पुनः ग्लोबल टेण्डर, स्वदेशीसँगै विदेशी कम्पनी पनि अन्तिम चारमा

|

पोखरा : कुलेखानीपछिको दोस्रो ठूलो जलाशययुक्त १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामा ड्याम निर्माणको प्रगति शून्य छ। ड्याम निर्माणको लागि ठेक्का सम्झौता गरेको सिएमसी (इटालिएन कम्पनी) ले बीचैमा सुरक्षाको कारण देखाउँदै काम छोडेर हिँडेपछि ड्याम निर्माणको प्रगति हुन नसकेको हो।

पछि सिएमसीले काम नगर्ने बताइसकेपछि ठेक्का सम्झौता रद्द गरेर पुन ठेक्का गर्दा प्रक्रिया लम्बिएकोले काममा ढिलो भएको आयोजनाले बताएको छ। सिएमसीको ठेक्का गत वर्षको फागुनमा तोडिएको थियो। सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा सम्झौता भएको थियो।

‘सिएमसीले छोडेर गएपछि पुरानै प्रक्रियामा ठेक्का गर्नुपर्‍यो। अहिले नयाँ कम्पनी छनोट गर्ने काम अघि बढेको छ,’ आयोजनाका साइट इन्चार्ज रमेशमान श्रेष्ठले भने, ‘तीन वटा प्याकेजमा काम भइरहेको छ। अरु सबै राम्रै प्रोगेसमा अघि बढेको छ। ड्यामको काम भने ठप्प नै छ।’

पुन ग्लोबल टेण्डर भएकोले पनि ढिला भएको आयोजनाले जनाइको छ। प्याकेज १ अन्तर्गत नै रहेको ड्यामको प्रगति शून्य रहेको र अरु प्याकेजको काम भने भइरहेको उनको भनाई छ। 

गतवर्षको माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो। तर सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश सिएमसीले मानेन। उसले अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीयरूपमा समस्यामा रहेको भन्दै सिएमसीसँगको सम्झौता तोडिएको थियो।

ड्याम बनाउन १९ स्वदेशी विदेशी कम्पनी इच्छुक 

आयोजनाले गरेको पुनः टेण्डरमा केही नेपालीसहित विदेशी कम्पनीहरूले तनहुँ हाइड्रोको ड्याम बनाउने इच्छा ब्यक्त गरेका छन्। तनहुँ हाइड्रोले आह्वान गरेको ग्लोबल टेण्डरमा १९ कम्पनीले इच्छा ब्यक्त गरेको श्रेष्ठले जानकारी दिए। १९ मध्ये पनि ४ कम्पनी छनोट गरेर तिनको मूल्यांकनको काम भइरहेको उनको भनाई छ।

सेतीमा १४० मिटर उचाइको ड्याम 

तनहुँ हाइड्रोलाई गण्डकी प्रदेशसँगै समग्र देशमै औद्योगिक क्षेत्रमा विद्युतीकरणको लागि सहज प्रशारण गर्न सकिने आयोजनाको रुपमा पनि हेरिएको छ। ग्लोबल टेण्डरबाट छनोट भएका चार कम्पनीबाट एक कम्पनी छनोट हुनेछ र सोही कम्पनीले तनहुँ हाइड्रको ड्याम निर्माण गर्नेछ। ‘कम्पनी छनोट भइसकेपछि उसले पहिलो प्याकेजको रुपमा रहेको ड्यामको काम सुरु गर्छ’, उनले भने, ‘ड्याम १४० मिटर उचाइको बन्छ। लम्बाई भने २१० मिटरको हुन्छ।’

ड्याम निर्माणकै जिम्मा पाएको कम्पनीले नै ड्याम निर्माणस्थलसम्म पुग्ने सडक निर्माणको जिम्मा पाए पनि काम ढिला हुने भन्दै आयोजनाले दोस्रो प्याकेजको जिम्मा पाएको कम्पनीलाई अहिले सडक खन्ने काम लगाउने तयारी गरिएको छ। त्यहाँ झण्डै दुई किलोमिटर सडक निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ।

सिएमसीकै कारण आयोजनाको प्रगती एक वर्ष ढिला भइसकेको श्रेष्ठको भनाई छ। अहिलेसम्म तनहुँ हाइड्रो सन् २०२३ मा सक्ने योजना छ। सिएमसीले काम छोडेपछि उसले गर्नुपर्ने काम आगामी जनावरीबाट नयाँ कम्पनीले गर्ने आयोजनाले जनाएको छ। अहिलेसम्म भौतिक प्रगति करिब २० प्रतिशत मात्र भएको छ। 

१२ सय मिटर लामो सुरुङ 

पहिलो प्याकेजमा ड्याम र दोस्रो प्याकेजमा सुरुङ, विद्युत गृह लगायतका संरचना रहेको छ। दोस्रो प्याकेजको निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पाेरेशनले सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका काम गर्नुपर्ने छ। सुरुङ खन्नको लागि आवश्यक विस्फोटक पदार्थ खरिदको प्रक्रिया समेत अघि बढिसकेको आयोजनाले जनाएको छ।  

दमौलीदेखि भरतपुरसम्म ट्रान्समिसन लाइन 

तनहुँ हाइड्रोबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न चीतवनको भरतपुर लैजान ट्रान्समिसन लाईन निर्माण हुनेछ। त्यसको काम प्याकेज तीनको कामको जिम्मा पाएको भारतिय कम्पनी केइसी कम्पनीले गर्नेछ।

तनहुँ हाइड्रोको विद्युत गृहबाट सिधै चितवनको घुमाउने हुँदै भरतपुर लगिनेछ। त्यसको लागि ४० किलोमिटर दूरीको २२० केभीको विद्युत प्रशारण लाईन निर्माण हुनेछ। हाइड्रोले प्रभावितहरुलाई दिनुपर्ने मुआब्जाको काम ९५ प्रतिशत सक्कीसकेको उनले जानकारी दिए। 

५० करोड ५० लाख अमेरिकी डलर 

उक्त आयोजना एसियासी विकास बैंक, जापानी सहयोगी नियोग जाइका, यूरोपियन इन्भेस्टमेन्ट बैंक, नेपाल सरकार र नेपाल विद्युत प्राकिरणको संयुक्त लगानीमा निर्माण हुनेछ। आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ। आयोजना निर्माण गर्न एसियाली विकास बैंक (एडिबी) ले १५० मिलियन, जाइकाले १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी) ले ८५ मिलियन र नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले ८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछन्। 

आर्थिक विकासको मुख्य आधार : मेयर न्यौपाने

तनहुँ हाइड्रोको निर्माणस्थल तनहुँको ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँ हाइड्रो तनहुँ र देशकै आर्थिक समृद्धिको मुख्य कडीको रुपमा रहने बताए। ‘यस क्षेत्रका मानिसको आर्थिक उन्नतिको मुख्य आधार यो आयोजना हुन्छ’, उनले भने, ‘यसबाट हामीले धेरै क्षेत्रमा लाम लिन सक्नुपर्छ। यो आयोजना समयमै सक्न नगरपालिकाको तर्फबाट गर्ने सबै कामहरु गर्न तयार छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.