ब्यानरमा लेखिएको छ काठमाडौं र पोखरा मात्रै

|

काठमाडौं : नेपालले आयोजना गरेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) २७ खेल तीन क्षेत्रमा गरिँदै छ। क्षेत्रअनुसार फरकफरक खेलको तालिका सार्वजनिक गरिएको छ। मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा यी खेलहरू हुनेछन्। जसबाट ३२४ स्वर्ण, त्यति नै रजत र ४७८ कांस्यसहित १ हजार १३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

सागमा समावेश २७ खेलमध्ये कुस्ती जनकपुरमा हुँदैछ। तर, खेलकुद परिषद्ले ब्‍यानरमा लेखेको विषय र खेलको लागि तय गरेको स्थान बीच तादम्यता नमिलेको देखिन्छ। परिषद्को अफिसियल ब्‍यानरलाई पत्याउने हो भने सागका सम्पूर्ण खेलहरू काठमाडौं र पोखरामा हुनेछन्। तर, परिषद्ले नै तय गरेको खेल हुने क्षेत्रमा भने जनकपुर पनि अटाएको छ। 

खेलकुद परिषद् खेलका लागि पत्रकार तथा अन्य सरोकारवालालाई पठाएको कुनै पनि कार्डमा जनकपुरको नाम राखेको छैन। सबैमा काठमाडौं र पोखरा मात्रै राखिएको छ। 

जनकपुरमा हुने कुस्ती

तराईको २२ जिल्लामा महत्वपूर्ण खेलका रूपमा कुस्ती खेललाई लिइन्छ। तर, सागलाई सफल पार्न काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा अफिसियल ब्यानर टाँगिएको छ। तर, उक्त व्यानरमा जनकपुरको नाम अट्न नसकेपछि जनकपुरबासी रुष्ट बनेका छन्।

नेपाल पर्यटन वर्ष २०२० प्रदेश नम्बर २ का संयोजक तथा साग मूलआयोजक समिति जनकपुरका सदस्य मनीष झाले सागको ब्यानरप्रति आपत्ति जनाएका छन्।

'जनकपुरमा पनि सागमा समावेश कुस्ती खेल हुँदै छ। यसले जनकपुरवासी खुशी छन्। तर, अफिसियल ब्यानरमा जनकपुर नलेखेपछि जनकपुरवासीले स्वामित्व स्वीकार नगर्न सक्छन्', सदस्य झाले भने, 'नेपालको इतिहासमा सागमा जनकपुरमा पनि खेल हुन लागेको यो पहिलोपटक हो। यसले इतिहास लेखिन सक्थ्यो। तर, व्यानरमा जनकपुरको नाम अट्न नसकेको कारण खल्लो महसुस भएको छ।'

 खेलका लागि कभर्डहलको मर्मतसम्भार, रंगरोगनलगायत आवश्यक पूर्वाधारका काम पूरा भइसकेको  छ। सागको जनकपुरमा साग सफल पार्न आफूहरूले सक्दो भूमिका निर्वाह गर्ने झाले बताए।

सुरुवाती चरणमा जनकपुरमा खेल हुने नहुनेबारे अनभिज्ञ रहेकाले ब्यानरमा नाम नलेखिएको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले बताए। उनले ब्यानरमा जनकपुरको नाम नअट्नुमा आफूहरूको गल्ती स्वीकार गर्दैनन्। 'कहाँ कुन ब्‍यानर यस बारेमा मलाई ज्ञान भएन। नयाँ ब्यानरमा जनकपुरधाम लेखिनेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.