तटीय क्षेत्रका घरपरिवार उच्च जोखिममा

|

भद्रपुर, (झापा) : तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ। वर्षाले झापाका नदी तथा खोलामा पानीको सतह बढेपछि शनिबार बेलुकासम्म जिल्लामा दुई बालकको मृत्यु भइसकेको छ भने खोलाले बगाउँदा एकजना बेपत्ता भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ जानकारी दिए।

मृत्यु हुनेमा दमक नगरपालिका १० स्थित भालुखोलाको कल्भर्टमा खेल्ने क्रममा बगाउँदा मृत्यु हुनेमा दमक नगरपालिका १० बस्ने मामा लोकेन्द्र भण्डारीको घरमा बस्दै आइरहेकी सङ्खुवासभा चैनपुर नगरपालिका ७ फलाटे बस्ने पुनम न्यौपानेको छोरी एलिजा न्यौपानेको शुक्रबार मृत्यु भएको हो।

त्यस्तै शनिबार शिवसताक्षी ५ सालमारास्थित बनियानी खोलामा खेल्ने क्रममा उनलाई खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका १० स्थित सानडाँडा बस्ने देवीप्रसाद चापागाईँको ९ वर्षीय छोरा सौगात चापागाईँको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।

यता शुक्रबार दिउँसो भद्रपुर नगरपालिका ९ प्रणामी नगर फुलबासास्थित हडिया खोला तर्ने क्रममा मेचीनगर १४ स्थित दुवागढी बस्ने ४५ वर्षीय सुकुल हाँस्दा बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

चार घरपरिवार उच्च जोखिममा, सय बढी जलमग्न

प्रहरी कार्यालय झापाका अनुसार कनकाई नदीले तटीय क्षेत्र कटान गर्न थालेपछि शिवसताक्षी नगरपालिका १० स्थित नयाँबस्तीका चार घरपरिवार उच्च जोखिमका रहेको छ। श्रवण ऋषिदेव, दिलीप ऋषिदेव, रोशन ऋषिदेव र खड्गबहादुर तामाङको घर उच्च जोखिममा रहेको पाइएको छ। जोखिममा रहेका चारै घरपरिवारलाई सुरक्षित स्थानमा गएर बस्ने प्रहरीले निर्देशन दिइसकेको जनाइएको छ। 

उता झापा गाउँपालिका ५ र ६ को चन्द्राबस्ती र राधाबस्तीमा विरिङ नदीको पानी पसेपछि १०१ घरपरिवार शुक्रवार जलमग्न भएको थियो। प्रभावित भएका घरपरिवारलाई शरणामी रेडक्रस उपशाखा र वडा कार्यालयले खाद्यान्न सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जानकारी दिए। त्यस्तै गौरादह नगरपालिका ५ स्थित जनता मावि बालुवथान पश्चिम टोलमा रतुवा खोला र चन्दु खोलाको पानी गाउँमा पस्दा ३० घर जलमग्न भएको जनाइएको छ।

 

प्रजिअ दाहालद्धारा खोलाहरूको स्थलगत अनुगमनमा

झापाका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष जनकराज दाहालले बाढी तथा डुबानको उच्च जोखिममा रहेका खोलाहरूको शनिबार स्थलगत अनुगमन गरेका छन्। प्रजिअ दाहालसहित सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, झापा उद्योग बाणिन्य सघंका महासचिव पंकजकुमार शर्मा लगायतको टोलीले खोलाहरूको अनुगमन गर्दै बाढी र डुबानको अवस्था बुझेका थिए।

अनुगमन टोली मेची, हडिया, निन्दा, कनकाई, विरिङ, मावा, कमल, रतुवा खोलाबाट जोखिममा रहेका क्षेत्रहरूमा पुगेका थिए। झापामा खोलाहरूको अवस्था हेर्दा कनकाई र विरिङ नदीले तटीय क्षेत्रहरू कटान सुरु गरेको छ, प्रजिअ दाहालले भने,‘सो क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा गएर बस्न निर्देशन दिइसकेका छौं।’

'अहिलेसम्म झापामा बाढीको प्रकोप खासै देखिएको छैन। पानी पर्ने सम्भावना अझै रहेकोले खोला आसपासका गाउँका बासिन्दालाई सतर्कता अपाउन स्थानीय तहमार्फत जानकारी गराइसकेका छौं' उनले भने।

बाढीको जोखिममा रहेका घरपरिवारलाई हटाउन स्थानीय प्रहरीलाई समेत निर्देशन दिइसकेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। झापामा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको जानकारी गराउँदै उनले भने,‘बाढीको जोखिममा रहेका स्थानीय तहका लागि सुरक्षाकर्मी हाइअलटमा राखिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.