|

डडेल्धुरा : डडेल्धुराको आधा जनसंख्या रहेको भित्रमधेस जोड्न सडक कालोपत्रे गर्न लागिएको छ। डोटीको बुडरदेखि छुटिएको बुडर–जोगबुढा सडक निर्माण सुरु भएको तीन दशकपछि कालोपत्रे गर्ने काम सुरु भएको हो। यो सडक डडेल्धुरा जिल्लाको पहिलो ग्रामिण सडक पनि हो।

डोटी बुडरदेखि भित्रिमधे जोगबुढाको मुकाम लालढुङ्गासम्मको ३० किलोमिटर सडकमा कालोपत्रेको काम थालिएको हो। पूर्वाधार विकास कार्यालय डडेल्धुराको करिब ५२ करोड रुपैयाँको लागतमा सडक कालोपत्रे गर्ने काम थालिएको हो।

हाल सडक चौडा गर्ने र पर्खाल लगाउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। सीएसटी प्रविधिमा सडक कालोपत्रे भइरहेको छ। सडक कालोपत्रे भएपछि भित्रीमधेस परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका साथै भागेश्वर गाउँपालिकाकाका वडा नम्बर १ र २ का गाउँका स्थानीय लाभान्वित हुने परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए।

खोलामा पुल निर्माण नहुँदा वर्षाको समयमा यात्रुलाई असजिलो हुने भएकाले पुल निर्माण गर्न पहल गरिरहेको उनको भनाइ छ। जिल्लाको आधा जनसंख्या करिब ५० हजार रहेको भित्री मधेस क्षेत्रको प्रमुख सडकका रुपमा रहेको यो सडक कालोपत्रे भएपछि बाह्रै महिना सहज रूपमा यातायात सञ्चालन हुने आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए। स्थानीय उत्पादनलाई सहज रूपमा अन्यन्त्र पठाउन पनि सहज हुने स्थानीयको भनाइ छ।

सडक कालो पत्रे एवं खोलामा पुल नहुदा बर्षातमा सवारीका साधन सञ्चालनमा कठिनाई हुँदा यस क्षेत्रका स्थानीयले सास्ति खेप्दै आएको छन्। बुडर–जोगबुढा सडकको सडक अवरुद्ध हुने सुनखोलामा दुई वर्ष पहिले मोटरेवल पुल निर्माण भएपछि सवारी साधन सञ्चालनमा केही सहजता भएको छ।

चुरेको फेद भएर जोडबुढा जोड्ने उक्त सडक खण्डमा खहरेसहित आधा दर्जन खोला पर्दछन्। वर्षातमा सडक अवरुद्ध हुने मूख्य खोलाहरुमा पुल निर्माणका लागि पहल थालिएको जनप्रतिनिधिको भनाइ छ ।

भित्रिमधेश क्षेत्र खाद्यान्न उत्पादन संगै धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको धनि छ। भित्रिमधेशको परशुराम नगरपालिकाको महाकाली नदी किनारमा परशुरामधाम,  पन्तुरा नदी किनारमा शैलेश श्रृंखला शिव लिङ्गलगायत दजनौँ मठ मन्दिर रहेका छन् भने आलिताल गाउँपालिकामा सुदूरपश्चिमका पहाडी जिल्लाकै ठूलो ताल ‘आलिताल’ रहेको छ।

मौरी पालनका लागि पनि आलिताल प्रख्यात छ। सडक कालोपत्रे भएसंगै पर्यटकीय सम्भावना संगै कृषि पशुका उपज बस्तुले सजिलै बजार पाउने स्थानीयवासीको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.