सामाजिक सञ्जाल हेरि नसक्नु भएको छ

|
नेकपाको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज सांस्कृतिकरुपमा समृद्ध रहेको बताएका छन्। सत्तारुढ नेकपाले चाडपर्वका अवसरमा भृकुटीमण्डपमा गरेको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल एकतावद्धरुपमा अघि बढिरहेको बताए। 

'हाम्रो समाज समृद्ध संस्कृति भएको समाज हो। परिवर्तनका गतिहरू अलि कठोर हुने गर्छन्। कहिले कहिले कमजोर भएको हो कि भन्‍ने लाग्छ', उनले भने, 'बहुजातीय, बहुसांस्कृतिक आस्थाका विविधता र भौगोलिक विविधता छ। एकताबद्ध राष्ट्रका रूपमा देश अगाडि बढेको छ। विविधतालाई खल्बल्याएर राष्ट्रिय एकता बिगार्ने प्रयास पनि भए। साम्प्रदायिक विद्रोह फैलाउने प्रयास भए। विदेशमा पनि त्यस्तो हुन्छ।'

नेकपाका अध्यक्ष समेत रहेका ओलीले राज्य र कानुन बलियो नभएको बेला चाडपर्वले नेपालीलाई बाँधेर राखेको बताए। 'हाम्रा चाडबाड, सांस्कृतिक परम्परा र प्रचलन थितिले समाजलाई बाँधेको थियो,' उनले भने, 'त्यसले एकतालाई मजबुत बनाएको थियो।'

सबैलाई एक बनाउन चाडवाड निर्णायक रहेको उनले पटक पटक दोहोर्‍याए। 'चाडवाडले भाइबहिनी, दाजुभाइलाई एकताबद्ध बनाएको छ। अरुबेला तिक्तता भएको दाजुभाइको सम्बन्ध दशैँमा हार्दिक बन्छ', उनले अगाडि भने, 'भाइबहिनी एकअर्कासँग रिसाएको भए पनि वा तिहारमा भाइ लिन नआए बहिनी धुरुधुरू रुन्छिन्। चाडपर्वमा नेपालीले जातभात भन्दैनन्।' 

ओलीले नेपाललाई समृद्ध बनाउने अभियान जारी रहेको बताए । 'हामीले समृद्ध नेपाल बनाउन चाहेका छौँ। विकासको बाटो समातेका छौँ। यो गतिलाई समाऊँ', उनले भने, 'केही पनि भएन भन्‍नेहरूले आँखा चिम्लेर होइन, खोलेर भन्‍नुस्। घर, जागिर, गाडी र छोराछोरी विदेशमा पढाउने  सम्भ्रान्त वर्गलाई फरक नपरेको होला तर बुढाबुढीलाई सोध्नुस्, फरक परेको छ कि छैन? उनीहरु सबैको बैंक खाता खोलिएको छ। सरकारी सुविधा गाउँ गाउँका बैंकमा पुगेको छ।'

ओलीले विकासको गति तीव्र भएको उल्लेख गरे। 'विमानस्थल बनिरहेका छन्, त्रिभुवन विमानस्थलमा ठूला जहाज बस्ने रातारात बनाएका छौँ। सयौं पुल बनेका छन्', उनले थपे, 'नयाँ चेतनाको लहर चलेको छ। वैदेशिक लगानी ४२ अर्बबाट ७६ अर्ब पुगेको छ। केही पनि छैन भन्‍ने केही पनि नदेख्ने खास उद्धेश्य बोकेकाले हो। राष्ट्रलाई तीव्र विकासको बाटोमा अगाडि बढाउनु पर्छ।'

हरेक नेपाली जनतालाई सुखी र समृद्ध हुने हक रहेको उनको भनाइ छ। 'हल्ला धेरै चल्छ, कसैलाई त्यसको पछाडि नलाग्न आग्रह गर्छु। यो हल्लाको देश थियो, अब अगाडि बढेको छ', उनले भने।  

दुई ठूला छिमेकी देश भारत चीन विकासमा एकसाथ आएका उनको भनाइ छ। 'भारतसँग प्रशारण लाइन बनाउने सहमति भएको छ। तराईको डुबान अन्त्य गर्नेबारे छलफल भइरहेको छ', ओलीले थपे, 'सबै देशसँग समान व्यवहार गर्ने ठाउँमा पुगेका छौँ।'

नेपाल नेपालीले नै बनाउने उनको भनाइ थियो। 'हाम्रो देश हामीले बनाउने हो, बनाउन सक्छौं पनि। सबै दलहरूसँग स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण बनेको छ', ओलीले अगाडि भने, 'उचित समयमा निर्वाचन हुन्छ, त्यो परिणाम आएपछि मान्‍नुपर्छ। हामी कानुनी राजको नीतिअनुसार चल्नुपर्छ। कानुन विपरीत भनसुन दबाब प्रभावमा चल्ने छैनौं।'

नेपाल र नेपाली उच्च संस्कृतियुक्त मर्यादा भएको समाज भएको बताउँदै पछिल्लो समय त्यसलाई बिगार्न खोजिएको ओलीले गुनासो गरे। 'सामाजिक सञ्जालका नाममा सुन्‍न हेर्नै पढ्नै नसकिने कुरा लेखिएका हुन्छन्', ओलीले भने, 'त्यो नेपाली संस्कृति होइन, त्यो किसिमले कोही पनि अगाडि नबढौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.