नेपाली सनातन समाजमा स्वस्थानी व्रत बिहीबार शुरु भएको छ। यो हिन्दू नेपाली समाजको मौलिक व्रत हो। भारतीय हिन्दूहरूमा स्वस्थानीको व्रत वस्ने र कथा सुन्ने प्रचलन छैन। यो व्रत लिने चलन पहिले नेपाली नेवारी समाजमा मात्र थियो। व्यापारिक सिलसिलामा उनीहरू देशका कुनाकन्दरा पुग्ने क्रम बढेपछि सनातन समाजले पनि यसलाई आत्मसात गर्यो। नेवार र सनातन धर्म अँगाल्नेहरूको बाहुल्य भएका भारतको दार्जिलिङ, सिक्किम र भुटानमा समेत स्वस्थानी व्रत लिने र कथा सुन्ने प्रचलन छ।
‘वैदिक धर्म मूल रूपमा’ (शिवराज आचार्य कौण्डिन्न्यायन, दो.सं.२०६२ स्वाद्ध्यायशाला) पुस्तकका अनुसार स्वस्थानी कथाको पुरानो रूप ५०० वर्षजति अघि नेवारी भाषामै रहेको पाइन्छ। लगभग त्यति नै वर्षयता नेपाली भाषामा पनि अनुदित भई व्रत बस्ने र कथा सुन्ने परम्पराको विकास भयो। अहिले पनि साँखुलगायतका स्थानमा नेवारी भाषाको स्वस्थानी व्रतकथा पाइन्छ। चान्द्रमानको पात्रोअनुसार पौषशुक्ल पूर्णिमामा शुरु भई माघ शुक्ल पूर्णिमामा अन्त्य हुन्छ। विधिपूर्वक व्रत बस्ने र मध्याह्नमा महादेव र श्रीस्वस्थानीको पूजा गर्ने कथा भन्ने–सुन्ने परम्परा चलिरहेकै छ।
को हुन् स्वस्थानी ?
स्वस्थानी माहत्म्य भएपनि कथामा देवीको उत्पत्तिबारे खुलाइएको छैन। कथाका एक तिहाइ भाग सकिँदासम्म स्वस्थानी देवी को हुन् भन्ने खुल्दैन। पार्वतीले अनेक प्रयास गर्दा पनि महादेव पति नपाएपछि भगवान् विष्णुले ‘श्रीस्वस्थानी परमेश्वरी’को व्रत गर्ने सल्लाह दिए। त्यसैबेला यस्तो प्रसंग आउँछ– अष्टमातृका (चामुण्डा, महाकाली, वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, वाराही र इन्द्राणी) को माझमा तीन नेत्र, चार हात भएकी, विभिन्न वस्त्रालङ्कारले विभुषित भई त्रिशुल, तरवार, कमल र चक्र लिएर विराजमान भएकी सुवर्णको आभायुक्त स्वस्थानी देवीको स्वरूप छ।
सतीदेवीको मृत शरीरबाट एक-एक अंग पतन हुँदा एक-एक पीठ बनेको, प्रत्येक पीठमा एक देवी र एक ईश्वर(महादेव) उत्पत्ति भएको र दर्शन गर्न आएका प्रत्येकलाई ईश्वरी (कथाकै शब्दमा) ले दर्शन दिएको प्रसंग आउँछ। देवी–देवता, मानिस, अन्य प्राणी र वनस्पतिलाई दर्शन दिई मागेअनुरूप वरदान दिने ईश्वरी यिनै स्वस्थानी परमेश्वरी त होइनन् ? पछि पार्वतीले विष्णुको सल्लाहमा व्रत बस्दा स्वस्थानी परमेश्वरी खुशी भई वरदान दिएको सन्दर्भ आउँछ।
यस्तै महादेवकी अर्की पत्नी गंगा, गोमा र चन्द्रावतीले विधिपूर्वक व्रत बसेर समापन गर्दा स्वस्थानी देवी प्रसन्न भएर वरदान दिएको कथामा उल्लेख छ। आफैंले व्रत गरेको र ऋषिहरूलाई गोमाकहाँ पठाएर व्रत बस्न प्रेरित गरेबाट पनि पार्वतीले समेत मानेकी देवी भएकी छिन्, स्वस्थानी।
व्रत कहाँबाट ?
