प्लास्टिकको माला घट्यो, झिलीमिली बत्ती आयात बढ्यो

|

विराटनगर : फूलैफूलको पर्व तिहार अर्थात् दीपावलीको रमझम सुरु भएको छ। दीपावलीमा विशेष गरी सयपत्री फूल र झिलिमिली बत्तीको माग बढी हुने गरेको छ।

अत्यधिक बढी माग हुने सयपत्री फूलको मोरङमा व्यावसायिक खेती छैन। भारतबाट आयात गर्ने फूल व्यवसायीको जमात पनि ठूलो छैन। जसका कारण यस पटक विराटनगरमा फूलको अभाव हुने ठानिएको छ।

विराटनगरको मेन रोडस्थित जयमा काली फूल डेकोरेसनमा तिहार लक्षित गरी सयपत्रीको माला बनाउने हतारो छ। तर, सयपत्री भने भारतबाट आयातित रहेको फूल व्यापारी कुमार राजवंशी बताउँछन्। भारतीय फूलको जस्तो यहाँको फूलको थुंगा ठूला नहुने भएकाले भारत कोलकत्ताबाट आयात हुने गरेको उनको भनाइ छ।

पूर्वी पहाडी जिल्ला इलाम तथा धनकुटाबाट पनि कहिलेकाहीँ विराटनगरसम्म फूल आयात हुन्छ। यसपटक पहाडी जिल्लाबाट फूल आउन सकेको छैन।

गत वर्ष हौसिएर कोलकताबाट फूल मगाउँदा सस्तो बेच्नु परेको र घाटा व्यहोर्नु परेको भन्दै यसपटक थोरै मात्र फूल मगाएको उनको भनाइ छ। जसका कारण यस्पटक विराटनगरमा सयपत्री फूलको अभाव हुनसक्ने आंकलन गरिएको छ।

गमलामा सयपत्री उमारेर विक्री नर्सरीहरूले गरिरहेका भए पनि फूलका थुँगा बेच्ने व्यावसायिक खेती विराटनगर महानगरपालिकामा खासै छैन। विराटनगर महानगरपालिका मात्रै नभएर मोरङ वा प्रदेश-१ मा कति फूलको व्यापार हुन्छ र कति व्यावसायिक खेती छन् भन्ने तथ्यांक राज्यका कुनै निकायसँग पनि छैन। जसका कारण फूल खेती फष्टाउन वा प्रोत्साहित हुन सकिरहेको छैन।

विराटनगरको केशलिया नदी किनारको डाँडो जमिनमा लगाएको सयपत्री फूलबाली यो पटक खासै सप्रिएन। लामो समय वर्षा हुँदा हजारौँ फूलका बोट मरे। झण्डै चार बिगाह जमिनमा खेती गरे पनि अहिले करिव दुई हजार जति फूलको बोटले उत्पादन दिइरहेको किसान रतन जाना बताउँछन्। 

रतन जाना भारत पश्चिम बंगालका नागरिक भए पनि वर्षौंदेखि विराटनगरमा फूलको व्यापार गर्दै आएका छन्। पश्चिम बंगाल फूल उत्पादनमा राम्रो क्षेत्रको रूपमा परिचित छ। यो वर्ष केसलिया नदी किनारको अग्लो जमिनमा चारजना किसानले व्यावसायिक रूपमा सयपत्री फूलको खेती गरेका छन्।

त्यहाँ करिब ७ विगाह जमिनमा फूल लगाइएको छ। ‘जति फूल हुर्किएको छ, त्यसको उत्पादन राम्रो छ,’ किसान सन्दीप दोलैले भने ‘तर, यहाँ उत्पादित फूलमा छिट्टै ओइलाउने समस्या छ।’  सन्दीपले करिव एक विगाह जमिनमा फूलखेती गरेका छन्।

ग्रामीण क्षेत्रका केही किसानले थोरैथोरै परिमाणमा फूलको खेती गरेको र उनीहरूले फूल बिक्रीका लागि सम्पर्क गरिरहेको व्यवसायीहरूले बताएका छन्। विराटनगरमा भारतबाट फूल आयात गरेर नियमित कारोवार गर्ने १२ जना व्यवसायीहरू छन्। ती अधिकांश पश्चिम बंगालका भारतीय नागरिक नै छन्। तीमध्ये चारजनाले आफैँले यहाँ फूलको खेती गरिरहेका छन्। फूल व्यवसायी रञ्जित बेराले सिंघीया खोला किनारमा खेती गर्दै आएका छन्।

विराटनगरका १२ वटा फूल कारोबारी पसलेले वार्षिक ३० मेट्रिक टनको हाराहारीमा भारतबाट फूल आयात गरेर बिक्री गर्ने गरेको जानकारी दिएका छन्। नेपालको उत्पादन आकस्मिक अर्डर आउँदाको लागि मात्र हुने उनीहरूको भनाइ छ।

सयपत्रीको गमलामा हारालुछ

पछिल्लो समय नर्सरीबाट फूल्ने बेला भएका सयपत्री फूलको विरुवा किनेर घर आंगनमा रोप्ने चलन बढेको छ। जसका कारण तिहार नजिकिएसँगै विराटनगर महानगरपालिकाका नर्सरीहरूलाई सयपत्री फूलको विरुवा बिक्री गर्न भ्याइनभ्याई छ।

विराटनगर महानगरपालिका १४ स्थित अर्निका नर्सरीका संचालक रमेश मण्डलले एक महिना यता सयपत्रीको १० हजार विरुवा बिक्री भइसकेको बताए। उनले ३० हजार विरुवा विक्री गर्ने तयारी गरेका छन्। उनको नर्सरीमा ३० रुपैयाँदेखि एक सय ५० रुपैयाँ मूल्यसम्मका विरुवा छन्। विराटनगरमा २ दर्जन बढी नर्सरी संचालनमा छन्। तीमध्ये अधिकांश नर्सरीमा अहिले सयपत्री फूलका विरुवा किन्नेको भीड लाग्ने गरेको छ।

झिलिमिली बत्ती आयात बढ्यो, प्लाष्टिक फूलमा कमी

भारतबाट पनि तिहार र छठमा सजावटका लागि प्रयोग गरिने प्लाष्टिकका फूल आयातमा पनि कमी आएको छ। विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार गतवर्ष यो सिजनमा ४६ लाख ११ हजार मूल्य बराबरको १८ हजार ८ सय ७८ किलो प्लाष्टिकका फूल आयात भएको थियो।

यस वर्ष साउनयता २७ लाख ९६ हजार मूल्य बराबरको ८ हजार २ सय ३८ किलो मात्रै आयात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। तिहारमा प्रयोग हुने झिलमिल बत्तीको आयातमा भने वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.