|

पोखरा : आफू उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेको सरकारलाई उपेन्द्र यादवले संविधान संशाेधन नगरे सडक तताउने चेतावनी दिएका छन्। नयाँ शक्ति नेपाल पार्टी र संघीय समाजवादी फोरम बैशाख २३ गते एकीकरण भएपछि पहिलो पटक पोखरामा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो चेतावनी दिएका हुन्।

मन्त्री यादवले संविधान संशाेधन गर्ने सहमतिपछि मात्रै सरकारमा सहभागी भएको बताए। उनले भने, ‘हाम्रो संघर्ष, संसदको माध्यमबाट हो। अहिलेको संविधानमा धेरै विकृति र विसंगति छ। त्रुटिहरू छन्। कमी कम्जोरी छ। यसलाई संशाेधनको माध्यमबाट सच्याउन सुधार्न। सुधार्छु भन्या छ। सहमति सम्झौता भएको छ।संशाेधन गरेर संविधान सच्याउनुपर्छ। त्यस आधारमा हामीले सरकारमा सहभागी भएका हौँ।’ 

उनले आफ्नो पार्टी सामेल भएरै दुई तिहाइको सरकार बनेको भन्दै संविधान संशाेधन गर्ने सही समय आएको पनि बताए। ‘हामी सामेल भएरै सरकारलाई दुई तिहाइ पुर्‍याएको संविधान संशाेधन गर्नका लागि नै हो। अब त्यो सहमति र सम्झौता कार्यान्वयन गर्ने बेला आएको छ। त्यसमा अगाडि बढ्नुपर्छ। आफूले गरेको बचन आफूले गरेको हस्ताक्षर र प्रतिवद्धतामा उभिनुपर्छ। फेरि आफैँले दिएको बचन, गरेको प्रतिवद्धता गरेको सम्झौतामा उभिँदैनन् भने जनताले के भन्ने त्यसलाई त्यो पनि समय आउँदै छ।’

संविधान संशाेधन गरी सच्याउन र पाएको अधिकारका लागि रक्षा गर्न सरकारमा गएको उनको भनाई थियो। ‘संविधान संशाेधन गरे हाम्रो साथ छ। भएन भने गर्दै गरेन भने हामी फेरि दोस्रो बाटो प्रयोग गर्छौं’, उनले भने, ‘अहिलेको पहिलो बाटो हो। दोस्रो बाटो भनेको सडक संघर्षको बाटो हो। सडक संघर्षको बाटो नै हाम्रो मुख्य बाटो हो। यसमा कोही भ्रममा नपरौँ।’ 

‘आर्थिक नीति सही छैन’

त्यस्तै मन्त्री यादवले अहिलेको नेपालको आर्थिक नीति सही नभएको तर्क गरे। उनले भने, ‘अहिलेको हाम्रो आर्थिक नीति नै गलत छ। यसले जनतालाई दरिद्रता बाहेक केही बनाउँदैन। केही मान्छे सधैँ गरिब भइरहने धनी मान्छे कमाको कमै गरिरहने आर्थिक नीति परिमार्जन हुनुपर्छ।’ 

विचार मिल्नेहरूसँग एकता 

भर्खरै नयाँ शक्ति नेपाल पार्टीसँग पार्टी एकता गरेको यादवले विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक शक्तिहरूसँग एकता गर्ने बताए। ‘दुई पार्टीको एकता भयो यो यात्रा हो’, उनले भने, ‘विचार र राजनीतिक सिद्धान्त मिल्नेहरू जो कोहीसँग एकता हुन्छ।’ उनले राजपातर्फ संकेत गर्दै राजनीतिक विचार मिल्नेहरूसँग छलफल र गृह कार्य भइरहेको समेत बताए।

नागरिकता ऐन संशाेधन गरौँ 

अहिलेको नागरिकता ऐन फन्टुस र जाली झेँली रहेको उपेन्द्रको आरोप छ। ‘यस्तो फन्टुस र जाली झेँली नागरिकता ऐन संशाेधन गर्नैपर्छ। नेपालीको सन्तानले नागरिकता पाउनैपर्छ’, ‘तराइको विषय कोट्याउँदै उनले भने, ‘हाम्रोतिर वारि पारि विवाह गर्ने चलन छ। बाउ नेपाली नागरिक, आमाले पनि त्यही आधारमा नागरिकता पाउँछ। छोराले पाउँदैन। यहाँको नागरिक नभए कहाँको नागरिक त? यो संस्कारको अन्त्य हुनुपर्छ। नेपाली नागरिकका सन्तान नेपाली नागरिक नै हुन्। कोही पनि नेपाली नागरिकताविहीन हुनु हुँदैन। राष्ट्रियताविना कोही पनि रहन सक्दैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.