सन्दर्भ–छठपर्व

|

मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र भक्तिपूर्वक मनाउने पर्व हो, छठ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने भएपनि छठको मुख्य दिन षष्ठीलाई मानिन्छ। षष्ठी शब्द अप्रभंश हुँदै छठ बनेको संस्कृतिविद्हरू बताउँछन्। षष्ठीको साँझ नदी तलाउमा आधा शरीर डुब्नेगरी अस्ताचल सूर्यलाई अर्घ दिइन्छ भने रातभरि जाग्राम बसी भोलिपल्ट (सप्तमी)को उदयाचल सूर्यलाई अर्घ दिई व्रत पूर्ण गरिन्छ। चार दिनको अवधिमा अपनाइने विधि अनेक छन्। तैपनि मुख्य उद्देश्य हो, सूर्योपासना।

सनातन धर्ममा सूर्यलाई शक्तिको प्रमुख स्रोत मानिएको छ। वेदमा ‘सूर्य आत्मा जगतस्तस्थुषश्च’ अर्थात् समस्त जगतको आत्मा रूपमा सूर्य रहेको बताइएको छ। यसैगरी ‘आदित्यो वै प्राणः’ भनेर सम्पूर्ण जगतको प्राणको रूपमा सूर्यको महिमा उजागर गरिएको छ। 

‘सरति आकाशे इति सूर्य’ संस्कृत व्याकरणअनुसार आकाशमा निराधार निरन्तर भ्रमण गर्ने तत्वको रूपमा सूर्यको महिमा छ। ‘सुवति कर्मणि लोकं प्रेरयति’ अर्थात् सूर्यले उदयसँगै सम्पूर्ण विश्वलाई कर्ममा प्रवृत्त गराउँछ। सूर्योदयको साथबाटै सजीवले आफ्नो काम सुरु गर्छन् भने सूर्यास्तसँगै विसर्जन गर्छन्। 

सूर्यलाई दिन-रात, पक्ष, महिना र ऋतुको नियामक मानिएको छ। सम्पूर्ण जगतलाई प्रकाशमय पार्ने, समस्त प्राणीलाई कर्ममा प्रवृत्त हुन प्रेरणा दिने, रोग नाश गर्ने, राम्रा नराम्रा काम देख्ने विशेषता सूर्यमा पाइन्छ। जड-चेतन, विद्वान्-मुर्ख, पुण्यात्मा-पापात्मा कसैलाई भेदभाव नगरी समान रूपमा प्रकाश र प्रेरणा दिने सूर्यको गुण मानिन्छ। शास्त्रअनुसार सूर्यको प्रार्थनाबाट मानिसले बुद्धि र कर्मलाई सत्मार्गतर्फ लगाउने प्रेरणा पाउँछ, भनिएको छ। सूर्य आध्यात्मिक शक्ति प्राप्त गर्ने स्रोत, अन्य देवीदेवता र पितृहरूसँग पुग्ने माध्यम पनि मानिएको छ। 

अन्धकारनाशक, राक्षसनाशक, दुःख र रोगनाशक, चराचरको आत्मा, आयुवृद्धिकारक र लोकलाई धारण गर्ने तत्वका रूपमा वेदमा सूर्यको आराधना गरिएको छ। वेदका मन्त्रहरूले सूर्यपासनाको प्रसंगमा जागृत वा अजागृत अवस्थामा गरिएका सम्पूर्ण पाप नाश गर्न आग्रह गरेका छन्। वेदमा सूर्यात्मक ज्योतिलाई ब्रह्म मानेर सबै जीवात्मामा चेतना भर्ने देवताको रूपमा सवितादेव (सूर्य)को स्तुति गरिएको छ। 

