|

कास्की : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी कास्कीले विद्या भट्टराईलाई मंसिर १४ को उपनिर्वाचनका लागि सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको छ। 

शुक्रबार बसेको जिल्ला कमिटी बैठकले गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी पत्नी विद्याको नाम सर्वसम्मत सिफारिस गरेको हो।

विद्यालाई कास्की २ मा मंसिर १४ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार बनाउन नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले नै प्रस्ताव गरेका थिए। 

‘विद्या कमरेडलाई यहाँको उपनिर्वाचनमा उम्मेदवार बनाउन अध्यक्षका हैसियतले मैले नै प्रस्ताव गरेको हुँ’, थापाले थाहाखबरसँग भने, ‘मेरो प्रस्तावलाई जिल्ला कमिटी बैठकले सर्वसम्मत पारित गर्दै केन्द्रीय कमिटीमा सिफारिस पठाउने निर्णय गरेको छ।’

यो पनि :  म राजनीतिमा फर्किन सक्छु

पार्टीबाट नाम सिफारिस भएकी विद्या तत्कालीन अनेरास्ववियुको केन्द्रीय सचिवसम्म भएकी थिइन्। रवीन्द्र अधिकारीसँग बिहे भएपछि उनले राजनीतिलाई विश्राम दिएकी थिइन्। रवीन्द्रसँग बिहेपछि उनी प्राध्यापनतर्फ लागेकी थिइन्। उनी हाल त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत छिन्। 

यस्तो थियो रवीन्द्रको परिणाम 

२०७४ को आमनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका थिए। उनले ८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै विजयी भएका थिए।

अधिकारीले २७ हजार २सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए।प्राज्ञिक र बलियो उम्मेदवारको रुपमा हेरिएका चालिसेलाई रवीन्द्रले हराएको स्थानमा राजनीतिक ज्ञानसमेत राम्रो रहेकी विद्याले जित्ने निचोड नेकपाले निकालेको छ । कास्कीबाट रवीन्द्रले लगातार तीन पटक जितेका थिए।

२०५६ सालमा तत्कालीन नेकपा मालेबाट कास्की क्षेत्र नम्बर १ मा अधिकारीले चुनाव हारेका थिए । त्यतिबेला उनले १ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए ।

पहिलो संविधान सभाको निर्वाचनमा माओवादी उम्मेदवार झलकपाणि तिवारीसँगको प्रतिस्पर्धामा झन्डै २ हजार ५ सय मतले निर्वाचन जितेका रवीन्द्र अधिकारीले दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवार सोभियतबहादुर अधिकारीलाई २ हजार ३ सय २ मतले हराउँदै विजयी भएका थिए ।

सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउन पहल गरेर रवीन्द्र अधिकारी लोकप्रिय थिए। तर पर्यटनमन्त्रीको पद सम्हाल्दा सम्हाल्दै उनी हेलिकोप्टर दुर्घटनामा अस्ताउन पुगे। रवीन्द्र गायक प्रवीण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसको उपाधि खोस्ने आन्दोलनका कारण चर्चित भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.