|

बैतडी : जिल्लाकाे सुर्नया गाउँपालिकाले केन्द्र तोकिएको ठाउँमा रौलेश्वरमा काम नगरेर सम्पर्क कार्यालय सतबाँझबाट काम सम्पादन गर्न थालेपछि गाउँपालिकाबासीलाई अप्ठ्यारो भएको छ।

गाउँमा सिंहदरबार आएको भनिए पनि आफूहरूले निकै समस्या खेप्नु परेको स्थानीय गणेशदत्त अवस्थीले जानकारी दिए। गाउँकार्यपालिकाले केन्द्रमै काम गर्ने निर्णय गरिसक्दा समेत कर्मचारीले नमानेका कारण सतबाँझबाटै कार्य सम्पादन गर्नुपर्ने बाध्यता आएको स्राेतले जनाएको छ। 

सुर्नया गाउँपालिकाले गाउँपालिकाको केन्द्र रौलेश्वरमा दुईवटा भवन भाडा लिएको छ भने रौलेश्वर माविको भवन समेत प्रयोग गरिरहेको छ। अहिले ती भवनहरूमा ताल्चा ठोकेर सतबाँझबाट काम भइरहेको हो। गाउँपालिकाको काम सतबाँझबाट हुँदा आफूहरूलाई निकै समस्या भएको सुर्नया गाउँपालिका ८ कमल साउदले बताए। कठमाडाबाट सतबाँझ पुग्दा निकै दुःख हुने गरेको उनको भनाई छ। 

सम्पर्क कार्यालयमा समेत ढिलो काम हुने गरेको स्थानीयको आरोप छ। सबै कागजपत्र मिलिसक्दा समेत कर्मचारीले झुलाउने गरेको स्थानीयले आरोप लगाएका छन्। यस विषयमा सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले केही परिस्थतिले सतबाँझबाट काम भइरहेको र नयाँ आर्थिक वर्षमा रौलेश्वरबाटै काम हुने दाबी गरे। यसअघि जिल्ला प्रशासनमा बसेर समेत सुर्नया गाउँपालिकाको केन्द्रमै गएर काम गर्ने सहमति भए पनि त्यो सहमति कार्यान्वयन हुन सकेको छैन।

कार्यपालिका आफैँले गरेको निर्णयबाट पछि हटेपछि स्थानीय बासिन्दा भने आक्रोशित भएका छन्। यस्तै डिलाशैनी गाउँपालिकाको केन्द्र डिलाशैनी भए पनि सम्पर्क कार्यालय रुद्रेश्वरबाट कार्य सम्पादन भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.