|

पोखरा : ठ्याक्कै कति भयो भनेर आफ्नो उमेर थाहा नभएकी बाटुला आले ब्यास ५ मानहुँकोट तनहुँमा बस्दै आएको दशकौँ भइसक्यो। पहिले वल्लो-पल्लो घरमा मेलापर्म गरेर खेत किसानमै कपाल फुलाएकी उनी हिजो आज पुरानो गाउँ सम्झेर बहकिन्छिन्। राति एक बजे उठेर चारघरे झरेर एक गाग्रो पानी लिन गएको याद उनको मानसपटलमा ताजै छ। बाक्लो गाउँको त के कुरा।

‘डाँडाभरी नै घर थियो। सबै जग्गा बेच्यो हिँड्यो’ उनले कुराकानीका क्रममा भनिन्,‘खानेपानी नभएरै हाम्रो गाउँ रित्तियो। अलि पछि घैँटे ट्यांकीको पानीले गुजारा चलाइयो। अहिले त्यो स्कूल मुनिको कुवा वडाले बनाइदियो अलि सजिलो भा' छ।’

मानहुँ कोटमा मात्र सय भन्दा धेरै घरधुरी थिए। अहिले ७ घर मात्र छ। पानीको लागि घरधुरी थोरै भए पनि समस्या भने अझै सुल्झिसकेको छैन। मानहुँ भरी चाहिँ ७०० घर धुरी थियो अहिले जम्मा ७० घर छ।

‘आकाशेपानी घैँटोमा संकलन हुन्छ। वस्तु भाउलाई दिनै पर्‍यो। बारीमा तरकारी लाउनै पर्‍यो,’ उनले भनिन्, ‘वडाले बनाइदिएको कुवामा पानी हुन्छ। दिनको एक पटक मात्र कुवा खुल्छ। एक घरलाई तीन गाग्री पानी बाँड्छ। कुवा खुलेको बेला नपुगे पानी ल्याउन पाउँदैन।’

सिरानघरे बुजुको नामले चिनिएकी वाटुला नगरपालिकाले खानेपानीको आयोजना निर्माणको लागि सर्वेको तयारी थालेको सुनेर असाध्यै खुसी छन्। मानहुँकोटलाई ब्यास नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विभिन्न संरचनाहरू बनाउने, प्रचार-प्रसार गर्न थालेपछि मानिसको आउजाउ बढेको छ। बाटुला आले डाँडामा मानिस देखेर पुराना दिन सम्झेर खुसी भएकी छन्। 

बाटुलाकै जसरी दैनिक गुजारा काटिरहेकी रेवती आलेको पनि दुखको अनुभव उस्तै छ। ‘हामी राति १ बजे उठेर पानी लिन गइन्थ्यो। उज्यालो हुँदासम्म जम्मा दुई खेप पानी ल्याउन सकिन्थ्यो’, रेवतीले भनिन्, ‘हाम्ले कति दुखका साथ जीवन काटियो त हाम्लाई नै थाहा छ। ती दिनभन्दा त अहिले त धेरै सुविधा भएको छ। आकाशे पानी संकलन गर्ने ट्यांकी छ’ उनी अहिले गाउँमै खाजा घर चलाएर बसेकी छन्। 

मानहुँ आउजाउ गर्न दमौलीबाट ठाडै उकालो चढेर दुई घण्टा भन्दा धेरै लाग्छ। बाटुला, रेवतीले त्यही उकालोमा पसिना चुहाएर जीन्दगी गुजारे। अहिले समस्या त्यस्तो छैन। दमौलीबाट सडक मार्ग जम्मा सात किलोमिटरको छ। ८ करोड रुपैयाँमा टेण्डर भएर सडक कालोपत्रेको काम पनि अघि बढेको वडाअध्यक्ष मोहनकुमार श्रेष्ठ बताउँछन्।

‘यो डाँडाभरी सातसय घरधुरी थियो रे,’ उनले भने, ‘मानिस खानेपानीकै समस्याले कोही दमौली, कोही तल पाटन झरे। विस्तारै यहाँ मानिस घुम्नका लागि आउजाउ हुन थालेपछि। नगरपालिकाले, वडाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कार्ययोजना ल्याएपछि यहाँ जग्गा किनबेच बढेको छ। पहिले जग्गा छोडेर तल झरेकाहरू अहिले बेच्न थालेका छन्। बाहिरका मानिसहरू आएर किन्न थालेका छन्।' 

 

ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने मानहुँकोट अब तनहुँकै पर्यटकीय क्षेत्रहरू मध्ये उत्कृष्ठ थलोको रुपमा विकास गर्ने योजनामा आफूहरू रहेको बताउँछन्।

‘पहिले मानिसहरू खानेपानी नभएरै गाउँ छोडेर गए। हामीले यहाँको ऐलानी जग्गामा केही संरचनाहरू बनायौँ। मानिसहरू घुम्न आउन थालेँ’, उनले भने, ‘यति गर्दैमा मानिसहरू यहाँ आउन थाले, बस्न थाले। अब यसको गुरु योजना बनाएरै अघि बढ्छौँ।

२० हजार रोपनीमा पनि किनबेच नभएको यहाँ अहिले तीन लाख रोपनी जग्गा किन बेच हुन थालिसकेछ।’ उनले यहाँ ब्यवस्थित बसोबास स्थापना गर्नका लागि नगरपालिकाले विभिन्न कार्ययोजना बनाइरहेको पनि बताए।

मानिसहरूको आउजाउ बढेपछि त्यहाँ रहेका सबै घरमा खाजा घर चलाएका छन्। पहिले जस्तो दुख गाउँमा नभएपछि अहिले केही पुराना गाउँलेहरू पुन गाउँ फर्कन थालेको वडा अध्यक्ष श्रेष्ठले बताए। मानहुँकोटबाट मानहुँकोटबाट अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे हिमशृंखला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला,तनहुँ जलविद्युतको बाँध निर्माणस्थल लगायतका मनोरम दृश्य एक साथ अवलोकन गर्न सकिन्छ।

 

शनिबार र सरकारी विदाको दिन आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने रेवतीको भनाई छ। विदाको दिन पाँचसयसम्म मानिसहरू मानहुँकोट आउने उनले बताइन। ११ सय मिटर भन्दा अग्लो मानहुँकोट दमौलीको ३५ डिग्री भन्दा तातो गर्मी छल्नकै लागि पनि उक्लने गर्छन्। 

म्याराथुनले पनि मानहुँकोटलाई चिनाएको नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन्। मानहुँकोटबाट पुलिमराङसम्मको ४४ किलोमिटरको दूरीमा २०७४ यता वर्षेनी म्याराथुन प्रतियोगिता हुँदै आएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा छ/छ जना व्यक्ति गुमाएको शहीदको गाउँ पुलिमराङलाई विकासमा जोड्न म्याराथुन गरेको नगरप्रमुख न्यौपानेको भनाई छ।

मानहुँकोटमा पर्यटकीय संरचनाहरू बनाउनको लागि ४० लाख रुपैयाँ यस वर्ष बिनियोजन गरेको छ। मानहुँकोटको प्रमुख समस्या खानेपानीको ब्यवस्था मिलाउन नगरपालिकाले लिफ्टिङ प्रविधिबाट मानहुँमा खानेपानी झार्ने योजना ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.