|

काठमाडौं :  गत मंसिर ८ गते गोपालमान राजवाहकको मोबाइलमा पटकपटक खाताबाट रकम निस्किएको म्यासेज बजिरह्‍यो।

उनले आफ्नो खाताबाट आफैँले रकम ननिकालेको अवस्थामा पटकपटक गरेर १९ लाख ९० हजार रुपैयाँ घटेपछि महानगरीय प्रहरी परिसर टेकुमा उजुरी गरे। तत्कालै परिसरका प्रवक्ता होविन्द्र बोगटीको नेतृत्वमा जनता बैंकका विभिन्‍न क्षेत्रमा प्रहरी परिचालन भयो।

पुन: ९ गते राजवाहकको खाताबाट पुन: न्युरोड शाखामा रकम निकाल्न जाँदा प्रहरीले एकजनालाई पक्राउ गर्‍यो। पक्राउपछि सोधपुछको क्रममा गिरोहमा ६ जना रहेको प्रहरीले पत्ता लगायो।

त्यही दिन नै प्रहरीले ६ जनालाई नै नियन्त्रणमा लियो। पक्राउ पर्नेमा सुवास श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल, गोविन्द घिमिरे रहेका छन्। नियन्त्रणमा लिएका सबै अभियुक्त १९ देखि २५ वर्षका रहेका छन्।

उनीहरूलाई कसैले परिचालन गरिरहेको या आफैँ यस्तो गिरोह बनाएर लागेको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

उनीहरूको साथबाट विभिन्‍न बैंकका ठूलो परिणामका चेकबुक,नक्कली खाता खोल्न तयार पारेका फर्महरू, एनआइसी एसियाका भिजा कार्ड, विभिन्‍न व्यक्तिहरूका नागरिकताको फोटोकपी, ती व्यक्तीहरूका नक्कली सिग्नेचरसहितका कागजहरू प्रहरीले बरामद गर्‍यो।

उनीहरूको साथबाट प्रहरीले नगद १८ लाख ५० हजार, विभिन्‍न व्यक्तिका नागरिकताको प्रतिलिपि २९० पाना, विभिन्‍न व्यक्तिका खाताबाट निकालेको रकमको अभिलेख, फोटो ८२५, एनआइसी एसियााको एटिएम कार्ड ८२ र अन्य बैंकका ८ वटा कार्ड, र ३२९ वटा चेक लगायतका सामग्री प्रहरीले बरामद गरेको छ।

महानगरीय परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपालको इतिहासमा यस्तो घटना पहिलो रहेको बताए। 'ह्याक गरेर अवैध रकम निकाल्ने घटना पुरानो भए पनि अन्य व्यक्तिको चेक पुन: आफूहरूले बनाएर अवैध रकम निकालेको यो पहिलो घटना हो।'

अभियुक्तहरूले बैंकमा खाता रहेका विभिन्‍न व्यक्तिहरूको चेकमा रहेको हस्ताक्षर चोरी त्यही व्यक्तिको नाममा चेक हराएको निवेदन दिई नयाँ चेकबुक निकाल्ने र हस्ताक्षर मिलाई लाखौं रकम निकाल्न सफल भएका खुलेको हो।

कैयौँ व्यक्तिहरूको नाममा रहेको विभिन्‍न बैंकका खाताहरूको सयौँ थान चेक लिन कसरी सफल भए भन्‍नेबारेमा प्रहरी आफैँ आश्चर्यमा रहेको प्रमुख सुवेदीले बताए।

एक दुई चेक संयोग हुन सक्छ। तर, यती ठूलो परिणाममा विभिन्‍न आठवटा बैंकको चेक लिन सफल भएपछि प्रहरीको अनुसन्धान बैंकका कर्मचारीतिर पनि सोझिएको छ। 'यहाँ बैंकहरूका कर्मचारीहरूको मिलेमतो र लापरबाही देखिएको छ', प्रमुख सुवेदीले भने, 'हामीले राष्ट्र बैंकको अनुमति र विभिन्‍न बैंकका कर्मचारिहरूलाई अनुसन्धान गरिरहेका छौं।'

सेवाग्राहीका सम्पत्ति सुरक्षित राख्न बैंकहरू असफल भएका प्रशस्त उदाहरण छन्।  विभिन्‍न समय नेपालका बैंकबाट अवैध रकम निकाल्ने घटनाको यो नौलो भने होइन। यसखालको घटनामा सम्बन्धित बैंकहरूले गम्भीर रूपमा लिनुपर्ने प्रमुख सुवेदीले बताए।

अर्काको हस्ताक्षर चोरेर निकालियो २० लाख, दुई बोरा कागजपत्र बरामद

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.