सूर्यप्रसाद भन्छन् : मौरी नै मेरो परिवार हो

|

पोखरा : ०६२/२०६३  सालको वैशाख, जेठको महिना थियो। दाइले मह काढेर आमा र उनलाई चाख्‍नका लागि भन्दै थोरै मह दिए। उनको भागमा जम्मा एक चम्चा पर्‍यो । उनले मह त्योभन्दा पहिला नखाएका होइनन् तर दाइले दिएको मह असाध्यै मीठो लाग्यो। एक चम्चा महले उनको मुख मात्रै जिस्क्यायो।

उनलाई अझै खाने मन थियो। ‘दाइ अलि ल्याउनु न’ उनले मागे। दाइले जवाफ दिए, ‘लेन्त पैसा एक माना लिएर जा।’ उनीसँग मह किनेर खानको लागि पैसा थिएन। दाइको यही शब्द र त्यो एक चम्चा महले उनलाई मौरी पाल्न उक्सायो। मौरी पाल्ने हुटहुटी जाग्यो।

पोखरा महानगरपालिका ३१ का सूर्यप्रसाद लामिछाने  विगत १२ वर्षदेखि मौरी पालिरहेका छन्।  कास्की लामास्वाँरामा जन्मेका सूर्यप्रसादलाई सबैले ‘मौरी’ भनेर चिन्छन्।

८ वर्षको सानै उमेरमा बाबाको निधन भएपछि उनले आफ्नो पढाइका लागि आफैँले जोहो गर्नुपर्ने स्थिति आयो। घाँसदाउरा मेलापात गरेर जसोतसो स्कुल पढे। बालापन अभावै अभावमा बित्यो। यत्तिसम्म अभाव थियो कि उनले स्कुलमा खाजा खाने पैसा हुँदैनथ्यो। घरबाट लैजानलाई या स्कुलबाट फर्केर आएपछि खानलाई खाजा हुँदैनथ्यो।

अभावकै बीच उनले पढाईलाई निरन्तरता दिए। त्यो बेला एसएलसीमा उनलाई विषय लाग्यो। उनलाई आफु गहिरो पानीमा डुबेको महशुस भयो। अर्को वर्ष मिहिनेत गरेर पढे, पास भए। त्यो बेला एसएलसीमा फेल भए अहिलेको जसरी पूरक परीक्षा दिन पाइँदैन थियो।

वर्ष दिन कुरेर पुन परीक्षा दिए। पास पनि भए। एसएलसीको पहिलो असफलताले उनलाई मेहनत गरेर अध्ययन गर्न सिकायो। उनले मास्टर डिग्री नै पास गरे।

पढाइ अभावै अभावमा सकियो। जागिरको आवश्यकता थियो उनलाई। एजुकेशनबाट मास्टर गरेका सूर्यप्रसादलाई पढाउनको लागि अफर आए पनि तलब चित्तबुझ्दो भएन।

विदेश जान तम्सिए

साथीहरूले विदेश जाम नेपाल बसेर केही उपलब्धि छैन भन्न थाले। पासर्पोट बनाउने लगायतका विदेश जानका लागि आवश्यक चाँजोपाँजो मिलाउन कस्सिए। पढाइको सिलसिलामा घर बाहिर–बाहिर रहेका उनी विदेश जानको लागि आवश्यक तयारी गर्न घर फर्किए। फर्किएर पहिले मह माग्दा पैसा माग्ने आफ्नै दाइसँगै बसे। दाइले त्यो बेलामा नै मौरी पालेका थिए। 

उनी भन्छन्, ‘मह खानको लागि मह होइन, मौरी नै किन्छु। मौरी किनेँ भने त सधैँ खान पाइन्छ भन्ने भो।  दाइसँग ३ हजारमा एक गोला मौरी किनेर मौरी पाल्न थालेँ।’

पहिले आफूले मागेको बेलामा दाइले मह दिएको भए अहिले मौरीपालनमा आफू नहुने तर्क उनी आफैँ गर्छन्। ‘सायद त्यतिबेला मैले मह धेरै खान पाको भए मैले मौरी पाल्ने नै थिइनँ। अभावले मलाई मौरीपालनमा लाग्न प्रेरित गरायो।’ उनी थप्छन्।

कोकाकोलाको मार्केटिङ

दाइले ४, ५ घार मौरी बाट २, ३ पाथी मह बेच्थे। उनलाई विदेश जानुभन्दा विदेश जाने लगानी मौरीमा गरौँ कि भन्ने पनि लाग्यो।  मौरी त पाले ६ महिनासम्म, मौरीको संख्या वृद्धि भएन उनी झन् तनावमा रहे। मौरीपालन बीचैमा छोडेर जागिरको खोजीमा हिँडे।

कोकाकोला डिलरमा मार्केटिङको काम पाए। महिना सकेर तलब थाप्दा खाना खाजा खाको कटाउँदा उल्टै पैसा तिर्न बाँकी रहने। यसरी जागिर खानुको अर्थ भएन भनेर उनले जागिर पनि छोडे। फेरि मौरी नै पाल्ने सोच बनाए।

१० हजार लगानीले वर्षैपिच्छे २६ लाख

त्यहीबेला उनले एक संस्थाले सहयोग गरिरहेको बेगनासमा घार र मौरी उत्पान गर्ने कम्पनी बिक्रीमा रहेको थाहा पाए। उनीसँग पैसा थिएन लगानी गर्नलाई। ऋण खोजेरै कम्पनी आफ्नो बनाए। कम्पनीलाई व्यवस्थित बनाए। कम्पनी किन्नेबित्तिकै १६ वटा घारको अर्डर आयो।

