|

रुकुम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-११ का तीनवटा विद्यालयमा ७/७ वटा झण्डा छन्। एउटा राष्ट्रिय झण्डा हो भने अन्य ६ वटा विभिन्न रंगका झण्डाहरू प्रांगणमा फरफराइरहेका छन्। यी झण्डाहरू विद्यालयको सूचक सजिलै जान्न यसरी सार्वजनिक रुपमा झण्डाहरू फहराइएको हो।

यी झण्डाहरूको अर्थ फरकफरक छ। यी झण्डाहरूले क्रमश: सफा शौचालय प्रयोग, व्‍यक्तिगत सरसफाइ, महिनावारी व्यवस्थापन, सन्तुलित खाना, सुरक्षित पिउने पानी र वातावरणीय सरसफाइको सूचक प्रतिशतका विषयमा संकेत गर्नेछ। शिव आधारभूत विद्यालय, जनकल्यान आधारभूत विद्यालय र जनज्योति आधारभूत विद्यालयमा रहेका ती झण्डाहरूमा हाल राष्ट्रिय झण्डा मात्र सबैभन्दा माथि छ भने अन्य झण्डाहरू सबै तल छन्।

रुकुम पश्चिमको एउटा वडामा रहेका ३ विद्यालयहरूमा मात्र नमुना परियोजनाको रुपमा पहिलो चरणमा यो परियोजना सञ्‍चालन छ। यस आर्थिक मसान्तसम्म संचालन हुने उक्त परियोजनामार्फत विद्यालयमा सुरक्षित खानेपानी तथा शौचालय निर्माण गरि विद्यालयको सरसफाईको अवस्थामा सुधार गर्ने मुख्य लक्ष्‍य रहेको कार्यक्रम अधिकृत गणेशकुमार खड्काले बताए।

त्यस्तै महिनावारी भएका बेला छात्रा विद्यार्थीले कक्षा छाड्दा त्यसवाट दैनिक पठनपाठनमा हुने असरलाई निराकरण गर्ने, खानेपानी तथा विद्यालयको सरसफाइको अवस्थामा विद्यार्थी तथा शिक्षकहरूलाई सक्रिय बनाई स्वतस्फूर्त काम गर्ने बानीको विकास गर्ने र छात्रा तथा महिला शिक्षकले महिनावारी भएका वेला विद्यालय छाड्ने अवस्थाबाट मुक्त गरिने लक्ष्य रहेको छ।

जसका लागि सरसफाईका ६ सूचकलाई उप सुचकका आधारमा अवस्था विष्लेषण गरी आएको नतिजालाई नामअनुसार झण्डाको रङका आधारमा संकेत झण्डाद्वारा विद्यालयमा प्रस्तुत गरिरहेको छ। ‘विद्यालयमा सरसफाइ, शौचालय, महिनावारी व्यवस्थापन वा वातावरणीय सरसफाइको अवस्थाबारे बुझ्न धेरै सोधखोज गर्नु पर्दैन’ कार्यक्रम अधिकृत खड्काले भने, ‘विद्यालयबाहिर रहेका झण्डाहरूले त्यस सूचकको अवस्था कस्तो छ भनेर जो कसैले पनि देखेर बुझ्न सक्छ।’ 

हाल विद्यालयको सूचकको अवस्था हेर्दा निकै कमजोर अवस्थामा छ। ६ वटा सूचकलाई १ सय नम्बरमा मूल्यांकन गर्दा प्राय सबै सूचकहरूको अवस्था ३६ नम्बर भन्दा कुनै माथि छैन। जसका कारण राष्ट्रिय झण्डाबाहेक अन्य झण्डाहरू अधिकांस तल नै रहेका छन्। 

सूचकको स्कोर माथि लिन सचेतनामूलक शिक्षा, तालिम तथा शौचालय निर्माण जस्ता भौतिक पूर्वाधारको क्षेत्रमा पनि काम भइरहेको छ। जनज्योति आधारभूत विद्यालय काँडा र जनकल्यान आधारभूत विद्यालय वाघखोरमा विद्यार्थीको अवस्थाअनुसार २/२ कोठे  छात्र र छात्राहरूलाई छुट्टछुट्टै  शौचालयको निमार्ण गरिदै छ। त्यस्तै शिव आधारभूत विद्यालयमा ४ कोठे शौचालय निर्माण काम पनि जारी रहेको अधिकृत खड्कको भनाई छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.