पद्मपुराणअन्तर्गत पार्वती–सदाशिवसंवाद भनिएको स्वस्थानी व्रतकथा १५३ श्लोकको छ। एउटा बाहेक सबै श्लोक अनुष्टुप छन्दमा छन्। यहाँ महादेवले पार्वती स्वस्थानीको व्रतविधि र कथा बताएका छन्। अहिले पढिने कथाको १९\२० औ अध्यायबाट शुरु हुने शिवभट्ट ब्राह्मण दम्पतीको प्रसङ्ग उठाइएको छ। दुःखी दरिद्री शिवभट्ट दम्पती सत्कर्मबाट सम्पन्न बनेको, देवताहरूसमेत डराएको, उनकी छोरी गोमालाई महादेवले श्राप दिएको, दश वर्षको उमेरमा गोमाको विवाह वृद्ध शिवशर्मासँग भएको, रोगका कारण शिवशर्माको मृत्यु भएको, नवराजको जन्म भएपछि गोमाले दुःख गरी संस्कार सम्पन्न गराएको लगायत वर्णन छ।
छोरा परदेश गएको र बुहारीले पनि साथ नदिएको, दुखपूर्वक जीविका गरिरहेका बेला गोपालहरूले स्वस्थानी परमेश्वरीको व्रतविधि सुनाएको, यसैका प्रभावबाट नवराज लावण्यपुरीको राजा भएको सन्दर्भ आउँछ। यस्तै रानी भएको खबर पाएर लावण्यपुरी जान हतारिएकी नवराजकी स्त्रीले स्वस्थानीको प्रसाद थु–थु गरी डोलेहरूको अपमान गरेका कारण बिच बाटोमा आँधीबेहरी आई वर्षौं नदीकिनारमा बस्नुपरेको र पछि स्वस्थानी व्रतको प्रभावले पति सासुसँग भेट भई सुखपूर्वक जीवन बिताएको उल्लेख छ।
व्रतविधि र समय
पद्मपुराणअन्तर्गत भनिएको १५३ श्लोकको स्वस्थानी व्रतकथामा ‘माघस्य पूर्णिमायां तु स्वस्थानीव्रतकं चरेत्’ अर्थात् माघको शुक्लपक्ष पूर्णिमाका दिन स्वस्थानीको व्रत गर्नू भनिएको छ। यहाँ पनि १ सय ८ पुष्प, चन्दन, धूप आदि सामग्री तयार पारी भक्तिभावले स्वस्थानीको पूजा–आराधना गर्ने विधान बताइएको छ। यसैगरी पकाएको नैवेद्य (रोटी) पनि १०८ कै संख्या चढाउनुपर्ने उल्लेख छ।
८ रोटी सहधर्मी (पति) लाई दिने र सय रोटी आफूले खानुपर्ने उल्लेख छ। यद्यपि अहिले पुसको पूर्णिमामा व्रत सुरु गरी माघको पूर्णिमामा समापन गर्ने चलन छ। विधिपूर्वक व्रत नबस्नेले पनि प्रत्येक दिन एक अध्यायका दरले स्वस्थानी व्रतकथा पढ्ने र अन्तिम दिन विशेष पूजा गर्ने गर्छन्। विशेषगरी स्वस्थानी कथामै आउने लावण्यपुर (साँखु) मा एक महिनासम्म विधि–विधानसँग व्रत बस्ने चलन अहिले पनि छ।
कथा कहाँबाट ?
प्रत्येक अध्याय सकिएपछि व्रतकथामा एउटा संस्कृत वचन राखिएको पाइन्छ– इति श्रीस्कन्दपुराणे माघमाहात्म्य केदारखण्डे... इत्यादि। यस वचनअनुसार श्रीस्वस्थानी व्रतकथाको आधार स्कन्दपुराण हो, यही पुराणको माघमाहात्म्य केदारखण्डबाट कथा बनाइएको हो। तर स्वस्थानीमा आउने सबै कथा स्कन्दपुराणमा मात्र भेटिँदैनन्। स्वस्थानीका ३१ अध्याय बनाउन अरु पुराणको पनि सहायता लिइएको छ। स्कन्द, भागवत, पद्म आदि विभिन्न पुराणका कथांश जोडी सिंगो स्वस्थानी व्रतकथा बनाइएको हो। कथालाई रोचक पार्न केही थपिएका र केही घटाइएका कारण पुराणका प्रसंग केही ठाउँमा अमिल्दा पनि देखिन्छन्।
के छ कथामा ?
