|

भद्रपुर, (झापा) :भारत हुँदै तेस्रो मुलुक जान लागेका दुई महिलालाई भद्रपुर विमानस्थलबाट उद्धार गरिएको छ । उद्धार गरिएका दुवै महिलालाई शनिवार परिवारको जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उद्धार गरिएका महिलामा गोरखा नगरपालिका–४ बस्ने पूजा राणामगर र दोलखा साविक जिरी गाविस–७ बस्ने देवी तामाङ शेर्मा रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । महिलाद्वयसँग राहदानी थिएन भने नागरिकता फेला परेको थियो । 

प्रहरीका अनुसार काठमाडौंबाट श्री एयरको जहाज चढेर शक्रुवार दिउँसो साढे ४ बजे दुवै महिला भद्रपुर विमानस्थल आएका थिए । 

झापामा आएका ती महिलालाई विश्व सेवा विस्तार संस्थाका बोर्डर इञ्चार्ज कृष्ण श्रेष्ठले शंका लागेर सोधपुछ गरेका थिए । सोधपुछका क्रममा उनीहरुले इलाम घुम्न आएको बताए । काँकडभिट्टाका दुर्गा श्रेष्ठले बोलाएर झापा आएको उनीहरुले बयान दिएका छन्।

विमानस्थलबाटै तीमध्ये एक महिलाले श्रेष्ठलाई फोन गर्दा काकँडभिट्टा बोलाए। श्रेष्ठ र महिलाबीचको कुराकानी एकापसमा नमिलेपछि विश्व सेवा विस्तार संस्थाका इञ्चार्ज श्रेष्ठले दुवैलाई वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाएका थिए । 

वडा प्रहरीले आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालय झापा पठायो । प्रहरी अनुसन्धानका क्रममा ती दुवै महिलाले सम्बन्धविच्छेद गरिसकेको खुलेको छ । 

तामाङ यसअघि वैदेशिक रोजगारीबाट फर्किसकेकी हुन् । राणामगर पहिलो पटक वैदेशिक रोजगारीमा जान तामाङसँग झापाको बाटो हुँदै आएको खुलेको हो । महिलालाई बोलाउने श्रेष्ठ मोबाइल बन्द गरी सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.