|

काठमाडौं : कात्तिक १७ गते भारतीय राष्ट्रपति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुँदै थिए। उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका विशिष्ट पदाधिकारीहरु विमानस्थल गएका थिए। 

त्यस दिन ११ बजेदेखि नै एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै शितलनिवाससम्मको सडक खाली गराइएको थियो। त्यही सुनसान सडकको फोटोहरु सामाजिक सञ्जालमा पोस्ट गरेर कतिपयले लेखे 'अघोषित कर्फ्युु।' सरकार र ट्राफिक प्रहरीको आलोचना पनि भयो। सरकारले भारतीय राष्ट्रपति आउने दिन भनी सार्वजनिक विदा दिएको आक्रोश पनि सामाजिक सञ्जालमा ब्यक्त भए। 

ट्राफिक प्रहरीले भने भारतीय राष्ट्रपतिको यस भ्रमणको सवारी ब्यवस्थापन व्यवस्थित र चुस्त रहेको निश्कर्ष निकालेको छ। काठमाडौंको सवारी व्यवस्थापन गर्ने निकाय महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी मिलन बस्नेतले सर्वसाधारणले केहीबेर रोकिएर सहयोग गर्दा ट्राफिक व्यवस्थापन सहज भएको बताए। 'सुरक्षा संवेदनशीलताका कारण पब्लिकलाई केहीबेर रोक्नुपर्‍यो' उनले भने,' आफूले दुख पाएर पनि चूनौतीपूर्ण व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्ने पब्लिकलाई ट्राफिक प्रहरी धन्यवाद नदिरहन सक्दैन।'

ट्राफिक प्रहरी महाशाखाका अनुसार भारतीय राष्ट्रपतिको सवारीका क्रममा मुख्य रुटमा सर्वसाधारणले ३२ मिनेट भन्दा बढी कुर्नुपरेन। जब मुखर्जीको सवारी मुभ गर्ने तयारी हुन्थ्यो, कारगेडमा रहेका ट्राफिक प्रहरीले रुटमा तैनाथ ट्राफिक प्रहरीलाई २० मिनेट अघि खबर गर्थे। खबर पाउनासाथ सुरक्षाकर्मीले बाटो क्लियर गर्थे। उनको सवारी भएको १२ मिनेटपछि ट्राफिक प्रहरीले सडक खुलाउँथ्यो। '२० मिनेटअघि बाटो क्लियर गर्नु हाम्रो बाध्यता हो', बस्नेतले सुनाए,' सवारी मुभ भएको १२ मिनेटपछि पछाडिको बाटो खुल्ला गर्थ्यौं।'

सामाजिक सञ्जाल र रेडियोको प्रयोग

राष्ट्रपति मुखर्जीको भ्रमणको अघिल्लो दिन ट्राफिक प्रहरी महाशाखाले कुन कुन रुटमा कति बेला सवारी प्रभावित हुन्छ भन्ने सूचना सञ्चार माध्यमहरुमा पठाएको थियो। मुखर्जीको सवारीका बेला सडक बन्द हुने वा खुला हुने जानकारी ट्राफिक प्रहरीले निरन्तर गराइरहेको थियो। ट्राफिक एफएम, ट्विटर र फेसबुकमार्फत गाडी बन्द हुने रुट र खुल्ने रुट जानकारी गराइएको थियो।

ती माध्यमबाट सवारी हुने रुट कतिबेरसम्म प्रभावित हुने र कतिखेर खुल्ने जानकारी निरन्तर प्रवाह भइरहेको हुन्थ्यो। 'ट्राफिक एप, एफएम ९५.६, फेसबुक र ट्विटरमार्फत हामीले सर्वसाधारणलाई जानकारी दिइरहेका थियौं', एसएसपी बस्नेतले भने। सामाजिक सञ्जाल र रेडियोमार्फत निरन्तर गरिएको सूचना प्रवाहले सर्वसाधारणले धेरै दुख नपाएको उनले दावी गरे। 

राष्ट्रपति मुखर्जीको सवारी व्यवस्थापनका लागि १४ सय ट्राफिक प्रहरी परिचालन गरिएको थियो। अधिकांशसँग सञ्चार सेट थियो। प्रमुख रुटहरुको अवलोकन महानगरीय ट्राफिक महाशाखाको कार्यालयबाटै सीसीटीभी मार्फत गरिएको थियो। राष्ट्रपति सवार रुटमा सवारी सधान जम्मा हुने बित्तिकै कन्ट्रोल रुमबाट डाइभर्सनको आदेश जान्थ्यो। सर्वसाधारणका सवारीलाई गन्तव्य पुग्न वैकल्पिक मार्ग खुला थियो। 'मुख्य रुटमा सवारीसाधनको चाप देखेपछि हामी डाइभर्सन गराउँथ्यौं, यसले सर्वासाधरणलाई गन्तव्यमा पुग्न पनि कठिनाई भएन राष्ट्रपतिको सवारीमा पनि कुनै वाधा परेन,' एसएसपी वस्नेतले थाहाखबरसँग भने।

सार्क सम्मेलनको पाठ

अति विशिष्टको सवारीका क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले १८ ‌औं सार्क शिखर सम्मेलनका क्रममा समेत गरेको थियो। त्यसबेला सवारी व्यवस्थापन केही अस्तव्यस्त थियो। सार्क शिखर सम्मेलनको अनुभवबाट नै हालको व्यवस्थापन चुस्त भएको एसएसपी बस्नेत बताउँछन्। 'हरेक इभेन्टले केही न केही सिकाउँछ, सार्क शिखर सम्मेलनको भोगाइ एउटा पाटो रह्यो' उनले थपे,' सर्वसाधारणले असहयोग गरेको भए हाम्रो व्यवस्थापन चुस्त हुँदैनथ्यो।'

शुक्रबार मन्त्रिपरिषद्को बैठकले विदेशी राष्ट्रप्रमुख लगायतका विशिष्टहरुको स्वागत र सुरक्षाका लागि सक्षम रहेको सन्देश दिन सफल भएको निश्कर्ष निकालेको छ। सरकारले यो जस लिनुमा एउटा भूमिका ट्राफिक प्रहरीको पनि रह्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.