उदयपुर : पहरामा फूलेको प्रतिभाका पुञ्ज उदयपुरका विनोद दनुवारलाई नै मान्न सकिन्छ। चाहना मिडिया प्रालिको आयोजनामा भइरहेको आइएमई लोक स्टार ग्राण्ड फिनालेमा पुगेको दनुवारले अहिले लोकस्टारको उपाधि चुम्ने दाउमा छन्। गत फागुन १६ देखि सुरु लोक स्टारको ग्राण्ड फिनाले आगामी कात्तिक ८ गते हुँदैछ।
लोक स्टार पहिलो संस्करणमै लोकगीत पारखीहरुले रुचाएको रियालिटी सो बन्न सफल भएको छ। यस प्रतियोगिताले लोक गीत क्षेत्रमा लाग्नेहरुका लागि एउटा राम्रो स्टेज उपलब्ध गराएको छ। त्यही स्टेजमा अहिले विनोदले पनि प्रतिस्पर्धा गरिरहेका छन्।
विनोदसँगै चारजना विभिन्न चरण पार गर्दै फाइनल राउण्डमा पुगेका छन्। लोक स्टारका शीर्ष चार प्रतिस्पर्धीमध्ये उदयपुरका विनोद आफ्नो गायकीले श्रोता तथा निर्णायकको मन जित्दै आएका छन्। खारिएको प्रस्तुति दिँदै आएका दनुवार लोक स्टारका एक दाबेदार बनेर अहिले भोट मागिरहेका छन्।
उदयपुरको कटारी नगरपालिका ६ आँपटारको सामान्य परिवारका जन्मिएका दनुवारको पनि सांगीतिक क्षेत्र त्यति सजिलो रहेन। दनुवार समुदायमा जन्मिएका उनको परिवार दैनिक गुजाराका लागि अरुको ज्यला मजदुरी गर्ने गर्दछ। त्यही ज्यालादारी गर्ने परिवारमा जन्मेका दनुवार अहिले लोक स्टर बन्ने दौडधूपमा छन्।
लोप भएका मौलिक लोक संगीतको संरक्षण गर्छु
लोक स्टारकै प्रतिस्पर्धी रहेको दनुवार पश्चिमी संस्कृतिको प्रभावले मौलिक लोक संगीत लोप हुँदै गएको बताउँछन्। ‘मलाई लोक संगीत धेरै मन पर्दैन थियो,’ कुराकानीको क्रममा उनले भने, ‘जब मैले लोक स्टारमा भाग लिएँ तब त्यसको महत्व थाहा पाएँ।’
उनले मारुनी, हापरे, झ्याउरे, असारे, बालन लगायतका धेरै मौलिक सांगितिक भाकाहरु लोप हुँदै गएकाले त्यसको संरक्षण आफू लागि परेको पनि उनले दावी गरेका छन। ‘नेपाली मौलिक संगितहरु धेरै हराउँदै गएका छन्,’ उनले भने, ‘त्यही लोप हुँदै गएका गीत संगीतको संरक्षण गर्न म चाहन्छु।’
आफ्नो प्रयासले मात्र नभई सबैको साथ सहयोगले यहाँसम्म आइपुगेको उनी बताउँछन्। नेपाली पाखा पखेरी, कुना कन्दारमा रहेका मौलिक गीत संगीत बाहिर ल्याउन चाहन्छु। त्यसको लागि यही आउने कात्तिक ८ गते हुने फिनालेमा भोट दिएर सहयोग गरिदिन उनले अनुरोध गरेका छन्।
यस्तो छ, दनुवारको संगीतिक यात्रा’
२०५० सालमा बुवा गंगाबहादुर दनुवार र आमा झुकुमाया दनुवारको कोखबाट कान्छो सन्तानको रुपमा उदयपुरको कटारी नगरपालिका ७ रिस्कुमा जन्मेका हुन्। उनले कक्षा १ देखि १० सम्म जनप्रेमि माध्यमिक विद्यालय रिस्कुबाटै संगीतिक यात्रा सुरु गरेको बताउँछन्।
०६४ सालमा प्रवेशिका परीक्षा दिएर प्लस टु पठन बनेपा गएका थिए। त्यहीँ बस्दा उनले बागीमा संगीत स्कुलबाट आधारभूत संगीत सिके। ०६८ सालमा एकल स्वर, लय भएको तीन चारवटा गीत समावेश गरी ‘निर्दोष’ एल्वम निकाले। त्यसवेला एकल लगानी भएकाले घाटा खानु परेको उनले सुनाए।
एल्बमको ऋण तिर्न मलेसिया
लगानीमा बजारमा ल्याएको पहिलो एल्वमले घाटा खानुपरेपछि दनुवार वैदेशिक रोगजारीमा गएको बताउँछन्। ‘किसान परिवारमा जन्मेको मान्छे हुँ,’ उनले भने, ‘ऋण खोजेर निकालेको एल्वमले घाटा लगायो, अनि त्यही ऋण तिर्न मलेसिया गएँ। जुन ०७१ सालको कुरा हो। म त्यसवेला बनेपाकै प्रगतिशिल प्रभाव बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्ष पढ्दै थिएँ। पढाइ पनि छाडेर हिँड्नुपरेको थियो।’