अहिले नेपाली भाषामा पाइने ३१ अध्यायको स्वस्थानी व्रतकथा विविधतायुक्त छ। सुरुका केही अध्यायमा पौराणिक भूगोल वर्णन, प्राणीहरूको उत्पत्ति, कल्प–मन्वन्तरपिच्छेका स्वर्गका अधिपति इन्द्र, सप्तर्षि आदिको वर्णन पाइन्छ। त्यसपछिका केही अध्याय दक्षप्रजापतिकी छोरी सतीदेवी महादेवले पाउन गरेको संघर्ष विवाह भइसकेपछि महादेवका केही लीला र सतीदेवीको आत्मदाहसम्बन्धी प्रसंग आउँछ। बिचमा मय दानवले बनाएको त्रिपुर वर्णन र दैत्यहरूको अत्याचारका कारण महादेवले त्रिपुरदाह गरेको प्रसंग कम रोचक छैन।
पत्नीशोकले विह्वल भई पृथ्वीको भ्रमण गर्ने महादेवको कथा पनि मार्मिक छ। आत्महत्या गरेकी सतीदेवी अर्को जन्म लिई हिमालय र मेनकाको छोरी भई जन्मेको र महादेव पति पाउन गरेको संघर्ष र महादेव पावर्तीको विवाहसम्बन्धी सन्दर्भ आउँछ। बिचमा तारकासुर वधको सन्दर्भ उल्लेख छ।
गणेश र कुमारको जन्म, जालन्धर–वध, वृन्दाको सतीत्व नष्टजस्ता प्रसंग थपेर कथालाई विविधता दिइएको छ। कथाको लगभग दुई तिहाई भाग सकिएपछि मात्र शिवशर्मा ब्राह्मण दम्पतीको कथा शुरू हुन्छ। पद्मपुराणको कथामा पटकथा थपी १०/१२ अध्याय लम्ब्याइएको छ।
स्वदेशी तीर्थस्थल
प्रकाशनको समय नखुलेको रत्न पुस्तक भण्डारबाट प्रकाशित श्रीस्वस्थानी व्रतकथाको भूमिकामा बुद्धिसागर पराजुली लेख्छन्, ‘स्वस्थानीको कथा हिन्दूहरूको पौराणिक कथामध्ये नेपालीहरूको निजी विशेषता भएको कथा हो।’ स्वस्थानीमा आउने तीर्थस्थल पनि नेपाली नै छन्। पुराणहरूमा भारतस्थित तीर्थस्थलका प्रसंग अधिक रूपमा आउँछन् तर यहाँ नेपाली तीर्थस्थललाई नै महत्त्व दिइएको छ। किराँतेश्वर, गौरीघाट, मृगस्थली, गोकर्ण, लावण्यदेश, वागमती, शालीनदीजस्ता तीर्थस्थलको उल्लेख र महिमा बताइएको छ।
स्वस्थानी व्रतकथा : शास्त्र कि संग्रह ?
स्वस्थानी व्रतकथाका केही सन्दर्भ उठाएर सनातन धर्मको आलोचना पनि हुँदै आएको छ। तर तथ्य के हो भने स्वस्थानी व्रतकथा वैदिक सनातन विधिशास्त्र होइन। धर्मशास्त्रको सार पनि होइन। पुराणका कथा देश–काल–परिस्थितिअनुकुल जोरजाम मात्र गरिएको हो। यद्यपि मानिसलाई आध्यात्मिकतातर्फ लैजान स्वस्थानी व्रत र कथाको महत्त्व नभएको भने होइन। कथामा आउने विभिन्न सन्दर्भलाई चर्मचक्षुले मात्र नभई आध्यात्मिक दृष्टिले हेर्ने हो भने थुप्रै सन्देश भेटिन्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।