सिन्धुली : ‘एकल भएपछि हरेक मान्छेले आक्षेप, आरोप लगाउने रहेछन् तर म आफु गलत बाटोमा नलागेपछि अरूले भनेर केही हुँदैन भन्ने लाग्थ्यो र आँट गरेर व्यवसाय सुरु गरेँ, अहिले सफल नै छु', कमलामाई नगरपालिका- २ भद्रकाली निबुवाटारकी एकल महिला निर्मला गौतमको भनाइ हो यो।
निर्मलाले एक वर्षयता व्यावसायिक रूपमा भैँसी पालन व्यवसाय गर्दै आएकी छन्। हातेमालो साना किसान कृषि सहकारीको सहयोगमा आधुनिक नमुना व्यावसायिक भैँसी पालन फार्म संचालन गरेर निर्मलाले अहिले आठवटा भैँसी पाल्दै आएकी छन्। भैँसी फार्मबाट बिहान बेलुका गरेर दैनिक ६० देखि ६५ लिटर दूध बिक्रीका लागि बजार पठाउने गरेको निर्मला बताउँछिन्। ‘दैनिक बिहान बेलुका गरेर ६० देखि ६५ लिटर दूध बेच्छु’, उनले भनिन्।
भैँसी पालन व्यवसायका लागि सहकारीले फार्म निर्माण गर्न र भैँसी ल्याउन निर्मलालाई सहयोग गरेको छ। ‘सहकारीले सहयोग नगरेको भए मैले यत्रो व्यवसाय गर्न सक्दिन थिएँ, सहकारीले नै मलाई व्यवसायी बनाएको हो’, उनले भनिन्।
निर्मलाले भैँसी फार्ममा दैनिक १० घण्टा बढी काम गर्छिन्। ‘काम गर्दा त दुःख भइहाल्छ नि! तर पछि आम्दानी लिन थालेपछि दुःख भुलिँदोरहेछ’, निर्मलाले सुनाइन्। दूध बेचेर मासिक एक लाख रुपैयाँ बढी आम्दानी लिने गरेको निर्मलाको भनाइ छ। फार्ममा अहिले आठवटा भैँसी छन्। ३२ वटा भैँसी पाल्न मिल्ने फार्म भएकाले केही समयभित्रै फार्ममा अरू भैँसी थपरे ३२ वटा पुराउने निर्मलाको लक्ष्य छ।
वि.सं. २०६९ पुस १४ गते निर्मलाका श्रीमानको निधन भयो। अहिले निर्मलालाई श्रीमानको र उनका तीन सन्तानलाई बुवाको तस्वीर हेरर बस्नु शिवाय अरू उपाय छैन। श्रीमानको मृत्युपछि तीन सन्तानको लालनपालनको जिम्मेवारी र सासूको हेरचाहको जिम्मेवारी सबै निर्मलाको काँधमा आयो।
निर्मलाले त्यो जिम्मेवारी पूरा गर्न हिम्मत हारिनन्। सधैँ मिहिनेत गरिरहिन्। समाजमा एकल महिलालाई हर्ने दृष्टि फरक छ। ‘एकल महिलालाई गाउँघरमा हेप्ने प्रवृत्ति आज पनि छ। श्रीमान बितेपछिको केही वर्ष मैले पनि धेरै पीडा सहनुपर्यो’, निर्मलाले भनिन्। यसअघि उनले बेमौसमी खेती गरेकी थिइन्।
निर्मलाका एक छोरा, दुई छोरी र सासू साथमा छन्। छोराले कृषि प्राविधिक पढेर जागिरसमेत खाइसकेका छन्। एउटा छोरीले १२ कक्षा पास गरिसकेकी छन् भने कान्छी छोरी ७ कक्षामा पढ्दै छन्। भैँसी पालन व्यवसायमा छोराछोरीले सधैँ साथ दिने गरेको निर्मलाले बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।