सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको कडा निर्देशनपछि पर्यटकबाट होटल एसोसियसनको नाममा लिईने शुल्क बन्द गरिएको छ। एसोसियसनको नाममा गैरकानुनी ढंगबाट शुल्क लिने जोकोहीलाई पक्राउ गर्न आदेश जारी भएपछि कोठा भाडाबापतको शुल्क होटलसञ्चालक आफैँले लिने भएका हुन्।
होटल व्यवसायीहरुको आग्रहमा शुल्क उठाएको दाबी गर्ने एसोसियसनले अबदेखि कुनै पनि शुल्क नलिने खुम्बुपासाङल्हामु गाउँपालिका प्रमुख ङिमदोर्जी शेर्पाले जानकारी दिए। होटल एसोसिएसनको विधानमा समेत यस्ता कुनै पनि शुल्क लिने विषयमा स्पष्ट उल्लेख भएको छैन।
उनका अनुसार अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नको लागि एसोसियसन खडा गरी कोठा भाडा लिने र महिनाको अन्तिम दिन सम्पूर्ण व्यवसायी जम्मा भई बाँडफाँड गरिन्थ्यो। पाँच वडा रहेको गाउँपालिकामा-१ बाहेक अन्य सबै वडामा चारवटा होटल एसोसिएसन सञ्चालनमा रहेका छन्। गत वर्षदेखि नै उनीहरूले सामान्य कोठाको ५०० र एजेटबाथरुम सहितको कोठाको एक हजार भाडा लिने गरेका छन्। उक्त कार्यको लागि गाउँपालिकाको समेत संलग्नता रहेको आरोप छ।
'एसोसियसन गाउँपालिकामा मात्र होइन जिल्ला प्रशासन कार्यालयमानै दर्ता भएको छ।' गाउँपालिका प्रमुख ङिमदोर्जीले भने, 'उनीहरुलाई शुल्क लिने नलिने भन्ने बारेमा हामीले केही पनि अनुमति दिएका छैनौँ।'
कुनै पनि संघसंस्थाले कोठा भाडा या विभिन्न बहानामा जोकोहीसँग रकम लिनु गैरकानुनी कार्य भएको भन्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले त्यस्तो पाइए तत्काल पक्राउ गर्न आदेश दिएका थिए। पर्यटकबाट व्यापक गुनासो आएपछि एसोसियसनसँग वास्तविक बुझ्नको लागि अघिल्लो शुक्रबार नै एक हप्ताको अल्टिमेटमसहित प्रशासनले पत्रचारनै गरी बेलाएको थियो। तर कोही पनि सम्पर्कमा नआएपछि तत्काल पक्राउ गर्न आदेश जारी गरिएकै दिनदेखि उक्त कार्य बन्द गरी होटल सञ्चालक आफैँले लिने बताइएको छ।
खुम्बुक्षेत्रमा दुई हजारसम्म पर्यटक अट्ने होटल संचालनमा रहेको बताइन्छ। होटल प्रशस्त भए पनि पर्यटक कमी हुँदा होटल सञ्चालकले ग्राहक तान्नको लागि अस्वस्थ प्रतिस्पर्धा भएपछि व्यवसायनै धरापमा परेको व्यवसायीले बताउने गरेको गाउँपालिका प्रवक्त लाक्पा छिरी शेर्पाको भनाइ छ। शेर्पाले भने, 'स्वस्थ प्रतिस्पर्धा गराउँदै गैरकानुनी कार्यको अन्त्य हुनुपर्छ, त्यसमा गाउँपालिकाको भूमिका रहन्छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।