|

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि चुनावमा नउठ्ने घोषणा गरेका छन्। दुई वर्षे कार्यकाल सकिन लागेको अवस्थामा भट्टले बुधबार राति फेसबुक मार्फत् अध्यक्ष भट्टले दोस्रो कार्यकालमा नउठ्ने घोषणा गरेका हुन्।

भट्टले संस्थामा नयाँ नेतृत्व ल्याउनका लागि उम्मेदवारी नदिने घोषणा गरेका हुन्। सन् २००३ मा एनआएनएको सदस्य लिएका भट्ट सन् २०१७ मा अध्यक्षमा निर्वाचित भएका थिए। 

अध्यक्ष भट्टले आफू एनआरएनबाट नबाहिरिएको बताउँदै चालकको सिटबाट पछाडि हटेको बताए। 'मै चुनाव मात्रै नलड्ने भएको हुँ। एनआरएनबाट बाहिरिन खोजेको होइन। अब झन् सक्रिय हुन्छु। चालकको सीटबाट निस्के पनि बसबाट झरेको होइन,’ उनले भने।

हरेक सदस्यसँग सहकार्य एनआरएनएको लक्ष्य हुनुपर्ने बताउँदै भट्टले त्यही मान्यता अनुसार अघि बढ्ने बताए। 'एनआरएनए मेरो मुटुमा छ, म एनआरएनसँगै धड्किन्छु। एनआरएनए मेरो नेपाल बाहिरको नेपाल हो। एनआएनए मेरो रगत रगतमा छ, जीवनपर्यन्त रहन्छ,’ उनले भने, एनआरएनका शुभचिन्तकले दोस्रो कार्यकालका लागि तयारी गर्न सुझाव दिए पनि अब चुनाव लड्दिनँ। मैले गरेको गरेको यो निर्णलाई साथीहरुले स्वीकार गर्नुहुन्छ भन्‍ने निचोड निकालेको छु।'

शक्ति र लोभी संस्कारलाई सबैले चिर्नु जरुरी रहेको भन्दै आफूले त्यसको थालनी गरेको भट्टको भनाई छ। ‘के अध्यक्ष मात्रै टप लिडरसिप हो र ? यहाँ कयौँ भवनहरुले अवसर पाउनु पर्छ। परिवार, लोभ, मोहबाट माथि उठ्न हामीले सिक्नुपर्छ मैले त्यो अन्त्य गरेको छु', उनले भनेका छन्, 'धेरै साथीहरुले निरन्तरतामा जोड दिँदादिँदै मैले यो एउटा उदाहरण पेश गरेको छु।'

भट्टले एनआरएनको नाममा स्वार्थको खोल ओढाउने ब्वाँसाहरुको प्रयास जारी रहेको भन्दै बलियो नेतृत्वको वकालत गरे। एनआरएनलाई कसैले बिगार्न खोजे आफू चुप लागेर नबस्ने चेतावनी भट्टले दिए। 

उनले आफ्नो कार्यकालमा एनआरएन भवन निर्माण, शंकमूल पार्क निर्माण, एकीकृत लाप्राक बस्ती निर्माण गरिएको स्मरण गर्दै एनआरएनकै सक्रियता र सहभागितामा नेपालमा विभिन्‍न कार्यक्रम चलाइएको बताए। 

एनआरएनको नवौं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा तय भएको छ। भट्ट पूर्वअध्यक्ष शेष घलेकी पत्नी जमुना घलेलाई हराउँदै अध्यक्ष भएका थिए। त्यो समय अर्को कार्यकालमा पन्तलाई भट्टले सघाउने सहमति भएको थियो। भट्टले त्यही सहमतिअनुसार पन्तलाई सघाउन अर्को कार्यकाल चुनाव नलड्ने घोषणा गरेको हुन सक्ने अनुमान गरिएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.