दार्चुला : त्रिदेशीय सीमा क्षेत्रमा बन्दै गरेको दार्चुला-तिंकर सडकको निर्माण गती मात्रै सुस्त छैन यो सडकमा पर्ने दुई पुल तीन वर्षयता बन्न सकेका छैनन।
२०७२ फागुन २५ गते सम्झौता भइ निर्माण शुरु गरिएको निजाङ र सोही वर्ष चैत्र १५ गते सम्झौता गरिएको लास्कु खोला पुलको अहिलेसम्म ५० प्रतिशत पनि काम हुन सकेको छैन।
दुई करोड ४६ लाख सम्झौता भएको निजाङ पुल गत वर्ष जेठ ४ गते निर्माण सम्पन्न भइसक्नुपर्ने थियो। चार करोड पाँच लाखमा निर्माण गर्ने सम्झौता गरिएको लास्कु खोला पुल गत वर्षको असार १४ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर निर्माण सम्पन्न गरिनुपर्ने समय ८ महिना पहिले नै बित्दा पनि यी दुई पुल बन्न सकेका छैनन।
गत वर्ष जेठ-असारमा नै निर्माण सम्पन्न हुनुपर्ने यी पुलहरूमध्ये निजाङ पुल २०७५ असार २५ गते र लास्कुखोलामा रहेको पुल २०७५ असार १४ गते निर्माण सम्पन्न गर्ने गरी म्याद थपिएको थियो तर दोस्रो पटक थपिएको म्याद सकिएको पनि ८ महिना बित्दा पुल निर्माण सम्पन्न कहिले होला भनेर यकिन गर्न सकिन्न।
पटकपटक म्याद थपिए पनि पुल बन्न नसक्नु दुखद रहेको महाकाली नगरपालिका १ का शेरसिंह धामीले बताए। निर्माण व्यावसायी र नियमनकारी निकायको गैरजिम्मेवारीका कारण पुल निर्माणमा ढिलाई भएको स्थानीय धनसिंह कार्कीको गुनासो छ।
फेरि थपियो म्याद
विभिन्न कारणले निर्माणमा ढिलाई भएका यी दुई पुल निर्माण कार्य यो आर्थिक वर्षभित्र पूरा गर्ने योजना रहेको दार्चुला-तिंकर सडकका इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए। निर्माण व्यावसायीहरूलाई पटकपटक पत्राचार नै गरेर पुल निर्माण गर्न ताकेता गरेको भए पनि तोकिएको समयमा पुल निर्माण हुन नसकेको उनी बताउँछन। ‘यो आर्थिक वर्षमा जसरी पनि पुल निर्माण कार्य सक्ने भनेका छौँ, यो पटक निर्माण व्यावसायीले ढिला गर्ने छैनन’, रैखोलाले भने।
चालु आर्थिक वर्षमा तीनदेखि ११ प्रतिशत मात्रै भौतिक प्रगति भएका यी पुलहरूमध्ये निजाङ पुलको हालै ढलान राख्ने काम सकिएको भएपनि लास्कु खेला पुलको भने खोला वारिपारीका पिल्लर राख्ने बाहेक केही काम भएको छैन। गत आर्थिक वर्षमा निजाङ पुलको भौतिक प्रगति ४८ प्रतिशत थियो भने लास्कु खोला पुलको प्रगति करिब ४३ प्रतिशत मात्रै रहेको थियो। यो ८ महिनाको अवधिमा निजाङ पुलको प्रगति ५० र लास्कु खोला पुलको प्रगति ५५ प्रतिशत पुगेको रैखोलाको भनाइ छ। ‘हालै निजाङ पुलमा ढलान गरिएको छ, यसको हिसाब भएपछि प्रगति बढेको देखिने छ’, उनले भने।
किन ढिलाई भयो? थाहै छैन
निर्माण सम्पन्न गर्न थपिएको म्यादभन्दा पनि समय सीमा ८ महिना बढि भइसक्दा पनि ५० प्रतिशत मात्रै निर्माण भएका यी पुल निर्माण ढिलाईका कारण प्रष्ट हुन सकेका छैनन।
दार्चुला-तिंकर सडक कार्यालयले निर्माण सामग्री तथा दक्ष कामदारको व्यवस्थापनमा समय लाग्नु र २०७० सालमा महाकाली नदीमा आएको बाढीलाई कारण बताएको छ। निर्माण व्यावसायी महेशसिंह धामीकाअनुसार पुलको मोडेल नयाँ भएको तथा साँचो भारतबाट मगाउनुपर्ने भएकाले ढिलाई भएको हो।
कार्यालयले एउटा कारण देखाउने र निर्माण व्यावसायीहरूले अर्को कारण देखाई पुल निर्माणमा ढिलाई गरेकोप्रति भने स्थानीयको गम्भीर असन्तुष्टि छ। ‘पुल निर्माणमा ढिलाई भएको सबैले देखेका छन्, सरोकारवाला निकायले गम्भीर भएर निर्माण कार्य पूरा गर्नुको विकल्प छैन’, महाकाली नगरपालिका १ का अध्यक्ष कल्यानसिह कुवँरले भने।
पुल निर्माण ढिलाईको प्रभाव
सदरमुकाम उत्तरमा पर्ने भुगोल जोड्ने यी पुल निर्माण सम्पन्न हुन नसक्दा वर्षायाममा दुहुँ र व्यास गाउँपालिकाका स्थानीयको जनजीवन प्रभावित हुने गरेको छ। महाकाली नगरपालिका १, दुहुँ गाउँपालिकाका सबै वडाहरू र व्याँस गाउँपालिकाको दक्षिणी क्षेत्रका नागरिकलाई यी पुल बन्न नसक्दा प्रत्यक्ष प्रभाव पर्ने दुहुँ गाउँपालिका ३ का देवबहादुर बमले बताए।
पुल नबन्दा स्थानीय मात्रै प्रभावित हुने नभई दार्चुला-तिंकर सडकको ट्र्याक खोल्ने कामसमेत प्रभावित हुने दार्चुला-तिंकर सडक कार्यालयका इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए। पुल नहुँदा निर्माण व्यावसायीहरूलाई सरसमान ढुवानी गर्न समस्या हुनेहुँदा सडक निर्माण कार्य पनि प्रभावित हुने उनको भनाइ छ।
पढ्नुहोस्ः
तपाईंको ईमेल गोप्य राखिनेछ ।