|

पर्सा : पर्सा प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न भरियालाई मात्र नभएर मगाउने र कारोवारीलाई पनि नियन्त्रणमा लिन सुरु गरेको छ। शरीरमा बाँधेर लुकाइछिपाइसमेत लागुऔषध ओसार-पसार गर्न थालेका धेरै युवा पक्राउ पर्न थालेपछि भरिया खटाउने र लागुऔषध मगाउनेलाई पनि नियन्त्रणमा लिन थालेको हो।

शरीरका विभिन्न भागमा लागुऔषध बाँधी लुकाइछिपाई लिएर आउँदै गरेका २३ वर्षका युवा बिहारी मलिक डोम र झापा काकडभिट्टाका ३१ वर्षीय विक्की भुजेल मंगलबार लागुऔषधसहित पक्राउ परे। डोमले शरीरमा बाँधेर ओनरेक्स १५ बोत्तल, भुजलेले कालो व्यागमा ल्याएको ५ बोत्तल ओनरेक्स, नाइट्रोभेट ६०० थान र स्पास्मो १६ क्याप्सुल बरामद भयो।

उनीहरू दुवै जना प्रहरी नियन्त्रणमा परे। थप अनुसन्धान गर्दै जाने क्रममा चितवनको भरतपुर महानगरपालिका ८ बस्ने २६ वर्षीय संदीप श्रेष्ठ र २५ को अनिल गुरुङ समेतको सहभागिता देखिएपछि उनीहरूलाई पनि पक्राउ गरी थप अनुसन्धान थालिएको पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र शाहीले बताए।

पहिले प्रहरीले रंगेहात पक्राउ परेकालाई नियन्त्रणमा लिने गरेको थियो। तर, अब उनीहरूलाई उक्साउने र सामान मगाउनेसम्मलाई अनुसन्धानको दायरामा ल्याउने उनको भनाइ छ। यो काम प्रहरीले पहिलेदेखि गरेको भए युवामा थप त्रास भई बढी जोखिम नउठाउने भए पनि प्रहरीले अहिलेबाट प्रयास थालेको हो। अब सीधा मात्र नभएर अलि बांगो पक्षलाई पनि निगरानी बढाइने पर्सा प्रहरीको भनाइ छ।

लागुऔषधसहित दुई पक्राउ

सर्लाही : सर्लाही प्रहरीले लागुऔषध कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ। बुधवार पत्रकार सम्मेलन गरि उनीहरूलाई सार्वजनिक गरिएको हो। प्रहरीको नियमित गस्तीको क्रममा जिल्लाको ब्रम्हपुरी गाउँपालिका-३ बाट चन्द्रनगर गाउँपालिका-५का १९ वर्षीय सुनिलकुमार राम र चक्रघट्टा गाउँपालिका-२ का सचिनकुमार यादवलाइ पक्राउ गरेको हो।

छिमेकी मुलुक भारतको सोनवर्षाबाट साइकलमा आउँदै गर्दा शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट नाइट्राभेट-१० लेखिएको ट्याब्लेट ४७ पत्ता, स्पास्मो प्रोक्सिभन ट्याब्लेट-१ पत्ता, डाइलेक्स-सिडी-१०० एमएल ३ बोतल र कोसोमे-एलसिडी-३ बोतल फेला परेको प्रहरीले जनाएको छ। उनीहरूलाई लागुऔषध मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सर्लाही प्रहरी प्रमुख (एसपी)गोपालचन्द्र भट्टराइले जानकारी दिए।

पछिल्लो समय जिल्लामा प्रहरीले लागुऔषध कारोबारमा सक्रियताका साथ निगरानी बढाएको भए पनि मुख्य कारोबरीलाइ समात्न नसक्दा लागुऔषध कारोवारमा कमी नआएको जानकार बताउँछन्।

आधा अवैध मदिरा भट्टीमा प्रहरीको छापा, गाँजा फडानी

सिरहा : जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका ६ सीतापुर बजार क्षेत्रमा लहान प्रहरीले आधा दर्जन अवैध मदिरा उत्पादन गर्ने भट्टीमा छापा मारी भाँडावर्तन जफत गर्नुका साथै तयारी मदिरा र कच्चा नष्ट गरेको छ।

लहानस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भेषराज रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार बिहान सीतापुर बजार क्षेत्रका विभिन्न छ घरमा अवैध ढङ्गले संचालन गरिएको मदिरा भट्टी नष्ट गरिएको हो। डिएसपी रिजालले अवैध भट्टी नष्ट गरिनुका साथै बिक्रीका लागि राखिएको करिब एक हजार लिटर घरेलु मदिरा र दुई हजार लिटर कच्चा पदार्थ स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको बताए।

डिएसपी रिजाल कमाण्डको प्रहरी टोलीले अवैध मदिरा उत्पादनका लागि प्रयोग गरिएका  आल्मुनियम, ड्रम, ग्यालेनसहित ३४ वटा प्लाष्टिकका भाँडा-वर्तनसमेत जफत गरेको उनले बताए। प्रहरीले मदिरा भट्टीमा छापा मार्नु अगाडि नै संचालकहरु भागेकाले खोजी भइरहेको डिएसपी रिजालले उल्लेख गरे।

त्यस्तै, इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको टोलीले बुधबार सिरहाको कर्जन्हा नगरपालिका १ बल्टिया गाउँ क्षेत्रमा करिब दुई हजार वटा गाँजाका बिरुवा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स्थानीय बासिन्दाको खेतबारीमा आफैँ उम्रिएको गाँजा फँडानी गरी नष्ट गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.