|
पक्राउ परेकाहरु । तस्बिर : सन्देश बिडारी

काठमाडौं : अर्काको हस्ताक्षर नक्कल गरी बैंकबाट रकम झिक्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रे पाँचखाल नगरपालिका–३ घर भई काठमाडौं कालिमाटी बस्दै आएका १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ बर्षीय मनिष घिमिरे, २१ बर्षीय अन्जन बराल पक्राउ परेका हुन्। 

त्यस्तै बाग्लुङ गलकोट घर भई काठमाडौं बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक घर भई काठमाडौं सुविधानगर बस्ने ३० वर्षीय गोबिन्द घिमिरे रहेका छन् । 

उनीहरुको साथबाट १८ हलाख ५० हजार रुपैयाँ नगद पनि बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। हस्ताक्षर चोरेर रकम निकाल्ने समूहबाट प्रहरीले दुई बोरा कागजपत्र बरामद गरेको छ। 

उनीहरुले गोपालमान राजवाहकको हस्ताक्षर किर्तेगरी जनता बैंकमा रहेको खाताबाट पटक–पटक गरी १९ लाख ९० हजार रुपैयाँ निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी होविन्द्र बोगटीले बताए। 

उनीहरुले अर्काको खाताको रकम झिक्नका लागि विभिन्न २९० जनाको नागरिकताको प्रतिलिपि पनि संकलन गरेको अवस्थामा फेला परेको छ। त्यसैगरी करिब एक थान एटिएम कार्ड पनि फेला परेका छन्। पक्राउ परेका सबैजनाविरुद्ध बैंकिङ कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.