|

रुकुम : आफूले सरकारी जागिर पाए रोजगार र नत्र बेरोजगारको अर्थ लगाउने जमात धेरै छ। जागिरविना पनि आफ्नो व्‍यापार व्यवसाय र कृषि कर्ममार्फत स्वरोजगार हुने सकिने सम्‍भावना धेरै छन्।

देशमा काम गर्ने सम्‍भावना छैन भन्दै विदेशिने धेरैको जमातमा केही यस्ता पनि व्‍यक्ति छन् जसले अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउँछु र स्वरोजगार बन्छु भन्ने पनि। रुकुम पश्चिम मुसिकोटका पनि केही व्‍यक्तिहहरूको पहलमा नमुना कुखुरापालन फार्म संचालन गरेर कृषि क्षेत्रमा यस्तै प्रेरणा थपिएको छ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-४ मा व्यावसायिक रुपमा कुखुरापालन थालिएको छ। मुसिकोट एग्रो फार्ममार्फत संचालन गरिएको व्यावसायिक कुखुरापालनमार्फत जिल्लाका लागि आवश्यक अण्डा र मासु उत्पादन गर्ने लक्ष्य राखिएको छ।

हाल जिल्लाका लागि आवश्यक अधिकांश कुखुराको मासु जिल्लामै नै उत्पादन हुने गरे पनि अण्डा भने जिल्लाबाहिरबाट आयात हुँदै आएको छ। अण्डामा पनि जिल्ला आत्मनिर्भर बनाउन व्यावसायिक कुखुरापालन गरिएको बताइएको छ। हाल ५ हजार कुखुरा मार्फत अण्डा उत्पादन भइरहेको संचालक दीपकराज खड्काले बताए।

‘अण्डा तथा मासुमा बाहिरी जिल्लाका ठूला व्यवसायीहरुसँग प्रतिष्प्रधा गर्न केहि समस्या छ’ उनले भने, ‘ समस्या भए पनि बेरोजगारको नारा लगाउनेहरूका धेरै युवाहरुलाई स्वरोजगारमूलक कार्यमा प्रेरणा दिन आफूहरु व्यावसायिक रुपमा कुखुरापाललमा लागेका हौं।’

एग्रोफार्म ५ जना ब्यक्तिहहरुको सहकार्यमा संचालित छ भने केहीलाई रोजगारीसमेत प्रदान गरेको छ। व्यवसाय गरेर स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण दिन पनि आफूहरूले जिल्लामै नमुना कुखुरा फाम सञ्‍चालन गरेको संचालकहरुको भनाई छ।

कुखुरा फार्ममा हालसम्म ८२ लाख बढी रकम लगानी गरिसकिएको छ। जसमा पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिममार्फत १२ लाख ७९ हजार रुपैयाँ अनुदान सहयोग प्राप्त भएको छ भने अन्य संचालकहरुको व्‍यक्तिगत लगानी रहेको छ।

व्यावसायिक रुपमा पशुपंक्षीपालन गर्ने ब्यक्ति तथा समुहहरुलाई कार्यालयमार्फत अनुदान प्रदान भएको र अनुदान प्राप्त गरेका फार्महरु नमुना व्यवसायका रुपमा अघि बढिरहेको कार्यालयको भनाई छ।

पुश अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका अधिकृत शेरबहादुर खड्काका अनुसार कार्यालयमार्फत यस वर्ष भैँसीपालन र गाईपालनलाई प्रोत्सहान र अनुदानको कार्यक्रम संचालन गरेर दूध उत्पादन, बिक्री वितरणका लागि पनि सहयोग गरिरहेको छ। ‘देशमा केहि गर्छु भन्ने ब्यक्तिहरुको योजना र ईच्छाशक्ति भएमा सरकारी अनुदान पक्कै पनि सदुपयोग हुन्छ’ उनले भने, ‘यसले पक्कै पनि व्यवसायिक कृषि र स्वरोजगार अभियानमा सहयोग पुग्छ।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.