संगीतिक क्षेत्रमा लाग्ने प्रेरणा
०७१ सालदेखि ०७५ सम्म मलेसिया बस्दा दनुवारलाई संगीतिक क्षेत्रमा लाग्न थप प्रेरणा मिल्यो। उनले मलेसियामा नेपालीहरुले आयोजना गर्ने विभिन्न संस्कृति कार्यक्रम भाग लिन थाले। ‘मैले मलेसिया हुने विभिन्न कर्यक्रम भाग लिँदा सधैँ उत्कृष्ट बन्थ्ये,’ उनले भने, ‘एल्वंम निकालेको ऋण तिर्न गएको म, कमाई पनि भएन, सबैले नेपालमै गएर संगीतिक क्षेत्रमा लाग्न हौसला प्रदान गरिरहे।’
पटकपटक फर्केर आउन खोज्दा पनि काम गर्न कम्पनीले नदिएको गुनासो गर्दै ०७५ सालमा फर्केपछि आरआर क्याम्पस काठमाण्डौं संगीत पढ्न नाम लेखाए। ‘मलेसिया हुँदा पनि त्यहाँ रहेका नेपाली कामदारको दुख र वेदनामा रहेर चार पाँचवटा गीत गाएको थिएँ,’ उनले भने, ‘त्यहाँ पनि मेरो संगीतिक यात्रा रोकिएन। झनै गीत संगीतमा लाग्न प्रेरणा मिलिरह्यो।’
स्टेज पाउन दनुवारको संर्घष
नवगायक गायिकाहरुलाई सर्वप्रथम स्टेज(मञ्च) पाउनै मुस्किल हुन्छ। त्यही स्टेज पाउने आशामा दनुवारले विभिन्न प्रतियोगितामा भाग लिने गरेको बताउँछन्। दनुवारले गाँउघरमा हुने प्रतियोगितादेखि स्कुल, कलेज तथा क्याम्पसमा प्रतियोगितामा सफलता हात पार्दै गएका थिए। ‘मैले जहाँ जुन गीत गाए पनि मेरो स्वभाव नै जित्ने भइसकेको थियो,’ उनले भने, ‘अनि ठूला प्रतियोगिताको विजेता बन्दा गायक बन्छु भन्ने लग्थ्यो र सहभागी हुन्थेँ।’
उनका अनुसार उनले आर आर आइडलको उपाधि हात पारेका छन्। यसैगरी, दनुवारले सिंगिङ सुपर स्टार, यसैगरी सिंगिङ स्टार, हिरो ट्यायलेन्टमा सहभागी हुँदै लोक स्टारको स्टेजमा पुगेका हुन्। ‘सुरुमा लोक स्टारमा भाग लिने २५ हजारभन्दा बढी प्रतियोगीहरू थिए,’ उनले भने, ‘मेरो गीत गाउँले कलाले साथ दिएर होला, म अहिले ग्रण्ड फिनालेमा चार जनामा पर्न सफल भएको छु।’
भोट माग्दै गाउँगाउँमा दनुवार
लोक स्टारको फिनालेको लागि टप फोरमा पुगेका दनुवार अहिले भोट माग्दै गृह जिल्लाको कटारी, बेल्टार, गाईघाट कटारी लगायतका क्षेत्रमा दोडधूप गरिरहेका छन्। मैले प्रदेश १ का विभिन्न जिल्लामा पुग्ने जमर्को चाहिँ गरेको छु,’ उनले भने, ‘समयले साथ दिएसम्म देशैभरी दौडिने छु, कहाँसम्म पुग्छु थाहा छैन।’
दनुवारले भोट माग्दै भने, 'म जसरी पनि टप वानमा पुग्नु पर्नेछ। त्यसको लागि भोटको आवश्यक पर्छ।’
नेपालबाट भोट गर्नको लागि एल टाइप गरी स्पेश छाडेर १३ लेखी ३७००० पठाउन आग्रह गरेका छन्। यसैगरी भारतबाट भोट गर्नको लागि एल टाइप गरी १३ लेखी ५३०१० र कतारबाट भोट गर्नको लागि एल टाइप गरी स्पेश छाडेर १३ लेखी ९२३०० मा पठाउन दनुवारले अनुरोध गरेका छन्।
‘त्रियुगा, कटारी लगायतका नगरपालिका तथा जिल्लाका स्थानीय पालिकाबाट आर्थिक सहयोग पनि पाउँदै छु,’ उनले भने, ‘भोट पनि माग्दै छु, भोट लगाउने तरिका पनि सिकाउँदै छु।’
उदयपुरका दनुवारसहित रामेछापका राजकुमार नेपाली, रोल्पाका शनि विश्वकर्मा र स्याङ्जाका चेतन गोतामे लोक स्टारका प्रतिस्पर्धी हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।