सूर्यात्मक ब्रह्म एक्लै विचरण गर्ने भन्दै चन्द्रमा समेत उनैबाट प्रकाश पाएर चम्किने बताइएको छ। सूर्यको उपासना गर्दै शुक्लयजुर्वेद (३३/४१) मा सूर्य स्वर्णिम रथमा बसेर अन्धकारयुक्त अन्तरिक्षको मार्गमा भ्रमण गर्ने देवता एवं मानिसहरूलाई आ-आफ्नो कार्यमा प्रेरित गर्दै सम्पूर्ण लोकको अवलोकन गर्दै आगमन गर्दछन्, भनिएको छ। वेदमा अन्नलाई पवित्र पार्ने, यज्ञको फल प्रदान गराउने एवं ब्रह्मज्ञानले पवित्र गर्ने, सूर्यलाई देवता एवं पितृहरूको तृप्ति गराउने माध्यम मानिएको छ। 

यसैगरी यज्ञको सहयोगीको रूपमा रहेर, वर्षा गराएर चराचर जीवात्मालाई जीवित राख्न सूर्यको भूमिका महत्वपूर्ण रहेको बताइएको छ। आफ्नो दिव्य प्रकाशबाट प्रकाशित भएका सूर्यरुपी ब्रहमले पूर्व दिशाबाट उदाएर भूगोल मध्यबाट आरम्भ गरी सम्पूर्ण जगतलाई प्रकाशित गर्ने वेदमा उल्लेख छ।

पुराणहरूमा पनि सूर्यको उत्पत्ति र महत्वबारे उल्लेख भएको पाइन्छ। पुराणअनुसार मरीचि नामका प्रजापतिका छोरा कश्यपकी पत्नी अदीतिको गर्भबाट सूर्यको उत्पत्ति भएको उल्लेख छ। वेद र पुराणमा हिरण्य, आदित्य, दिवाकर, भास्कर, सविता, भानु, दिवाकरलगायत सूर्यलाई चिनाउने अनेकौं नाम पाइन्छन्। 

सूर्यको आराधनाले पनि चातुर्दिक सुख मिल्ने बताइएको पाइन्छ। सूर्योपासना गर्ने विभिन्न विधि पुराणहरूमा पाइन्छ। द्विजातिले प्रत्येक दिन बिहान सबेरै उठी नित्यकर्म सकी स्नान गरी सूर्योपासना गर्ने वैदिक विधि छ। सूर्योपासना गर्ने दिन र विधिको उल्लेख पुराणहरूमा पाइन्छ। 

पौष मासको शुक्ल सप्तमीमा व्रत सुरु गरेर एक वर्षसम्म व्रत गर्ने विधान पनि पाइन्छ। आइतबार सप्तमी तिथि परेको दिन अर्थात् रवि सप्तमीलाई सूर्यको आराधना गर्ने महत्वपूर्ण दिन मानिएको छ। प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठी (अस्ताएको) र सप्तमी (उदाएको) र पौष महिनाको रविवार गरिने सूर्योपासनाको विशेष चर्चा पुराणमा पाइन्छ। 

सूर्योपासना विभिन्न दिशामा फर्किएर गर्नाले मनोवाञ्छित फलप्राप्त हुने पुराणहरूमा उल्लेख छ। पूर्वतिर फर्किएर भगवान् सूर्यको आराधना गर्नाले उन्नति, पश्चिमतिर फर्किएर आराधना गर्नाले दुर्भाग्य अन्त्य हुने, दक्षिण फर्किएर आराधना गर्नाले रोगशान्ति शोक तथा शत्रु नाश हुने र उत्तरतिर फर्किएर आराधना गर्नाले धनप्राप्ति हुने प्रसंग पनि आउँछ। भगवान् कृष्णका छोरा साम्बलाई दुर्वासा ऋषिले दिएको कुष्ठरोगको श्राप पनि नारदको सल्लाहअनुसार सूर्योपासनबाटै निवारण भएको पौराणिक ग्रन्थमा पाइन्छ।  

