|

बुटवल : बुटवल–१ गढीटोलमा बुधबार राति भएको गोलीकाण्डमा भारतीय मजदुर फिरोज खानको हत्यापछि अटो मजदुर त्रसित बनेका छन्।

खानलाई बुधबार अज्ञात समूहले गोलीहानी हत्या गरेपछि आफूहरूले असुरक्षित महसुस उनीहरूले बताएका छन्। मजदुरले बिहीबार इलाका प्रहरी कार्यालय बुटवलसमक्ष सुरक्षा प्रत्याभूतिको माग गर्दै केही समय प्रदर्शन पनि गरे।

गोली लागी घाइते भएका खानको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। खानले नमुना अटोभिलेजको रूपमा चिनिने मैनाबगरको ज्योति डेन्टिङ-पेन्टिङ वर्कसपमा पेण्टिङको काम गर्थे। वर्कसपमा काम गर्ने मजदुरको  हत्याभएपछि व्यवसायीले सुरक्षाको माग गरेका हुन्।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष सन्तोष पाण्डेले हत्यारालाई पक्राउ गर्न माग गरे। उनले भविष्यमा यस्ता घटनाहरूलाई दोहोरिन नदिन अटोभिलेजमा निरन्तर गस्ती टोली खटाउन पनि सुरक्षा निकायसमक्ष माग गरे। ‘एक मजदुरको हत्या भएको छ। अहिले हामीलाई सुरक्षाको प्रत्याभूति चाहिएको छ’ उनले भने।

मृतकको शवको पोष्टमर्टम गरिसकिएको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्ली मल्लले घटनाको विस्तृत अध्ययन भइरहेको बताए। ‘हामीले घटनाको सुक्ष्म अध्ययन गरेका छौँ। केही दिनमा नै अपराधीलाई हिरासतमा लिने गरेर अनुसन्धान अगाडि बढाएका छौँ', उनले भने।

खानलाई घरबाहिर बोलाइ कटुवा पेस्तोलको प्रयोग गरेर हत्या गरिएको प्रहरीले बताएको छ। ४५ वर्षीय मृतक खान भारतको बिहार राज्यस्थित बेतियाका नागरिक हुन्। उनी एक श्रीमती तथा १० र ९ वर्षीय दुई छोरासहित विगत ३७ बर्षदेखि बुटवलमा बस्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.