|

काठमाडौं : भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे संसदीय समितिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गर्दैछन्।

भारतीय अतिक्रमणको मुलुकभर विरोध भइरहेको र सरकारले पनि उक्त नक्साप्रति आफ्नो विरोध भारतसामू जनाइसकेको अवस्थामा संसदीय समितिहरूले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग सोमबार छलफल गर्न लागेका हुन्।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले आज साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न लागेको छ। समितिले प्रधानमन्त्रीसँग भारतीय नक्सामा नेपाली भूमि पारेकोबारे छलफल गर्न लागेको हो।

त्यस्तै, प्रतिनिधिसभाकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सोही विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई समितिमा बोलाएको छ। आज ११:३०बजे बस्ने बैठकमा कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेक विषयमा परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल गर्ने यो समितिको कार्यसूची रहेको छ।

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई गत आइतबार सार्वजनिक गरेको आफ्नो नक्सामा राखेपछि नेपालमा उक्त कदमको विरोध भइरहेको छ। प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरू, सीमाविद् तथा यो विषयका विज्ञसँग छलफल गरेर भारतीय कदमको विरोध गर्दै नेपाली भूमि रक्षाका लागि राष्ट्रिय सहमति तयार पारेका छन्।

मुलुकका विभिन्न क्षेत्रमा भारतीय कदमको विरोध भइरहेका बेला संसदमा पनि उक्त कदमबारे छलफल हुन लागेको हो।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.