मेची पुल नबन्दा पनि स्थानीयलाई सास्ती

|

भद्रपुर, (झापा) : नेपाल भारतको सीमा नाका भद्रपुर—गलगलिया अवरुद्ध बनेको छ। अविरल वर्षासँगै मेची नदीमा बाढी आएपछि अस्थायी ग्राभेल सडक पानीले बगाउँदा बुधबार बिहानदेखि सो नाका अवरुद्ध भएको हो।

नाका अवरुद्ध भएपछि दुवै देशका नागरिक नाकामै रोकिएका छन्। यातायातका सम्पूर्ण सवारी साधनसमेत ठप्प बनेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मेची नदीमा आएको बाढीले १०१ नम्बर सीमा पिलर डुबाएको छ। एसएसबीले दशगजा नजिकै राखिएको अस्थायी पोस्ट डुबाउनुका साथै ग्राभेल सडक भरि पानी बग्न थालेको छ। ग्राभेल सडकमाथि बाटै पानी बग्न थालेकोले भारतीय एसएसबीले कसैलाई आवतजावत गर्न दिएको छैन। भारतबाट आउने सरसामान पनि नाकामै रोकिएको छ।

मेची नदीमा ५६० मिटर लम्बाई र ९.८ मिटर चौडाइको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ वर्षमा बनेको हो। मेची पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गत २०७५ साल माघ १७ गते  एक भव्य समारोहका बीच गरेका थिए। सडक निकास विनाको पुलको उद्घाटन हुँदासमेत स्थानीयले अहिले पनि सास्ती झेल्नु परेको छ।

पुल जोडने भारततर्फको सडक नबन्दा अहिले पुलमाथिबाट हलुका चार पाङ्ग्रे सवारीसाधन, मोटरसाइकल, अटो, सिटी रिक्सा, साइकल र पैदल यात्री मात्र आवतजावत गरिरहेका थिए। तर, त्यो पनि बुधबार ठप्प हुँदा स्थानीय वैकल्पिक बाटोको प्रयोग गर्न काँकडभिट्टा जानु परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.