|

काठमाडौं : आज सूर्यग्रहण लाग्दैछ। नेपाल एस्ट्रोनोमिकल सोसाईटी नासोकाअनुसार आज लाग्ने सुर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ। नेपालबाट वलय सुर्यग्रहण नदेखिने हुनाले यस प्रकारको ग्रहणको आकर्षणको रुपमा प्रचार गरिएको ’रिङ्ग ओफ फायर’ नेपालको कुनै पनि भूभागबाट यो पटक देखिनेछैन । नेपालको पूर्वी भागबाट सन् १९६५ नोवेम्बर २३ तारिख बिहान देखिएको ’रिङ्ग अफ फायर’ हेर्न नेपालले सन् २०६४ फेब्रुअरी १७ सम्म कुर्नुपर्ने छ।

इन्टरनेश्नल एस्ट्रोनोमिकल युनियन आईएयूका नेपाल प्रतिनीधि एव‌ं नेपाल एस्ट्रोनोमिकल सोसाईटी नासोका अध्यक्ष सुरेश भट्टराईकाअनुसार वैज्ञानिक मूल्य र मान्यता अनुसार सुरक्षीत तरिकाले सुर्यग्रहण हेर्दा कुनै किसिमको हानी नोक्शानी गर्दैन। भट्टराईले सूर्य ग्रहण हेरेर रोमाञ्चित परिदृश्य अवलोकनको आनन्द लिन आह्वान गरेका छन्।

उनले आँखालाई सुरक्षित राखेर विशेष खालको चस्मा, टेलिस्कोपबाट ग्रहण लागेको हेर्न सकिने बताए। उनका अनुसार पिनहोल पद्धती अर्थात सादा कागजको बिच भागमा प्वाल बनाएर सूर्यपट्टि फर्काई त्यसको सहायताले पनि ग्रहण लागेको हेर्न सकिन्छ।

सामान्यतयाः पृथ्वी र सूर्यकाबिचमा चन्द्रमा आउँदा सूर्य ग्रहण लाग्छ। खगोल वैज्ञानीकहरुले यसलाई कुनै दुर्लभ र चामत्कारिक घटना नभई प्रकृतीमा भईरहने सामान्य परिघटना भनेका हुन्। 

विज्ञानमा शुभअशुभ नहुने भन्दै नासोका अध्यक्ष भट्टराईले असुरक्षित तरिकाले हेर्दा आँखालाई असर गर्ने तर्फपनि सचेत गराए। विशेषगरी ग्रहणलगायतका खगोलीय घटनाहरु पृथ्वी र सूर्य वीच, पृथ्वी र चन्द्रमाबिचको दुरी मापन गर्न र समयको अझै परिस्कृत रूपमा मापन गर्नका लागि यो महत्वपूर्ण मानिन्छ । 

यसका तीन विन्दु महत्वपूर्ण मानिन्छ। पहिलो शुरु हुने समय, जुन बेला चन्द्रमाको आर्कले सूर्यको वृत्तलाई छुन्छ। दोस्रो मध्य ग्रहणको समय र तेस्रो छाड्ने समयलाई महत्वका साथ हेरिने भट्टराईको भनाइ छ। सूर्यग्रहण वा चन्द्रग्रहण लाग्दा मात्र विकिरणहरु आउने नभई सूर्यको साढे चार अर्ब वर्षको आयुमा अनवरत रुपमा विकिरणहरु आइरहेका भट्टराईको भनाइ छ। उनी भन्छन् ‘ग्रहण लागेको हेर्न नहुने र खाना खान नहुनेलगायतका कुराहरू खगोलशास्त्रले मान्दैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.