|
फाइल फोटो

काठमाडौं : नेपाल ट्रष्टले पोखराको हिमागृह र चितवनको दियालो बंगलालाई पनि रिसोर्ट चलाउन भाडामा दिने तयारी गरेको बारे शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गरायो।

गोकर्ण रिसोर्टको लिज सम्झौताबारे विवाद भइरहेको बेला ट्रष्टले भाडामा हिमागृह लगायतका ठाउँलाई पनि रिसोर्ट चलाउन भाडामा दिने निर्णय गरेको जानकारी दिएको हो। ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुरले दियालो बंगला, हिमागृह, फर्पिङसहितका  ठाउँमा रिसोर्टका लागि भाडामा दिन लागिएको जानकारी गराए  ।

कमलादीको २ रोपनी ४ आना, पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवास अगाडिको एक रोपनी ७ आना, लाजिम्पाटको ६ रोपनी जग्गा पनि लिजमा दिन लागिएको ट्रष्टले जनाएको छ।

पोखरेली भन्छन् : 'रिसोर्ट हैन संग्रहालय' 

पोखरामा रहेको हिमागृहलाई भाडामा दिन नेपाल ट्रष्टले तयारी थालिसकेको बताएको छ। पोखरेलीहरू पनि हिमागृह खुल्नुपर्नेमा सहमत छन्। हिमागृह र रत्नमन्दिर खुलेपछि पर्यटकहरूको बसाई लम्बिने उनीहरुको तर्क छ। पोखरेलीहरूले हिमागृहलाई रिसोर्टको रुपमा नभई संग्रहालय या पार्कको रूपमा खुलाउन माग गरेका छन्।  

अहिले पोखरामा जारी सडक महोत्सवमा पोखरा महानगरका प्रमुख मानबहादुरले जिसीले हिमागृहबारे स्थानीय सरकारको धारणा राखे। मेयर जिसीले भने, ‘यहाँ रिसोर्ट खोल्ने भनेको दिवा सपनाबाहेक केही हुँदैन। व्यावसायिक प्रयोजनको लागि दिदैनौँ।’ पर्यटन व्यवसायीहरू त्यहाँ कुनै पनि हालतमा रिसोर्ट खुल्न नदिने बताउँछन्।

‘पोखरा आउने पर्यटकलाई सधैँ ताल, हिमालबाहेक केही देखाउन सकिन्छ भने त्यो हिमागृह र रत्नमन्दिरमा देखाउन सकिन्छ,’ टानका पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले भने, ‘हिमागृह र रत्नमन्दिरलाई सरकारले संग्रहालय वा पार्कको रूपमा खुलाओस्। जसले गर्दा पोखरा आउने आन्तरिक र बाह्य पर्यटकको बसाइ पोखरामा लम्बियोस्। हिमागृहमा रिसोर्ट खुलाउन हामी कुनै हालतमा पनि दिदैनौँ।’

उनले त्यहाँ संग्रहालय वा पार्कको रूपमा खुला गरेर सरकारले प्रवेश टिकटको व्यवस्था गरेर राजस्व संकलन गर्न सक्ने  धारणा राखे। पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले सार्वजनिक सम्पत्तिबाट व्यक्ति धनी बनाउन नहुने तर्क राख्छन्।

‘सार्वजनिक सम्पत्ति देशको हितको लागि उपयोग गर्नुपर्छ हिमागृह, बसुन्धरा पार्क, रत्नमन्दिर, सरकारको निहित स्वार्थको लागि दिने तयारी पहिले पनि भएका हुन्,’ उनले भने, ‘अहिले पनि त्यही भएको हो। यो प्रवृत्ति निरुत्साहित गर्न पोखरेली लड्न तयार छ। त्यसको नेतृत्व पर्यटन परिषदको अध्यक्षको हैसियतले मैले गर्छु। व्यक्ति विशेषलाई धनी बनाउने काम हामी टुलुटुलु हेरेर बस्दैनौँ।’  

यस्तो छ हिमागृह  र रत्नमन्दिरको कथा  

अहिले स्वदेशी तथा विदेशी पर्यटकहरू जसरी पोखरालाई आफ्नो प्रमुख रोजाइको गन्तव्य बनाउँछन् त्यसरी नै राजाको पालामा राजाहरूले पनि पोखरालाई आफ्नो रोजाइको प्रमुख गन्तव्य मान्थे। अहिले नेपालमा राजसंस्था छैन। जति राजा भएर तीनका सन्तानहरू सबै पोखरा आएकै हुन्थे। पोखरा घुमेकै हुन्थे। फेवा किनारमा टहलिन्थे महेन्द्र तत्कालीन राजा महेन्द्रको स्वदेशमा सबैभन्दा मनपर्नै थलो थियो पोखरा। मनपर्ने भएर नै उनी पोखरा आइरहन्थे। 

