एक रुपैयाँको सामान बेच्दा १०० को किन्नुपर्ने बाध्यता
एक रुपैयाँको सामान बेच्दा १०० को किन्नुपर्ने बाध्यता
काठमाडौं : भारतपछि नेपालको सबैभन्दा बढी व्यापार हुने राष्ट्रमा अर्को छिमेकी देश चीन पर्छ। आयात व्यापारमा पनि भारतपछि चीन रहेको छ। तर, निर्यात व्यापारलाई हेर्ने हो भने भारत, अमेरिका, जर्मनी, टर्की र बेलायतपछि मात्रै चीन रहेको छ। चीन नेपालले धेरै आयात गर्ने राष्ट्रमध्ये दोस्रो ठूलो राष्ट्र भए पनि निर्यातमा भने छैटौँ नम्बरमा छ।
प्रत्येक वर्ष चीनसँगको आयात व्यापार बढे पनि निर्यात व्यापार बढ्न सकको छैन। फलस्वरूप चीन नेपालको दोहोरो व्यापार हुने राष्ट्रमध्ये सबैभन्दा बढी व्यापार असन्तुलन रहेको राष्ट्रमा पर्छ। चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकलाई हेर्ने हो भने नेपालले १५६ राष्ट्रसँग व्यापार गरेको छ। १५६ राष्ट्रमध्ये भारत र चीनसँग ७८ प्रतिशत व्यापार भएको छ।
लामो समयदेखि भारतमा निर्यात र आयातको व्यापार वृद्धिदर समान देखिए पनि चीनसँगको अवस्था भने त्यस्तो छैन। आर्थिक वर्ष २०७१/७२ मा नेपालले चीनसँग एक खर्ब एक अर्ब रुपैयाँको व्यापार गरकोमा निर्यात व्यापारको योगदना दुई प्रतिशत अर्थात् दुई अर्ब ६ करोड रुपैयाँको रहेको थियो।
आर्थिक वर्ष २०७४/७५ मा चीनसँगको व्यापारमा निर्यातको योगदान डेढ प्रतिशतमा झर्यो। एक खर्ब ६२ अर्बौं व्यापारमा दुई अर्ब ४३ करोड रुपैयाँको मात्रै निर्यात भयो। सोही समयमा भारतसँग गरिएको व्यापारमा निर्यातको योगदान भने साढे पाँच प्रतिश रह्यो।
चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांक केलाउने हो भने चीनसँगको व्यापारमा निर्यातको योगदान १ प्रतिशतमा झरेको छ। ११ महिनाको अवधिमा चीनबाट एक खर्ब ८६ अर्ब रुपैयाँको सामान आयात हुँदा एक अर्ब ९६ करोड रुपैयाँको मात्रै निर्यात भयो। सोही समयमा भारतसँगको व्यापारमा निर्यातको योगदान साढे ६ प्रतिशत पुगेको देखिएको छ।
अन्तर्राष्ट्रिय व्यापारमा नेपालबाट एक रुपैयाँको सामान बिक्री हुँदा १६ रुपैयाँ बराबरको आयात हुने गरे पनि चीनमा भने नेपालले एक रुपैयाँ सामान बिक्री गरेर चीनबाट १०० रुपैयाँको सामान किनेको छ। जबकि नेपालको जम्मा व्यापारमा ६३ प्रतिशत ओगटेको भारतमा एक रुपैयाँको सामान बेच्दा १४ रुपैयाँको सामान किन्नुपर्ने हुन्छ। यी दुई तथ्यांकले दुई छिमेकी देशसँगको व्यापार असन्तुलनको अवस्था कस्तो छ भन्ने तथ्यांक देखाउँछ।
किन बढ्यो चीनसँगको असन्तुलन
२०७२ सालमा भारतीय नाकाबन्दीको पीडा खेपेपछि नेपालले चीनसँगको व्यापार बढाएको थियो। तर, त्यसले निरन्तरता पाउन सकेको छैन। आयातित व्यापारमा केही सुधार भए पनि निर्यात भने खस्केको छ। निर्यात खस्कनुमा पहुँच बढ्न नसक्नु, कमजोर प्रतिस्पर्धा र गुणस्तरीय सामान दिन नसक्नु देखिएको छ।
प्रतिस्पर्धी बजार हुन नसक्नुनै मुख्य कारण भएको व्यापारीहरूको दाबी छ। 'अत्याधुनिक प्रविधि र त्यहाँको सरकारले दिने छुटसँग हाम्रो सामानले प्रतिस्पर्धा गर्न सकेको छैन’ चीनसँग लामो समयदेखि व्यापार गरेका व्यापारी हेम शाक्य भन्छन्, ‘व्यवसायीले भने छुट सहुलियत माग्यो भने अहिलेसम्म दिएको छुटबापत कति निर्यात बढायौँ भन्ने कुरा आउँछ तर प्रतिस्पर्धा गर्नसक्ने गरी छुट छैन।’
चीन नेपाल व्यापार | |||
वर्ष | आयात | निर्यात | व्यापारमा निर्यात योगदान(%) |
२०७०/७१ | एक खर्ब १६ अर्ब ११ करोड | एक अर्ब ९६ करोड४९ लाख | २ प्रतिशत |
२०७४/७५ | एक खर्ब ५९ अर्ब ९८ करोड | दुई अर्ब ४३ करोड ७७ लाख | १.५ प्रतिशत |
२०७५/७६ को ११ महिना | एक खर्ब ८६ अर्ब ६० करोड | एक अर्ब ९६ अर्ब ४९ लाख | १ प्रतिशत |
त्यस्तै, छिमेकी देश नेपालले व्यापारमा हुने समस्या हटाउन तत्काल पहल गर्ने र नेपाल सरकारबाट सम्बोधन हुने भए पनि नेपाली उद्योगी व्यापारीको समस्यामा सरकारले पहल नगरिदिने गरेको व्यवसायीको गुनासो छ।
चीनसँगको व्यापारमा अहिले पनि सिधा पहुँचको समेत समस्या भएको व्यापारीहरूको गुनासो छ। नेपालमा भने चिनियाँ बजार बढ्दै गए पनि चीनमा नेपाली सामान पठाउन सकिएको छैन। चीनमा सामान पठाउन सहज मानिने तातोपानी नाका बन्द भएपछि त्यसको प्रभाव थप परेको देखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।