कर्मचारीले घुस खाएको सुन्दा टाउकामा हिउँको डल्लो बज्रेजस्तै भयो

|

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीलाई कार्यशैली र मानसिकता परिवर्तन गर्न निर्देशन दिएका छन्। गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाका कार्यालय प्रमुखलाई पोखरा बोलाएर मुख्यमन्त्री गुरुङले विगतको कार्यशैली र मानसिकताले अब विकास सम्भव नभएको भन्दै यसमा परिवर्तन गर्न निर्देशन दिएका हुन्। उनले देशमा ठूला‐ठूला परिवर्तन भए पनि कर्मचारीतन्त्र र सुरक्षा निकाय पञ्चायतकालीन ढाचामा चलिरहेको भन्दै यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए। ‘अझै पनि हाकिमलाई मालिक मान्नुपर्ने अवस्था कर्मचारीतन्त्रमा छ,’ उनले भने ‘चेन अफ कमाण्ड अब काममा खोज्नुपर्छ अरू कुरामा होइन।’

मुख्यमन्त्री गुरुङले समान्तबादी सोचाई अझै कर्मचारीतन्त्रमा रहेको बताउँदै यो मानसिकता परिवर्तन आवश्यक रहेको बताए। कर्मचारीतन्त्र अझै नतिजाभन्दा प्रक्रियामुखी भइरहेको बताउदै यसले गर्दा जनताले सास्ती पाउने क्रम नरोकिएको उनको भनाइ छ।

‘हामी नतिजा हेर्दैनौँ विधि र प्रक्रिया मात्र हेर्छौँ’ उनले भने ‘जनतालाई सुख दिनका लागि एउटा सरकारको ठाउँमा ७ सय ६१ वटा सरकार बनायौँ तर कर्मचारीको काम गर्ने शैली उस्तै छ।’

स्टाफ कलेजसंगको सहकार्यमा कर्मचारीको संरचना हेरफेर गर्ने विषयमा पनि प्रदेशले छलफल चलाइरहेको उनले जानकारी गराए। भ्रष्टाचारमा ममिलामा प्रदेश सरकार कठोर ढंगले प्रस्तुत उनले कर्मचारीका हाकिमहरुलाई जानकारी गराए।

कर्मचारीले घुस खाएको सुन्दा टाउकामा हिउँको डल्लो बज्रेजस्तै भयो

गण्डकी प्रदेशका कर्मचारी विभिन्न काण्डमा अख्तियारको फन्दामा पर्दा आफुलाई आश्यर्च लागेको बताउँदै यस्तो शैह्य नहुने बताए। ‘मलाई लाग्थ्यो मेरो प्रदेशका कर्मचारीमा भ्रष्टाचार काण्डमा मुछिएका छैनन’ मुख्यमन्त्रीले भने ‘तर पछिल्लो समयमा खानेपानीको हाकिम, स्वास्थ्य कार्यलाय कर्मचारी अख्तियारले रंगेहात समातिए भन्ने खबर सुन्नुपर्‍यो, टाउकोमा हिँउको डल्लोमा बज्रिएजस्तै भयो, यस्तालाई अब अख्यितारभन्दा पहिले प्रदेशले कारवाही गर्छ।’

मुख्यमन्त्री गुरुङले जनशक्ति र स्रोत साधनको कमी हुन नदिनेसमेत बताए। अन्य प्रदेशको भन्दा कुनै सेवासुविधा कमी हुन नदिने भन्दै मुख्यमन्त्री गुरुङले जनतालाई सेवा दिने कुरामा कर्मचारी कञ्जुस्याइँ गर्न नहुने बताए। उनले कर्मचारीको क्षमता वृद्धिका लागि आधुनिक प्रविधियुक्त तालिमको व्यवस्था गरिने पनि जानकारी गराए।

बजेट कार्यान्वयनमा साथ दिनुस्

यसपटक प्रदेशले ९५ प्रतिशत बजेट कार्यन्वयनको लक्ष्य राखेको स्मरण गराउदै मुख्यमन्त्री गुरुङ त्यसका लागि सवै मन्त्रालयले जेठ मसान्तसम्मको कार्ययोजना बनाएको सुनाए। सोही कार्ययोजनाको आधारमा कर्मचारीलाई काममा लाग्न उनले निर्देशनसमेत दिए।

कार्यक्रममा आर्थिक ममिला तथा योजनामन्त्री किरण गुरुङले चालु आर्थिक बर्षमा जेठ मसान्तसम्म मात्र विकास निर्माण गरिने भएकोले सोहीअनुसार काममा लाग्न निर्देशन दिए। उनले असारे बजेटको बेथिति हटाउन आफूहरू लागिपरेको भन्दै यसमा सोहीअनुसार विकास निर्माणको काम गराउनसमेत निर्देशन दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.