तीन सय बढीको उद्धार दुईको मृत्यु

|

काठमाडौं : नुवाकोटका सुवास कार्की यतिखेर काठमाडौं महानगरपालिकाले सहयोगापेक्षीलाई राख्‍नका लागि बनाइएको उद्धारगृह भवनमा छन्। काठमाडौं महानगरपालिकाले सडकमा बास बस्नेहरूलाई उद्धार गर्ने क्रममा उनलाई १२ दिन अगाडि नगर प्रहरी,नेपाल प्रहरी र मानव आश्रमसेवा समितिका प्रतिनिधिले इन्द्रचोकबाट उद्धार गरी बाइसधारा लगेको हो।

'यो ठाउँमा आउँदा रातको १० बजेको थियो,'उनले भने,' सुरुको दिनमा कहाँ ल्याएको केही अत्तोपत्तो थिएन। चोर जस्तो समातेर लिएर आए।' कुनै समय उनले प्रहरीको लागि खान पकाउने काम गरेर १० वर्ष ऊर्जावान समय बिताएको बताए। अहिले भने काम गर्छु भन्दा मनखुसीले जान नपाइएको उनले गुनासो गरे।

सुवासले १४ वर्षअगाडि विवाह गरेका थिए। उनको श्रीमती थानकोटमा पसल गरेर बस्छिन्। दुई सन्तानको पिता हुन् सुवास। परिवारसँग राम्रो नभएको कारणले बाहिर-बाहिर बस्न बाध्य भएको उनले सुनाए।

उनी परिवारबाट अलग भएर काठमाडौंमा एक्लै बस्थे। कहिले काम गर्थे त कहिले पैसा भएको बेला मदिरा सेवन गरेर सडकमा सुत्ने गर्थे। उनले भने,'दुई महिना अगाडि मात्र सेक्युरिटी गार्डको काम छोडेको थिएँ।' उनी छैमले रिसोर्टमा सेक्युरिटी गार्ड गर्थे। यहाँबाट निस्केर गएपछि इलेक्ट्रिसियनको काम गर्ने उनी सुनाउँछन्।

काठमाडौंमा एकल पुरुषलाई कोठा पाउन मुस्किल छ,उनले भने,' आश्रमको सरहरूले काम खोजेर र कोठा मिलाइदिएपछि निस्केर जान्छु। जाडोमा कहाँ जानु आफ्नो मान्छे कोही छैन।'

पहिलो दिनको वातावरण अहिलेको जस्तो नभएको उनको अनुभवले बताउँछ। आश्रमको भवनको वरिपरि जंगल थियो। रूखका सानासाना विरुवा थिए। दैनिक दिनको दुई समय सफा गरेर रूखको झाडी फालेको उनले सुनाए। यो ठाउँमा फूलबारी बनाएर जाने चाहना छ उनले भने,' यसको रूप बदलिएको छ। यो ठाउँमा अब कोही आउँछ भने पनि फूलबारी देखेर भए पनि विरक्तिएको मन राम्रो होस भन्ने छ।'

खान पाए पनि मनमा सहज छैन

सडकमा सुतेर हिँड्ने मानिस एक्कासि यहाँ राख्दा त किन राखेको होला भनेर छटपटी भएको थियो। खाना समयमा दिएको छ, लगाउने लुगा दिएको छ तर,पनि यहाँबाट कहिले निस्केर जानु जस्तो भएको छ,' उनले भने। सडकमा रहेका सबै मानिसलाई संरक्षण गर्न चुनौतीपूर्ण काम रहेको उनले बताए।

'सडकमा बाध्य भएर आएको हुँ,रहरले होइन। सरकारले कोठा पाउने वातावरण बनाओस् सडकमा कहिले पनि सुत्दिनँ,'उनले भने। जनताको भावना पनि बुझ्न सक्नुपर्छ।' नागरिक भएर राज्यबाट सेवा सुविधाको उपभोग गर्न नसकिएको उनले गुनासो गरे।

 परिस्थितिले पुर्‍यायो सडकमा 

बौद्बबाट रातको समयमा उद्बार गरिएको जोया ठकुरी पनि त्यही भवनमा आश्रित छिन्। उनको काठमाडौं स्थायी घर हो। मदिरा सेवन गर्ने बानीले यस्तो भएको उनी सुनाउँछिन्।'समय र परिस्थितिले मानिसलाई घरबाट सडकमा पुर्‍यायो', उनले भनिन्,' प्रेममा असफल भएँ। चाहेको कुरा नपाउँदा मन कोहीबेला सम्हालिन नसकिँदो रहेछ।' नसाको अम्मलीले यस्तो भएको उनले  सुनाइन्।

