|

हेटौंडा : बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको छ। सोमबार प्रदेश लोकसेवा आयोगका दुई सदस्य नियुक्तिसँगै प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको हो।

बागमती प्रदेशमा लोक सेवा आयोगका अध्यक्षको नियुक्त गरिए पनि दुईजना सदस्यको भने नियुक्ति गर्न बाँकी रहेको थियो। प्रदेश लोक सेवा आयोगका सदस्यमा नेपाल सरकारका पूर्व सहसचिव सुदर्शन ढकाल र त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा अध्यापन गराउँदै आएकी शर्मिला न्यौपानेलाई आयोगको सदस्यमा सिफारिस गरिएको हो।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँको सिफारिसमा दुईजना सदस्य सिफारिस भएको हो। यस अघि नै आयोगको अध्यक्षमा सुरेशमान श्रेष्ठले काम गर्दै आएका छन्। 

दुवैजना सदस्यलाई आजै बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले शपथ खुवाएका छन्। आयोगको सम्पर्क मन्त्रालय मुख्यमन्त्रीको कार्यालय हुने प्रदेश लोक सेवा ऐनमा व्यवस्था रहेको छ।

आयोगले मुख्यमन्त्री कार्यालयसँगको समन्वयमा प्रदेश अन्तर्गतका कार्यालयहरूमार्फत कर्मचारीको माग संकलन गर्ने र सोही अनुसार उपलब्ध स्रोत र साधानका आधारमा कर्मचारी भर्ना प्रक्रिया गर्नुपर्ने ऐनमा उल्लेख गरिएको छ।

६ हजार कर्मचारी आवश्यक 

आयोगले पूर्णता पाएसँगै आवश्यक नियमावलीको मस्यौदा तयार गर्ने र पास गर्दै कार्यतालिका बनाएर अगाडि बढ्ने प्रदेश सरकारले तयारी गरेको छ। बागमती प्रदेशका प्रमुख सचिव तोयम रायका अनुसार बागमती प्रदेशअन्तर्गत करिब दुई हजार चार सय कर्मचारी रहेको र अझै करिब एक हजार ६ सय आवश्यकता रहेको र त्यो कर्मचारी आयोगमार्फत पूरा हुनेछ।

प्रमुख सचिव रायका अनुसार प्रदेशमा संघीय सरकारले तीन हजार तीन सय ४१ जना कर्मचारीको दरबन्दी तय गरे पनि प्रदेशका संरचनाहरू बढ्दै जाँदा कर्मचारीको आवश्यकता पनि थपिँदै गएको छ।

प्रदेशको लोक सेवा आयोगले कार्यतालिका बनाएर अगाडि बढेपछि लोकसेवा आयोगमार्फत कर्मचारी माग गरिने सरकारको तयारी रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.