|
File Photo

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आव ०७५/०७६ को बजेट कार्यान्वयन नै कर्णाली प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीको शनिबार सुर्खेतको वीरेन्द्रनगरमा औपचारिक उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सरकारको पहिलो प्राथमिकता भनेको आव ०७५/०७६ को बजेट कार्यान्वयन भएको बताएका हुन्।

मुख्यमन्त्री शाहीले आव ०७५/०७६ को बजेटको प्रभावकारी कार्यान्वयनमा लाग्न कर्मचारीलाई निर्देशन दिएका छन्। उनले कृषि मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा सहभागी कर्णाली प्रदेशका कृषि तथा पशुसेवाका कर्मचारीलाई सरकारको मर्मअनुसार बजेटको कार्यान्वयनमा इमान्दारिता देखाउन निर्देशन दिए। अहिलेको बजेटको प्रभावकारी कार्यान्वयन गरे मात्रै सुशासन र पारदर्शिता कायम हुने भन्दै शाहीले बजेट कार्यान्वयनमा जानुको विकल्प नरहेको बताए।

यो समय भनेको बजेटको कार्यान्वयन गर्ने समय भएकोले सम्बन्धित ठाउँमा पुगेर कार्यान्वयन हुने/नहुने अवस्था तत्काल मन्त्रालयमा जानकारी गराउन शाहीले निर्देशन दिए। कर्मचारीको रिपोर्टका आधारमा सरकारले कार्यान्वयन नहुने योजनाहरूको बारेमा नयाँ नीति बनाउने उनले जानकारी दिए।

कतै बजेट अभाव हुने र कतै बजेटको सदुपयोग नहुने भए राम्रो नहुने भन्दै शाहीले काम नहुने योजनाको रकम रकमान्तर गरेर अरू काम अगाडि बढाइने जानकारी दिए। तोकिएको ठाँउमा आवश्यकता महसुस भए मात्रै योजनाहरू कार्यान्वयन गर्ने तथा अध्ययनवाट सम्भावना नभए योजना कार्यान्वयन नहुने मुख्यमन्त्री शाहीको भनाइ छ।

हरेक उत्पादनको पकेट क्षेत्र

मन्त्रालयद्वारा आयोजित समीक्षा गोष्ठी कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीको हरेक उत्पादनको पकेट तोकेर कृषिको विकासमा लाग्नुपर्ने बताएका छन्। 'कर्णालीका हरेक उत्पादनको पकेट तोक्नुपर्छ, अनि त्यसलाई सबैतिर विस्तार गर्नुपर्छ' उनले भने। स्थानीय उत्पादनलाई वृद्धि गर्न कर्णालीमा रहेका सबै रैथाने वालीको संरक्षण गर्नुपर्ने मुख्यमन्त्री शाहीले बताए।

कर्णालीको समृद्धिका लागि  पहिलो प्राथमिकता कृषि भएको बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट प्रदेशलाई अर्गानिक प्रदेश बनाउनका लागि आधार तय गर्ने निर्णय गरिएको बताए। कार्यक्रममा उनले सहकारी आन्दोलनको माध्यमबाट कषिको विकास गर्नुपर्ने धारणा ब्यक्त गरे।  'हिजोको कर्णाली कर्मचारीलाई तर्साउने हतियार थियो, अबको कर्णाली सबैको रोजाई बनाउनु पर्छ' शाहीले भने '१० वर्ष आयु बढाउन कर्णाली जानुपर्छ भन्ने सन्देश दिन कर्णालीले नयाँ पहिचान बनाउनुपर्छ।'

दुई दिनसम्म संचालन हुने गोष्ठीमा कर्णाली प्रदेश १० वटै जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुख, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका निर्देशनालय तथा विभिन्न कार्यालयका प्रमुखहरूको सहभागिता रहेको कृषि मन्त्रालयका सचिव शिवनारायण चौधरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.