स्क्रिनिङ भवनमा आएपछि मेरो खराब बानी छुटेको छ,'उनले भनिन,' पहिलो दिनमा त यहाँ बस्न गाह्रो भएको थियो। यहाँ धुम्रपान र मद्यपान बर्जित छ।' उनी यहाँ आउनुभन्दा अगाडि १८ महिना पुनस्थापना केन्द्रमा बसेकी थिइन्। पहिलेदेखि स्वतन्त्र हुन चाहेको उनले सुनाइन्। 'मानिस बढी स्वतन्त्र भयो भने पनि बिग्रने रहेछ,' उनले भनिन्। सडकमा रहनु र बाहिर हिँडनु जस्तोआनन्द अरूमा नहुने उनले सुनाइन्।

लागुपदार्थको दुर्व्यसनीमा लागेर सुधार केन्द्रमा बसेकालाई प्रेरणादायी तालिम दिने काम गर्ने उनले बताइन। स्क्रिनिङ भवनमा आएका महिलालाई उनी औषधि खुवाउने काम गरिरहेकी छिन्। केही स्याहार गर्दागर्दै पनि माया लागेर छोडेर जान नसकेको उनले बताइन्। 'म त जान मन लागे अहिले जान सक्छु,' उनले भनिन्।

स्क्रिनिङ भवनमा आएपछि यहाँ पारिवारिक वातावरण पाएको उनी सुनाउँछिन्। बिरामीहरूलाई प्राथमिक उपचार भइरहेको छ। यहाँ भएका अन्य मानिसहरूलाई अस्पतालमा लगेर उपचार गरिरहेका छन्।

तीन सय बढीको उद्धार

महानगरको यस अभियानअन्तर्गत मानवसेवा आश्रम समिति,नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाले ३ सय ७५ जनाको उद्बार गरिसकेको छ। उद्बार गरेमध्ये यहाँ ९७ जना मात्र छन्। २ जनाको मृत्यु भइसकेको छ। ७ जनालाई अन्य आश्रम स्थलमा स्थानान्तरण गरिसकेको बालाजु मानवसेवा आश्रम सेवा समितिले जनाएको छ।

त्यसैगरी, २ सय ६७ जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको मानवसेवा आश्रमसेवाको प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए। उनका अनुसार मंसिर २९ गतेदेखि सडकमा बसेकालाई उद्बार गर्न थालिएको हो।

'सडकबाट ल्याएर काउन्सिलिङ दिने काम गरिन्छ। के कारणले मानिस सडकमा आएको त्यो पता लगाएर परिवारको जिम्मा लगाउँछौँ। पहिलो प्राथमिकता परिवारसँग पुनर्मिलन गराउने हो। दुई दिनयता सडकमा रातको समयमा र माग्न बसेका मानिसलाई उद्बार गर्न सकेका छैनौँ' प्रवक्ता शर्माले बताए। दैनिक चार समय खाजा र खाना खुवाइरहेको उनले बताए।

नुवाकोट, दोलखा र धादिङका मानिस बढी रहेको उनको भनाइ छ। 'जाडोमा चिसोको सिमेन्ट आउँछ भनेर बाक्लो डसनामा सुताइरहेको छौँ,'उनले भने,' खाना पकाएर खान दिएदेखि नुहाउन नसक्नेलाई नुहाइदिएको छौँ।' मानसिक सन्तुलनका बिरामी पनि धेरै रहेको उनले बताए। केहीले औषधि सेवन गरिरहेका र  कसैले भने सामान्य दुखाइ कम गर्ने औषधि खाइरहेका उनको भनाइ छ।

 उद्धारगृहबाट भागेर पुन: सडकमा माग्‍न बसेका एक पुरुष

केही मान्छे उद्धार गृहबाट भागेर पुन सडकमै जाने गरेको पनि प्रवक्ता शर्माले सुनाए। उद्धार गरिएका मानिसहरू नभागून् भनेर नगर प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिइरहेको पनि उनले बताए। सुरुमा आएका केही मानिस भागेर गएको हुनाले सुरक्षाको व्‍यवस्था गरिएको शर्माको भनाइ छ। यहाँबाट गएका मानिसहरू सडकमा बसेर पुनः माग्‍न थालेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.