|

भद्रपुर, (झापा) : शुक्रबारको दिन घडीमा दिउँसोको १२ बज्दै थियो, झापामा संसद बैठक बस्ने कार्यक्रम निश्चित भएपछि जनप्रतिनिधि, कर्मचारी, शिक्षक र पत्रकार भद्रपुरस्थित जिल्ला समन्वय समिति झापाको कार्यालयतर्फ प्रस्थान गरिरहेका थिए।

झापामै पहिलो पटक बस्न लागेको संसद बैठकमा राष्ट्रपति, उप–राष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्रीसहित अन्य मन्त्री र प्रतिपक्ष दलका नेताहरू आउने भएपछि सबै उनीहरूकै प्रतीक्षामा थिए। झापामै प्रत्यक्ष संसद बैठक हेर्न पाइने भएपछि सहभागिहरू जिससको सभाहलभित्र पस्न थाले। व्यवस्थापनको पाटोमा करिब ४५ मिनेट बितिसक्यो। दिउँसो १२ बजेर ४५ मिनेटमा संसद हलभित्र राष्ट्रपति, उप–राष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्री प्रवेश गरे। उनीहरूसँगै अंग रक्षक र मर्यादा पालक पनि हलभित्र प्रवेश गरे।

देशका विशिष्ट व्यक्तिहरू संसद हलमा प्रवेश गरेलगतै राष्ट्रिय गीत बज्यो, सहभागीहरू उठेर राष्ट्रिय गीतलाई सम्मान गरे। त्यसपछि राष्ट्रपतिले उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्रीलाई शपथ खुवाए। त्यसको १५ मिनेट पछाडि झापामा शुरु भयो युवा सरकारको संसद बैठक। यो संसदीय बैठकको अभ्यास सरकारकै नीति तथा कार्यक्रमअनुसार सञ्चालन गरिएको हो। भद्रपुर नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले नगरका ४७ जना युवायुवतीहरू सम्मिलित गरी युवा संसद गठन गरेका थिए।

उनीहरूलाई राज्यसञ्चालनका शासकीय संरचनाअनुसार व्यवस्थापिका र कार्यपालिका अन्तर्गतका संसद, सरकार गठन, सत्तापक्ष–प्रतिपक्षको भूमिका निर्वाहका लागि उनीहरूलाई चारदिनको अभ्यास दिइयो। सोही अभ्यासबमोजिम नेपालमै पहिलो पटक झापाको भद्रपुरमा युवा सरकारको संसद बैठक चल्यो। युवा सरकारको संसद बैठकमा नेपालको संविधान २०७२ को विधिअनुसार नमूना संसदको काम कारवाही अघि बढाइएको थियो।

बहुमत प्राप्त समूहबाटै राष्ट्रपतिमा रिजु आचार्य चयन भएकी थिइन्। राष्ट्रपति आचार्यले उपराष्ट्रपतिमा शितल बस्नेत, सभामुखमा जयन्ती सुवेदी, उपसभामुख सुशील पोखरेल र प्रधानमन्त्री सरोज ढकाललाई सपत खुवाएका थिए। प्रधानमन्त्री ढकालले अन्य मन्त्रीहरूलाई सपत खुवाएका थिए। सभामुख सुवेदीले संसदीय व्यवस्था अनुसार संसद बैठक शुरु भएको घोषणा गरे।

उनले बैठकमा अर्थमन्त्री प्रविन लुइटेलले चालु आर्थिक बर्षको बजेट सार्वजनिक, गृहमन्त्री मनोहर गौतमबाट सुरक्षा नीति पेश गर्ने, उद्योग तथा रोजगार मन्त्री प्रेमा श्रेष्ठबाट रोजगार नीति पेश गर्ने, महिला तथा बालबालिका मन्त्री काजल सारु मगरबाट लैगिक हिंसा न्युनिकरण नीति पेश गर्ने, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अनिल प्रधानबाट शिक्षा नीति पेश गर्ने सुनाइन्। मन्त्रीहरूले समयको पावनधिनलाई मध्यनजर गर्दै आफ्नो नीति तथा योजना सुनाए।

करिब साढे दुई घण्टासम्म चलेको युवा संसदमा मन्त्रीहरूले राखेको नीति तथा कार्यक्रममाथि प्रतिपक्षका नेताहरूले देशको वर्तमान अवस्थाको बारेमा केही आवाज उठाएका थिए। प्रतिपक्षले निर्मला हत्या प्रकरण, बढ्दो हिसां तथा बलात्कारका घटना, देशको राजनीतिक द्धन्द्ध र हिंसा, वेरोजगारी, अलपत्र विकास निर्माण जस्ता बिषयमा आवाज उठाए। प्रतिपक्षका नेता सरोज पाण्डेले युवा सरकारले जनताको पक्षको काम गर्न नसकेको उठाएको प्रश्नमाथि प्रधानमन्त्री ढकालले युवा सरकार जनताकै हित र चाहना बमोजिम काम गरिरहेको बताउँदै बहुमतको सरकार आम नेपाली जनताका चाहना पूरा गरेरै छाडने तर्क राखे।

स्थानीय तहमा सक्षम जनशक्ति पुर्‍याउने लक्ष्य

यता भविष्यमा नेतृत्व तहमा सक्षम जनशक्ति पुर्‍याने लक्ष्यका साथ राष्ट्रिय युवा परिषदले सदरमुकाम रहेका स्थानीय तहहरूमा युवावर्गको सशक्तिकरण अनि सामाजिक, राजनीतिक, शैक्षिक मूल प्रवाहीकरणमा उनीहरूको सहभागिता खोज्न यसप्रकारको नमूना कार्यक्रम सञ्चालनमा ल्याएको हो।

सोहीअनुसार भद्रपुर नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले त्यसप्रकारको जनशक्ति तयार गर्न नगरभित्रका युवाहरूलाई नमूना युवा संसद स्थापना र सञ्चालन अभ्यास गराइएको शिक्षा शाखा प्रमुख दिनेशकुमार न्यौपानेले जानकारी दिए। सरकारले ७७ वटै जिल्लाको सदरमुकाममा यसबर्षदेखि यो कार्यक्रम लागु गरेको शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले बताए। यो कार्यक्रममा झापामै पहिलो पटक सञ्चालनमा आएको उनको भनाई छ।

गत आइतबारदेखि मंगलबारसम्म उनीहरूलाई युवा अवस्था, विश्लेषण, युथ भिजन, युवा नीति, युवा संसदमा उठान हुने विषय, प्रश्नोत्तर तयारी, नेतृत्व विकास तथा उत्प्रेरणा, युवा संसद परिचय र महत्व, नेतृत्व चयन तथा पदीय जिम्मेवारी बाँडफाँड, युवाका सरोकार विधिसम्बन्धी प्रशिक्षकहरू युवा समिति झापाका अध्यक्ष छवि चूडाल, योगेन्द्र पौडेल, कानुन व्यवसायी टंक दंगाल र राजकुमार कट्टेल, स्रोतव्यक्ति प्रेम भुजेलले प्रशिक्षण दिएका थिए।

भद्रपुर नगरपालिकाका नगर प्रमुख युवा नै भविष्यको राज्य सञ्चालक हुने भएकोले उनीहरूलाई राज्य व्यवस्थाका सबै विधिबारे जानकारी भइराख्न आवश्यक रहेको उल्लेख गरे।  नमूना संसद स्थापना कार्यक्रमले नेपालको संविधान अनुसार रहेको शासकीय शैली बारे प्रत्यक्ष अनुभव लिन सहभागी सफल हुने उनले प्रस्टाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.