|

पर्सा : अयोध्याबाट जानकपुरधाम धनुषामा आएका जन्तीलगायतका पाहुनालाई वीरगन्जमा पनि स्वागत गरिने भएको छ। विगतमा झैँ यो वर्ष पनि अयोध्याका पाहुना वीरगन्जको बाटो भएर फर्कंदा वीरगन्जमा स्वागत गरिने भएको हो।

आगामी मंसिर १७ गते बिहान ८ बजे जनकपुरधामबाट बिदा भई मध्यान्ह २ बजे वीरगन्ज आइपुग्ने अयोध्याका पाहुनालाई विश्व हिन्दु परिषद् नेपाललगायतका संघ संस्थाको अगुवाइमा वीरगन्जमा पनि स्वागत गर्ने तयारी रहेको विश्व हिन्दु परिषद् नेपालका पर्सा अध्यक्ष ओमप्रकाश साह कानुले बताए।

'सुरुमा वीरगन्जको घण्टाघर चोकमा बरात (जन्ती) लाई फूलमालाले स्वागत गर्छौं। त्यसपछि स्थानीय राणी सती अतिथि सदनमा भोजन गराई यहाँबाट पनि बिदा गर्छौं' उनले भने।

अयोध्याका पाहुनालाई विश्वहिन्दु परिषद् पर्सा, ब्राम्हण समाज नेपाल पर्सा, शिक्षाविद्, समाजसेवीलगायतले सम्युक्त रूपमा सम्मान र बिदाइ गर्ने तयारीमा जुटेको समाजसेवी जसपाल सिंहले बताए। हिन्दुको गरिमालाई अझ उच्च मूल्यांकन होस् भनी छिमेकी मुलुकबाट आउने पाहुनालाई जनकपुरमा मात्र नभएर वीरगन्जमा पनि सम्मान गर्न लागिएको उनको भनाइ छ।

भारतको अयोध्याका पाहुनालाई वीरगन्जमा स्वागत र सम्मान तथा भोजन गराउने कुरा विश्व हिन्दु परिषद् नेपाललगायत संस्थाका अगुवाले आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गरी जनाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.