पर्वत : पदयात्राबाट होस् वा सवारी साधनमै गुडेर मुस्ताङ पुग्ने प्राय घरपझोङ गाउँपालिका–५ ठिनीमा पुगेकै हुन्छन्। ठिनीमा रहेको हिउँ चितुवा गुफाले पर्यटकहरूको मात्रै होइन वन र वन्यजन्तुबारे अध्ययन गर्नेहरूको पनि ध्यान तानेको छ।
हिउँ चितुवा लोपोन्मुख अवस्थामा रहेको जनावर हो। संसारका १२ देशमा मात्र पाइने हिउँ चितुवा नेपालको हिमाली भेगहरूमा पनि पाइन्छन्। ठिनी त्यही ठाउँ हो जहाँ हिउँ चितुवाबारे जान्न पाइन्छ। हिउँ चितुवा गुफाको अवलोकन गर्न पाइन्छ। ठिनीबाट देखिने घरपझोङ किल्ला, स्याङ हिमाल, जोमसोम बजार, कालीगण्डकी नदी, ठिनी गाउँ, स्याउ बारी, स्याङ गाउँ, धौलागिरी हिमाललगायतको मनोरम दृश्यको धेरैको मन लोभ्याउँछ।
स्थानीय युवा तथा होमस्टे व्यवसायी निरजथिन थकालीका अनुसार सिजनका बेला दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरू गुफाको अवलोकनका लागि ठिनी पुग्ने गर्छन्। हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुका लागि पवित्र र धार्मिक सहिष्णुता भएको ठाउँको रूपमा पनि चिनिएको मुस्ताङमा पुग्ने सबैजसो पर्यटकहरू गुफाको अवलोकनका लागि जाने गरेको उनले बताए।
‘मुक्तिनाथ–जोमसोम–ठिनी हुँदै पैराथाप्लोमा जाने पर्यटकहरूलाई त गुफा नहेरी फर्किँदैन,’ उनले भने, ‘दूरीका हिसाबले पनि सहज ठाउँमा गुफा रहेको छ। जोमसोमम बजारबाट ठिनी हुँदै जिपमा १० मिनेटको यात्रा गरी पाँच मिनेटको पैदल यात्रा गरेपछि गुफामा पुगिन्छ।’
गुफाको संरक्षण र प्रवरद्धनका लागि निरन्तर काम गर्दै आएको स्थानीय जनमुक्ति युवा क्लबका अध्यक्ष सञ्जय थकालीका अनुसार देशका विभिन्न क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरू तथा स्वदेशी र विदेशी पर्यटकहरूले गुफाको अवलोकन गर्दै हिउँ चितुवाबारे जानकारी लिने गरेका छन्। ‘गुफाको नाम हिउँ चितुवा राखिएका कारण नै हिउँ चितुवा र गुफाबीचको सम्बन्धका बारेमा धेरैले सोध्नुहुन्छ,’ उनले भने, ‘गुफा भएकै ठाउँमा एक्यापले क्यामेराहरु राखेर हिउँ चितुवाको भिडियो र फोटोहरू खिचेको थियो। त्यो बेलामा चार वटा हिउँ चितुवा क्यामेरामा कैद भएका थिए। गुफा र हिउँ चितुवाको सम्बन्ध यही हो।’ गुफा रहेको क्षेत्रमा हिउँचितुवा आउने तथा गुफा र हिउँ चितुवा दुवैको प्रचारप्रसार हुने भएकाले ‘हिउँ चितुवा गुफा’ भनी नामकरण गरिएको उनको भनाइ छ। गुफाको नामका कारण पनि हिउँ चितुवाको संरक्षणमा सहयोग पुगेको मुस्ताङीहरु बताउँछन्।
२०७१ सालमा ठिनी गाउँमा मोटर बाटो पुग्यो। पर्यावरण संरक्षणमा महत्त्वपूर्ण काम गरिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापले) गुफा रहेकै ठाउँमा ५० हजार रुपैयाँको लगानीमा पार्क बनाउन थाल्यो। पार्क बनाउनका लागि सडक बिस्तारको क्रममा निस्किएको माटो पन्छाउने क्रममा एउटा गुफा फेला परेको थियो। पछि थप उत्खनन गर्दा अरू दुई ओटा गुफाहरू पनि फेला परेपछि अहिले तीन ओटा गुफाहरू एकै ठाउँमा छन्।
गुफा फेला परेपछि जनमुक्ति युवा क्लब र एकयाप नामकरण गरिएको हो। एक्यापकै सहयोगमा गत वर्ष ७५ हजार रुपैयाँको लगानीमा गुफामा जाने सिँढीहरू निर्माण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिए। संरचनागत विकासका लागि गुफाभित्र रहेको ध्यानकक्षलाई थप व्यवस्थित गर्न लागिएको छ भने भविष्यमा ध्यान कक्षबाट आम्दानी गरेर त्यसलाई गुफामै लगानी गर्ने योजना अगाडि सारिएको छ। एक्यापले नै चालु आर्थिक वर्षमा गुफाको आकर्षण बढाउन डेढ लाखको लगानीमा हिउँचितुवाको मूर्ति निर्माण गर्नुका साथै वरिपरिको भागलाई आकर्षक बनाउने गरी काम गर्ने तयारी गरिरहेको छ।
गुफा र आसपासको क्षेत्रलाई आकर्षक बनाउन गुफाको वरिपरि र भित्रको केही भागमा पनि रंगरोगन गरिएको छ। नेपाल पर्यटन बोर्डको सहयोगमा बस्नका लागि फलामका बेञ्चहरु पनि राखिएको तथा यसको प्रवर्द्धनका लागि पर्यटन बोर्डले आवश्यक पहल र कामहरू गरिरहेको नेपाल पर्यटन बोर्ड पोखरा शाखाका प्रबन्धक सूर्य थपलियाले बताए। गुफाको संरक्षण गर्न र आवश्यक पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा घरपझोङ गाउँपालिकाले दुई लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रमुख आसबहादुर थकालीले जानकारी दिए। अन्य विभिन्न कारणले मुस्ताङमा पर्यटकहरू भित्रिरहेको अवस्थामा गुफाले अझै धेरै पर्यटकहरूलाई तान्नका लागि सहयोग गरिरहेको मुस्ताङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रेमप्रसाद तुलाचनको भनाइ छ।
‘हिउँ चितुवा गुफा’ रहेकै स्थानमा हिउँ चितुवाको बास नभएको भए पनि भेडा र च्याङग्राको सिकारको लागि तल झर्ने गरेका छन्। ठिनीभन्दा माथि समुद्र सतहबाट ३५ सय मिटर उचाइमा रहेको रहेको नमु लेखमा हिउँ चितुवाको वासस्थान रहेको छ। मुस्ताङ र मनाङ दुई जिल्लामा गरेर १५ देखि २० वटाको संख्यामा हिउँचितुवा रहेको हुन सक्ने अनुमान गरिएको त्यस क्षेत्रमा काम गर्ने तथा अध्ययन गर्नेहरूले तयार पारेका प्रतिवेदनहरूमा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।