उनले कम्पनी किनेको महिना दिनमै कम्पनीको लगानी उठाए। एक घारकै १ हजार पर्थ्यो। उनले १० हजारमा कम्पनी किनेका थिए। उनलाई यसले ऊर्जा थप्यो। पैसा थपेर अलि बढी घार बनाउन मन लाग्यो। उनलाई घार मात्र होइन १ सय घार मौरी पाल्छु भन्ने जोश आयो।

सूर्यप्रसाद व्यावसायिक रूपमा मौरीपालनमा लागेको २०६४ सालदेखि हो। झण्डै १२ वर्षदेखि मौरीमा उनले पैसा मात्र होइन मिहिनेत, समय पनि लगानी गरिरहेका छन्। अहिले सूर्यप्रसादले वर्षमा ४/५ सय गोला मौरी बेच्छन्। ७/८ सय घार बेच्छन्। यसबाट राम्रै आम्दानी भइरहेको छ।

एक घारबाट एकपटक निकाल्दा ४ केजी मह उत्पादन हुन्छ। उनकोमा मौरीको गोलाको डिमान्ड बढी हुन्छ। यस वर्ष घार, गोला र मौरी बेचेर २६ लाख नाफा भएको सूर्यप्रसाद बताउँछन्। गत वर्ष ११ लाख नाफा भएको थियो।

उनले ५ जनालाई रोजगारी दिइरहेका छन्। उनीकहाँ मौरी अध्ययनका लागि विदेशी युवा आउँछन्। नेपालका युवा भने जागिरका लागि विदेश जानु र यहाँ गर्न सकिने कुरालाई वेवास्ता गर्नु दुखद भएको गुनासो गर्छन् सूर्यप्रसाद।

उनी भन्छन, ‘एकसय घार मौरी पाल्न सक्ने हो भने महिनामा १ लाख कमाउन गाह्रो छैन। विदेश जाने पैसा स्वदेशमै लगानी गर्ने, विदेशमा गर्ने मिहिनेत स्वदेशमै गर्ने हो भने फूलका थुंगाहरूमा पैसा छ। यही कमाउन सकिन्छ।’

मौरी पाल्न चाहनेलाई लगानी उठ्दैन कि भनेर चिन्ता नलिन आग्रह गर्दै सूर्यप्रसाद भन्छन, ‘ढुक्क भएर मौरी पाल्नुस्, मेरो क्षेत्रमा जसले मौरी पाल्न चाहानुहुन्छ उहाँको लगानी डुब्दैन म त्यसको जिम्मेवारी लिन्छु।’

उनी मौरी अध्ययनका लागि भियतनाम, नेदरल्याण्ड र अमेरिका पुगेका छन्। विदेशभन्दा नेपाल मौरीपालनको लागि उत्तम तर उत्पादनको हिसाबले नेपाल धेरै पछाडि रहेको उनको भनाइ छ।

मौरी नभए मान्छे रहँदैन

‘कृषिमा वातावरण जोगाउनुपर्छ, वातावरण जोगाउनको लागि मौरीको ठूलो भूमिका छ,’ सूर्यप्रसाद भन्छन्, ‘विदेशीहरु मह उत्पादनलाई नाफा मान्दैनन्। वातावरण जोगाउनु, फर्टिलाइजेशन हुनुलाई प्रफिट मान्छन्।’

मौरी वातावरणमा नरहने हो भने मानिस पनि नरहने उनको दाबी छ। ‘मौरी भएन भने मानिस रहँदैन। मौरीजन्य किराबाट फर्टिलाइज भएन भने खाद्यान्न उत्पादन घट्छ। यसले खाद्यान्न अभाव हुन्छ जसले मानव जातिको अन्त्य हुन सक्छ।’

सूर्यप्रसादलाई गण्डकी प्रदेशमै गुणस्तरीय रानी उत्पादन गरेर मह उत्पादनमा वृद्धि गर्ने मन छ। विदेशमा जस्तै प्रविधियुक्त तरिकाले मौरी उत्पादन गर्ने उनको सोँच छ। सुर्यप्रसाद अहिले घार निर्माण र मौरीपालन ट्रेनिङ दिन्छन्।

ट्रेनिङ कुनै एकको लिएर त्यसमै निरन्तर लागे सफलता मिल्ने उनको भनाइ छ। उनी सुनाउँछन, ‘विदेशमा मौरीलाई सेन्सरले काम लगाएर मह उत्पादन गर्छन् तर हामी अझै ढुंगेयुगमा छौँ।’ नेपालमा मौरीसम्बन्धी डाटा राखिँदैन यसको डाटा राख्नुपर्ने सूर्यप्रसाद बताउँछन्। महको लेभलिङ, प्याकिङ र मार्केटिङको शुरुवात गर्ने सूर्यप्रसादको योजना छ।

नांगो शरीरमा मौरी राखेर प्रदर्शन

सूर्यप्रसादले नांगो शरीरमा मौरी राखेर प्रदर्शनसमेत गरेका थिए। उनले मौरी मन परेकै कारण दाहिने हातमा मौरीकै चित्रको ट्याटु खोपेका छन्। उनी भन्छन्, ‘मेरो लागि मौरी जीवन हो, मौरी छैन भने म छैन। मौरी मेरो परिवार हो।

मौरीको मिहिनेत देखेर म प्रेरित हुन्छु।’ सूर्यप्रसाद नेपाल मौरीपालक महासंघ गण्डकी प्रदेशका अध्यक्षसमेत भएका छन्। आफूजस्तै अरूलाई पनि मौरी पालनमा लाग्न उनको सुझाव छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.