेट विनियोजनसमेत भएको छ। सिंगो स्थानीय तहले देम्वाकोे जगेर्ना गरी पर्यटक भित्र्याउने लक्ष्य बनाएको छ। देम्वालाई केन्द्रबिन्दु बनाई लिखुको पोकली झरना हुँदै गौरीवन देम्वा पिके पर्यटन पदमार्गको योजनाका साथ गाउँपालिका लागिपरेको छ।  

केन्द्र र प्रदेश सरकारमा फरक राजनीतिक दल छन्, कति सजिलो भएको छ काम गर्न?

केन्द्र र प्रदेश सरकारबाट स्थानीय तहलाई गर्ने सहयोग के कसरी गर्ने, त्यसको आधार र मापदण्ड के हुने? आवश्यकताको पहिचान र त्यसको सम्बोधनको छनोट प्रक्रिया के हुने? कस्तो हुने? भनेर गरिएको विधि र प्रक्रियाले हुने काम र पाउने सहयोग पाइएकै छ। यसको विपरीत त्यस्तो विधि र प्रक्रिया नबनेको अवस्थामा हुने र भएका कामहरूमा केही असर पर्न सक्छ तर पनि सामुदायिक भवन, एकीकृत भवनलगायत अन्यका लागि केही सहयोग प्राप्त भएको छ। पर्याप्त-अपर्याप्त, घटी-बढी जे भए पनि त्यो सहयोग प्राप्त भएको छ। यो पनि त सहयोग नै हो। सहयोग छ, छैन कसरी भन्न? केन्द्र र प्रदेश सरकार स्थानीय सरकार संचालन गर्न गराउनमा के गर्ने? कसो गर्ने? भन्ने अलमलमा भएजस्तो लाग्छ। यो अवस्थामा जे प्राप्ति भएको छ, त्यही सहयोग हो।

समृद्ध गाउँपालिका बनाउन के योजनाका साथ अगाडि बढ्नुभएको छ?

'उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक' भनिन्छ। छुन सके पनि नसके पनि उद्देश्यचाहिँ लिनुपर्छ भन्ने हो। खिजिदेम्वा गाउँपालिकालाई एउटा समृद्ध गाउँपालिका बनाउने हाम्रो लक्ष्य हो। जल, जंगल, जडिबुटी र पर्यटन नै समृद्ध खिजिदेम्वाको आधार हो। यसकै कारण हामीले खिजिदेम्वालाई समृद्ध बनाउँछौँ भनेर लागिपरेका छौँ। 

केन्द्र सरकारले आफ्नो लक्ष्य पूरा गर्न गराउन कस्तो नीति लिन्छ? कस्तो निकास र विकास दिन्छ? त्यसमा पनि भरपर्छ तर हाम्रो गाउँपालिकाको भूबनोट, हावापानी, उपलब्ध प्राकृतिक स्रोत र साधनलाई आधार मानेर हामीले मूलतः सडक सुविधाको विकास, कृषि क्षेत्रको विकास, पशुपंक्षी पालन, जडिबुटी र वन, पर्यटन क्षेत्रको विकास, जल उपयोग, शिक्षा, स्वास्थ्य र सुशासन, यी नौवटा क्षेत्रको समयोचित विकास गर्ने हाम्रो लक्ष्य रहेको छ।

यसका लागि हामीले केही खासखास क्षेत्रको छनोट गरी क्रमश: गुरुयोजना तयार गरेर अगाडि बढ्ने योजना बनाएका छौँ। निश्चय नै यी लक्ष्यहरू प्राप्ति गर्दै गर्दा यो कार्यकालमा कम्तीमा पनि जग, एउटा आधार मात्र खडा भए पनि यसको सुरुवात मात्र भए पनि आगामी १० वर्षभित्र खिजिदेम्वा गाउँपालिका एउटा समृद्ध गाउँपालिका बन्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.