|

जुम्ला : जडिबुटी खोज्न जाँदा बेपत्ता भएका १३ जनाको खोजी गर्न गृह मन्त्रालयले हेलिकोप्टर पठाउने तयारी गरेको छ।

उनीहरुको खोजी र उद्दार गर्न सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर परिचालन गर्न लागिएको निमित्त प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठले जानकारी दिए। तर सुर्खेतको भिजिबिलिटी कम भएका कारण अहिलेसम्म हेलिकोप्टर उड्न सकेको छैन।

बाक्लो हुस्सु लागेका कारण अहिले सुर्खेतको वीरेन्द्रनगर क्षेत्र अँध्यारोजस्तै छ। आकाश खुल्नासाथ हेलिकोप्टर उडाइने र बेपत्ता नागरिकको खोजी गरिने निमित्त प्रजिअ श्रेष्ठले जानकारी दिए। 

ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर उद्दारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो। बेपत्ताहरुको उद्दारका लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय, जुम्लाले जानकारी दिएको छ।

हिमपातमा बेपत्ता भएकाको उद्धार गर्न कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पनि पहल थालेका छन्। जिल्ला समन्वय समितिका प्रमुख र प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले उद्धार गर्न सरकार समक्ष पहल गरिसकेका छन्। अहिले जुम्लामा नेपाली सेनाको उद्दार टोली तयारी अवस्थामा छ।

सम्कर्पविहहीन हुनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन्। सम्पर्कविहीन हुनेमा तिला-९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, नरबहादुर बाेहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.