काठमाडौं : बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि फोटो प्रतियोगितामा वीरगंजका पंकज श्रेष्ठले खिचेको (फरक क्षमता) अटिजमका विद्यार्थीलाई पढाउँदै गरेको फोटोले प्रथम स्थान हासिल गरेको छ। युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटोपत्रकार क्लबले उक्त प्रतियोगिता आयोजना गरेको हो।
सुनिता डंगोलले खिचेका फोटाले ललितपुरको जीवित देवीका रूपमा पुजिने कुमारीलाई पढाउँदै गरेको फोटाले दोस्रो स्थान हासिल गरेको छ भने अनिश रेग्मीको संकेतिक भाषा प्रयोग गरेको फोटाले तेस्रो स्थान प्राप्त गरेको छ। सुजन श्रेष्ठ र प्रतीक गुरुङको फोटोले सान्तवना पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
देशभरबाट प्राप्त फोटोको निर्णायक चरणमा नेपालका वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ नेतृत्वको निर्णायक मण्डलले विजेतासहित उकृष्ट ५४ फोटोहरू छानेको हो। काठमाडौंमा सम्पन्न निर्णायक चरणका निर्णायक मण्डलमा पत्रकार उज्जवल आचार्य, संचारिका समूहका अध्यक्ष नितु पण्डित थिए।
प्रतियोगिताका लागि देशभरबाट १ सय ८२ फोटोग्राफरका ६ सय ३६ फोटो प्राप्त भएका थिए। निर्णायक चरणबाट विजेतासहित उत्कृष्ट ५४ वटा फोटोहरू छानिएका हुन्।
देशभरबाट प्राप्त फोटोहरूले देशको वर्तमान शिक्षाको स्थिति, विधार्थी, स्कूल र शिक्षक बीचको सम्बन्ध झल्काउने तस्बिरहरू रहेको निर्णायक मण्डलका प्रमुख निर्णायक नरेन्द्र श्रेष्ठले बताए। उनले फरक क्षमता भएकाहरूको शिक्षामा शिक्षक र विद्यार्थीका बीचको आत्मियता, सम्बन्ध र लगनशिलता महत्त्वपूर्ण रहेको र जुन विजेता तस्बिरले प्रष्ट देखाएको पनि बताए।
प्रतियोगितामा आएका फोटोहरू नेपालको बहुभाषीय र अन्तर संस्कृति झल्काउने रहेको भन्दै अर्का निर्णायक नितु पण्डितले राम्रा फोटोहरू मध्येबाट विजेतासहित उत्कृष्ट तस्बिरहरू छानेको बताइन्।
आयोजकका अनुसार विजेताले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पाउनेछन्। यसैगरी अन्य दुई सान्त्वना विजेताहरुले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
विजेतालाई यही २०७६ भदौ २२ गते अन्तर्राष्ट्रिय शाक्षरता दिवसको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजना हुने विषेश कार्यक्रममा पुरस्कार प्रदान गरिने छ। विजेतासहित उत्कृष्ट फोटोहरुको प्रर्दशनी २०७६ भदौ २२ गते देखि २८ गतेसम्म नेपाल आर्ट काउन्सिल (नेपाल कला परिषद) बबरमहलमा गरिने फोटोपत्रकार क्लबले जनाएको छ।
प्रथम विजेता : पंकज श्रेष्ठले खिचेको तस्विर
उपविजेता : सुनिता डंगोलले खिचेको तस्वीर
तेस्रो स्थान : अनिश रेग्मीले खिचेको तस्विर
सान्तवना पुरस्कार : प्रतीक गुरुङले खिचेको तस्विर
सान्तवना पुरस्कार : सुजन श्रेष्ठले खिचेको तस्विर
निर्णायक मण्डल : नरेन्द्र श्रेष्ठ, नितु पण्डित र उज्जवल आचार्य
तपाईंको ईमेल गोप्य राखिनेछ ।