‘राजा महेन्द्रलाई औधी मनपर्ने ठाउँ थियो पोखरा,’ इतिहासविद् दिनेशराज पन्त भन्छन्, ‘धेरैपटक नै पोखरा आउजाउ हुन थालेपछि उनले आफू र आफ्नो परिवार बस्न मिल्ने ठाउँको खोजी गरे। २०१५ सालतिर फेवातालको छेवैमा टाँसेर रत्नमन्दिर र आफूलाई बस्ने आवास पनि बनाउन लगाए।’

२०१५ सालमा महेन्द्रले बनाउन लगाएको मन्दिरमा अहिलेसम्म सर्वसाधारणको लागि खुल्ला गरिएको छैन। राजतन्त्र ढालेपछि नारायणहिटी दरबार सर्वसाधारणको लागि खुल्ला गरिए पनि पोखराको रत्नमन्दिर भने अझै खुल्ला हुन सकेको छैन।

तत्कालीन बेलैमा महेन्द्रको निर्देशनमा कटेज शैलीको बंगाल पोखरामा बनेको छ। त्यसलाई उनले आफ्नी कान्छी रानी रत्नको नाम राखिदिए। वीरेन्द्रको पनि रोजाइको थलो हो पोखरा महेन्द्रले आफ्नी रानीको नाममै मन्दिर र बंगालहरू स्थापना गरे। महेन्द्रपछि वीरेन्द्रको मनपर्ने र प्रिय ठाउँ थियो पोखरा र ‘रत्नमन्दिर’। 

त्यसपछि त पोखरा आउँदा राजपरिवारको बासै रत्नमन्दिरमा हुन थाल्यो। महेन्द्र, वीरेन्द्र हुँदै ज्ञानेन्द्र शाह राजा हुँदासमेत रत्नमन्दिर आउजाउ बढ्दो थियो।

दरबार हत्याकाण्ड हुँदा ज्ञानेन्द्र शाह रत्नमन्दिरमै थिए। ज्ञानेन्द्रले ०५८ जेठ १९ को रात रत्नमन्दिरमा बिताएका थिए। उनी पोखराको सुन्दरतामा रमाइरहेका थिए। अनि टुट्यो राजदरबार र रत्नमन्दिरको आउजाउ राजदरबार हत्याकाण्डपछि विस्तारै सेलाएको राजखानदानको पोखरा आउजाउ अहिले ठप्प जस्तै छ।

अझ फेवा किनारको रत्नमन्दिरमा राजाको आउजाउ त्यतिबेला टुट्यो, जतिबेला राजसंस्थाको जनतासँग सम्बन्ध टुट्यो।

ज्ञानेन्द्र नै ‘रत्नमन्दिर’ मा रमाउने अन्तिम राजा बने। २०६२/०६३ को जनआन्दोलनपछि त वीरेन्द्रको नाममा रहेको रत्नमन्दिर पनि सरकारले आफ्नो नाममा लियो। ०६४ साल असोज २१ गतेको मन्त्रिपरिषद्को निर्णयले रत्नमन्दिरलाई नेपाल ट्रष्टको नाममा ल्याउने निर्णय गरेको थियो।

हिमागृह र रत्नमन्दिर खोल्दा राजाहरू कसरी बस्थे यहाँ आउनेहरूले जानकारी पाउने पोखरेली पर्यटन व्यवासायीहरुको तर्क छ।   

राजसंस्थालाई घुँडा टेकाएर गणतन्त्र ल्याएका जनताले रत्नमन्दिर कस्तो छ? अझै हेर्न पाएका छैनन्। ‘रत्नमन्दिर’ को पूर्वमा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा बनेको हिमागृह पनि अझै जनताको पहुँचभन्दा बाहिर छ।  

संग्रहालय बनाएर खुलाइन्छ

आन्तरिक भ्रमण वर्ष मनाइरहेको गण्डकी सरकारका पर्यटनमन्त्री विकास लम्साल पनि रत्नमन्दिर सर्वसाधारणको लागि पनि खोल्ने तयारी भएको बताउँछन्।

‘रत्नमन्दिर सबैको लागि खुल्छ यसको लागि संघीय सरकारसँग समन्वय भइरहेको छ,’ मन्त्री लम्सालले भने, ‘राजसंस्था अन्त्य भइसक्यो। राजाको दरबार नै रहेको नारायणहीटी दरबार खुलिसक्यो भने यो त उनीहरू आउँदा बस्ने रमाउने ठाउँ हो। यसलाई खोलेर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिन्छ। त्यो छिटै हुन्छ।’ 

राजसंस्था अन्त्य भए पनि उनीहरूले पोखरा आउँदा खेल्ने मैदान, सुत्ने कोठा, प्रयोग गर्ने सामग्री हरेक कुरा ऐतिहासिक महत्व राख्ने तर्क पर्यटनमन्त्रीको छ। ११४ रोपनी क्षेत्रफलको मन्दिर पोखरामा रहेको रन्तमन्दिर ११४ रोपनी क्षेत्रफलमा फैलिएको छ। फेवातालसँगै जोडिएको सैनिक बस्ने ३८ कोठे लामो भवन छ।  मूल भवनमा ११ वटा कोठा छन् यिनै कोठामा राजाहरू आउँदा सुत्ने आराम गर्थे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.