ज्योतिषशास्त्रमा नवग्रहमध्ये ठूलो एवं राजाको रूपमा सूर्यको आराधना गरिन्छ। ‘सूर्याद् भवन्ति भूतानि सूर्येण पालितानि तु-सूर्ये लयं प्राप्नुवन्ति यः सूर्यः सोऽहमेव च।’ अर्थात् सूर्यबाटै सबै जीव उत्पन्न हुन्छन्, सूर्य सबैको पालना गर्दछन् र अन्त्यमा सूर्यमै सबैको विलय हुन्छ। सूर्यलाई मानिसको मात्र नभई सबै देवताको आत्मा मानिएको छ। विराट पुरुष वा ब्रह्माको आँखाबाट सूर्यको उत्पत्ति भएको प्रसंगअनुसार सूर्यलाई आँखाकारक देवता पनि मानिएको छ। हिरण्यमय (सुवर्ण) वर्ण भएका सूर्य आँखाका अधिपति पनि मानिएका छन्। पञ्चतत्वमध्ये तेज तत्व सूर्यबाटै प्राप्त हुन्छ र अन्य तत्व पनि सूर्यमै समाहित भइरहेका हुन्छन्। 

पूर्वीय ऋषि महर्षिहरूले सूर्यबाट ज्ञानको शक्ति आर्जन गर्दथे। उनीहरू सूर्योपासनाकै माध्यमबाट ठूलाठूला कार्यसमेत सिद्ध गर्दथे। यसैगरी सूर्यकै माध्यमबाट दुसाध्य रोगसमेत निरोध गर्न सक्ने उपाय शास्त्रमा बताइएको छ। सूर्यको यही महत्वलाई बुझेर सनातन समाजमा सूर्योपासनाको परम्परा चलेको देखिन्छ। वैदिक मान्यताअनुरूप व्रतबन्धका बेला गुरुबाट पाएका मन्त्रको रूपमा होस् या पौराणिक सन्दर्भमा आएका समय वा विधिमार्फत् सूर्योपासना गर्ने परम्परा छ। वैदिक सन्ध्योपासन गर्दा पनि दिनहुँ सूर्यार्घ, सूर्योपस्थान आदि क्रिया अपनाएर सूर्योपासना गर्ने परम्परा चलेको पाइन्छ।

सूर्यविना पृथ्वी र यहाँ रहने जीवहरूको कल्पनासमेत गर्न सकिँदैन। सम्पूर्ण ब्रह्माण्डलाई सञ्चालन गर्ने वा गतिशील बनाउने रूपमा सूर्यको महत्व छ। प्रत्येक प्राणी एवं वनस्पतिहरूमा शक्ति सञ्चार गर्न पनि सूर्यको ठूलो भूमिका रहेको छ। हिजो सूर्योपासनाबाट आध्यात्मिक शक्तिको कामना गरिन्थ्यो। आज सूर्यबाट प्राप्त हुने शक्तिलाई भौतिक समृद्धिमा विकसित गरिएको छ। 

सूर्यबाट प्राप्त शक्तिलाई दैनिक प्रयोजनका लागि आवश्यक पर्ने उर्जाका रूपमा प्रयोग गर्न थालिएको छ। अन्य उपायबाट निर्मूल नहुने रोगका किटाणुहरू पनि सूर्यको प्रकाशको प्रभावले डेढ घण्टामा मर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन्। क्षयरोग, टाइफाइड आदि रोगका किटाणु सूर्यको निश्चित प्रकाशका कारण नष्ट हुन्छन्। पानी भरिएको रंगीचंगी बोतल सूर्यको किरण पर्ने गरी राखेर विभिन्न रोगमा उपचार हुने गरेको छ। विभिन्न रोगको उपचारका लागि सूर्यस्नान (सनबाथ) को प्रक्रिया अपनाउन थालेका धेरै भइसकेको छ। बिहानीको सूर्य किरणको स्नानले अस्थिपञ्जर मजबुत हुनुको साथै क्यान्सरजस्ता रोगलाई समेत फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ। 

प्रकृतिमाथि मानवीय अतिक्रमणका कारण विश्व नै प्रदूषित भइरहेको सन्दर्भमा सूर्यबाट पाइने किरण (शक्ति) पनि विकारयुक्त हुन थालेको बताइन्छ। यसैकारण सूर्यको शक्ति शरीरमार्फत ग्रहण गर्दा समय वा अवधिको विचार पुर्‍याउनु बुद्धिमानी हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.