विश्वविद्यालय गुण्डागर्दी गर्ने थलो नबनोस् : मुख्यमन्त्री शाही

|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्व विद्यालयलाई गुण्डागर्दीको थलो नबनाउन आग्रह गरेका छन्। बिहीबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको वीरेन्द्रनगरस्थिल स्कुल अफ ल क्याम्पसमा बीए एलएलबी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विश्वविद्यालय प्राज्ञिक थलो भएकोले प्राज्ञिक संस्कृतिको विकास हुनुपर्नेमा जोड दिए। 

‘राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादन हुने थलोबाट ‘डन’ उत्पादन गर्न थाल्यौँ भने भोलिको नेपाल कस्तो बन्ला?’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बेलाबेला हुने गरेका तालाबन्दी तथा अमर्यादित गतिविधिप्रति कटाक्ष गर्दै मुख्यमन्त्री शाहीले भने, ‘विश्वविद्यालयमा प्राज्ञिक शैक्षिक वातावातरण निर्माण गर्न विश्वविद्यालय प्रशासन गम्भीर बन्नुपर्छ।’ 

मुख्यमन्त्री शाहीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रदेश सरकारको मातहतमा ल्याएर कर्णाली प्रदेशमा आवश्यक जनशक्ति निर्माण गर्ने शैक्षिक संस्थाका रूपमा विकास गर्ने सोच रहेको बताए। अहिले केन्द्र सरकारको मातहतमा भए पनि कर्णालीको विकास र समृद्धिको लागि आवश्यक जनशक्ति उत्पादनका लागि आवश्यक शैक्षिक कार्यक्रम संचालन गर्नुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिए। 

‘अबको १५ वर्षभित्र कर्णालीको प्रतिव्यक्ति आय २१०० डलर पुर्‍याउने प्रदेश सरकारको लक्ष्य छ’, मुख्यमन्त्री शाहीले भने, ‘त्यसको लागि विश्वविद्यालयले प्राविधिक शिक्षातर्फ आफ्ना शैक्षिक कार्यक्रम संचालन गर्न आवश्यक छ।’ कानुन संकायको सुरुवातले विधिको शासन र लोकतन्त्रको सुदृढीकरणमा थप योगदान पुर्‍याउने विश्वास गर्दै मुख्यमन्त्री शाहीले दक्ष जनशक्ति विकासका लाग्नुपर्ने बताए। 

मुख्यमन्त्रीको गाडीमा नेविसंघले लेख्यो : माफिया सरकार मुर्दावाद

सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै सिंहदरबार र संघीय संसददेखि स्थानीय तह र प्रदेशसभालगायत सडक आन्दोलनमा उत्रिएको नेपाली कांग्रेस र उसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका विद्यार्थीले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले चढ्ने सरकारी गाडीमा 'माफिया सरकार मुर्दावाद, नेविसंघ' लेखेको छ। वीरेन्द्रनगरमा नेविसंघ सुर्खेतका विद्यार्थीले मुख्यमन्त्री शाहीको पार्किङमा राखेको गाडीमा सरकारको विरोधका रूपमा माफिया सरकार मुर्दावाद लेखेका हुन्।

मध्यपश्मिाञ्चल विश्वविद्यालयको कलेज उद्घाटन कार्यक्रममा सहभागी भइरहेका बेला मुख्यमन्त्री शाहीको पार्किङमा राखिएको गाडीमा सुरक्षाकर्मीको आँखा छलेर नेविसंघले उक्त शब्द लेखेको हो। 

नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले तय गरेका विरोधका कार्यक्रमअनुसार सरकारी गाडीलाई बन्देज गर्ने कार्यतालिका रहेको र सोहीबमोजिम कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको गाडीमा विरोधका शब्द लेखिएको नेविसंघ सुर्खेतले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.